तिहारपछि अब छठ पर्वको तयारी


प्रकाशित मिति : कार्तिक १८, २०७३ बिहीबार

दसैँ, र तिहार सकिएलगतै सर्वसाधारण छठ पर्वको तयारीमा जुटेका छन् । छठ पर्वको गीतधुनसँगै अब सर्वसाधारण यो पर्वको तयारीमा जुटेका हुन् । सूर्य पूजाको पर्व छठको उल्लासमा डुबेका सर्वसाधारण पूजाका लागि आवश्यक सामग्री खरिद गर्न तथा जलाशय र पूजास्थलको सरसफाइ एवम् सजावटमा जुटेका छन् ।

जिल्लाको भगवती पोखरी, कल्टुदासपोखरी, तुरन्ती पोखरी, पुर्णी पोखरी, झल्ही पोखरी, बिहारपुर पोखरी, सिस्वाबेल्ही पोखरी, खैरसाल पोखरी, कोशी ब्यारेज, लगायतका जलाशयमा छठ मनाउन विशेष तयारी सुरु गरिएको छ ।

पुजास्थल सुरक्षित गराउनुका साथै घाट झकिझकाउ पार्ने काम युद्धस्तरमा सुरु भएको छ । तिहार सकिए लगत्तै छठ पर्वमा गाइने गीत तथा धुन सर्वत्र बज्न थालेका छन् । नगर सहित ग्रामीण भेगका प्रत्येक पसल एवम् निजी घरमा यस्ता गीत बज्ने गरेका छन् ।

स्थानीय एफएमसमेतले छठ पर्वका विशेष गीत बढी समय बजाउन थालेको छिन्नमस्ता एफएमका सञ्चालक शिवप्रताप साहले बताए । तिहारसँगै गुञ्जिन थालेको छठ गीत अहिले घरघरमा मात्र होइन, सार्वजनिक ठाउँमा लाउडस्पिकर राखेरै बजाउन थालिएको छ । यतिबेला सप्तरीको राजविराज सहित ग्रामीण बजारमा लोकभाका समेटिएका एल्बम, सीडी र भीसीडीको चाङ लागेको छ ।

मैथली तथा भोजपुरी भाकामा छठ सङ्गीत गुञ्जिने गरेको छ । छठ लोकभाकाको लोकप्रियताकै कारण यहाँ सञ्चालित सातवटै स्थानीय एफएम रेडियोले पनि यतिबेला छठ लोकभाकालाई विशेष स्थान दिने गरेको छिन्नमस्ता एफएमका सञ्चालक साहले जानकारी दिए ।

छठ लोकभाकाको बढ्दो लोकप्रियताले पान पसलदेखि ठूलाठूला किराना पसल, मिठाई पसल, कपडा पसल र डिपार्टमेन्टल स्टोरमा समेत छठ लोकभाकाकै गीत गुञ्जिने गरेको छ । सीडी बिक्रेता राजकुमार मेहता जिल्लामा झन्डै पाँच लाख रुपियाँभन्दा बढीको छठ लोकभाका समेटिएका एल्बम, सीडी र डीभीडी सीडीको बिक्री भएको अनुमान गर्छन् ।

एक महिनाअघि देखि नै साढे दुई लाख रुपियाँको छठ लोकभाका समेटिएका एल्बम, सीडी र डीभीडी सीडी तयार गरेर राखेको बताउनुहुँदै अहिलेसम्ममा आफ्नोमात्र आधी जति बिक्री भइसकेको बताउनुभयो । यस पर्वमा श्रद्धालुहरू सूर्य देवतासँग प्रार्थना गर्नुको साथै आफ्नो दुःखकष्ट र रोग व्याधीको नाश होस भन्ने कामनाका लागि मनाइने यो पर्व विगतका वर्षदेखि महँगो र भड्किलो हुँदैगएको गोरखापत्रमा खबर छ ।

पूजा सामग्री, ढाकी, डाला, माटाका हात्ती, केराको घरी, नैवेद्यका रूपमा भाती–भातीका परिकार तथा फलफूल समावेश गरिने यो पर्व तराईवासी मात्र होइन पहाडी तथा मुस्लिम समुदायका व्यक्तिद्वारा पनि श्रद्धापूर्वक मनाइन्छ । सक्नेले व्रत बस्ने, नसक्नेले फलफूल व्रतालुलाई दिएर सूर्यको आराधना गर्ने गरिन्छ ।

तराईका सप्तरी, सिरहा, धनुषा, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा जिल्लामा धुमधामका साथ मनाइने छठ पर्व नजिकिँदै जाँदा छठ पर्वमा चढाइने सामग्रीको मूल्य आकासिएको छ । छठ पर्वका लागि चढाउने केरा, नरिवल, उखु, ट्याब नेमो लगायतका सामग्रीको मूल्य गत वर्षको भन्दा यस वर्ष बढेको छ । सप्तरीमा दुई हजार रुपियाँ सम्ममा केरा घौर(घरी) बिक्री हुने गरेको व्यापारी बताउँछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com