२६ माइक्रोबस निलम्बन हुँदा यात्रु मर्कामा


प्रकाशित मिति : बैशाख २९, २०७५ शनिबार

काठमाडौँ । गङ्गबुँ–सामाखुशी हुँदै रत्नपार्क चल्ने २६ माइक्रोबसलाई यातायात व्यवस्था विभागले निलम्बन गरेपछि यात्रु मर्कामा परेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैशाख २१ गते आह्वान गरेको बन्दमा बस सञ्चालन नगरेको भन्दै विभागले गङ्गबुँ भएर रत्नपार्क चल्ने माइक्रोबसलाई निलम्बन गरेको थियो । बानियाँटारबाट सामाखुशी जान लाग्नुभएकी सत्यकला दवाडी सवारी नपाएपछि हिँडेर जानुभयो । “माइक्रोबस कम भएपछि खुट्टा हाल्ने ठाउँसमेत नभएपछि म हिँडेर आएको हुँ,”, उहाँले भन्नुभयो ।

यसैगरी सामाखुशीबाट रत्नपार्क जान लाग्नुभएका रोहित ढकाल सवारी नपाएपछि तनावमा देखिनुहुन्थ्यो । “बस चढ्नका लागि ठाउँ नै छैन कसरी जाने”, उहाँ प्रश्न गर्नुहुन्छ । यी केवल प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँहरुजस्ता हजारौँ नागरिक बस नपाएर बिचल्लीमा पर्नुभएको छ । गँगबुँ, गल्कोपाखा, लैनचौर भएर रत्नापार्क चल्ने १०५ बसमध्ये दुई दर्जनभन्दा बढी बस निलम्बनमा परेका हुन् ।
सामाखुशी यातायात व्यवसायी संघका सचिव लालप्रसाद गुरागार्इँ २६ बस निलम्बन गरिएपछि यात्रुलाई समस्या परेको बताउनुहुन्छ । “नेपालभरीका सवारी नचलेको अवस्थामा सामाखुशीका २६ बसलाई मात्र किन निलम्बन गरियो ?”, उहाँले प्रश्न गर्नुभयो ।

निलम्बन गरिएको आधिकारिक पत्र आफूलाई प्राप्त नभएको बताउँदै उहाँ ती सवारी सञ्चालन गर्दा केही सवारीलाई ट्राफिक प्रहरीले समाएको र केही सवारी आफ्नो ग्यारेजमा थन्काउन परेको गुनासो गर्नुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी तुलसीराम अर्यालले निलम्बन फुकुवाका लागि सामाखुशी यातायातले विभागमा निवेदन दिएको बताउँदै उक्त कारवाहीबारे कुनै निर्णय नभइसकिएको जानकारी दिनुहुन्छ । निलम्बन फुुकुवाका लागि विभागमा छलफल भइरहेको उहाँको भनाइ छ ।

सामाखुशी यातायातले यात्रुको चाहना र आवश्यकतालाई हेरेर दिगो सार्वजनिक यातायात प्रालिमार्फत जेठ महिनाभित्र थप १७ ठूला बससमेत सञ्चालन गर्न लागेको छ । प्रालिले सिनामंगल सफा परिवहन समिति र सामाखुशी यातायात व्यवसायी समितिको संयुक्त लगानीमा नयाँ बसपार्क, गँगबुँ, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्म १७ नयाँ बस सञ्चालन गर्न लागेको छ ।

सामाखुशी यातायात व्यवसायी संघका अध्यक्ष सानुकाजी प्रजापति रु सात करोडको लगानीमा ५० सिट क्षमता भएका १७ ठूला बस सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । “सामाखुशी भएर चल्ने माइक्रोलाई अन्य स्थानमा स्थानान्तरण गरी सोही रुट हुँदै सिनामंगलसम्म नयाँ बस सञ्चालन गर्न लागेका हौँ”, उहाँले भन्नुभयो ।

सोही मार्गमा नयाँ बस सञ्चालनका लागि एशियाली विकास बैंकले रु एक करोड ९० लाख अनुदान दिएको छ । बस जेठभित्र नेपाल आउने र सञ्चालन भइसक्ने उहाँको भनाइ थियो ।

सोही मार्गमा ठूला बस सञ्चालन भएसँगै गँगबुँबाट रत्नपार्क भएर चल्ने २६ माइक्रोबस र सिनामंगल रत्नपार्क भएर चल्ने ३५ टेम्पो स्थानान्तरण हुनेछन् । सरकारले पछिल्लो समय काठमाडौँ उपत्यकामा सवारी साधन चलाउनका लागि प्राइमरी, सेकेण्डरी र टर्सरी मार्ग निर्धारण गरेको छ जसमा प्राइमरी र सेकेण्डरी मार्गमा ठूला तथा टर्सरी मार्गमा साना सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com