सिन्डिकेट त हट्यो, तर यात्रुले सुविधा कहिले पाउने ?


प्रकाशित मिति : बैशाख २६, २०७५ बुधबार

यातायात क्षेत्रको सिन्डिकेट हटाएर जनभावना अनुसारको पहिलो राम्रो काम गरेको सरकारसित नागरिकले सोध्न थालेका छन् – सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु र चालक दलले ऐन अनुसारको सुविधा कहिलेदेखि पाउने ?

ऐन एकातिर, काम अर्कातिर
यातायात क्षेत्रको सिन्डिकेट अहिले हैन, २०४९ सालमै हटिसक्नुपर्ने थियो । यातायात व्यवस्था ऐन २०४९ ले बन्द गरेको सिन्डिकेटलाई त्यसको एक वर्षपछि सरकार आफैले खुला गरेपछि यातायात व्यवसायीले एकाधिकार जमाउँदै आएका थिए ।

यातायात व्यवस्था ऐनमा सार्वजनिक गाडीको अवस्था, चालक सहचालकको योग्यता तथा यात्रुको सुविधा लगायत धेरै विषय स्पष्ट लेखिएको छ । ऐन अनुसार १८ वर्ष उमेर नपुगेकोलाई सहचालकको रुपमा राख्नुहुन्न ।

तोकिएको भन्दा बढी भाडा लिन पाईंदैन । सवारी धनीले आफ्नो सवारीमा यात्रा गर्ने सबै यात्री, चालक, परिचालक, सुरक्षाकर्मी तथा सो सवारीमा काम गर्ने अन्य कर्मचारी समेतको नाम, उमेर र ठेगाना स्पष्ट खुलाई यात्री–सूची तयार गर्नु पर्छ । त्यसरी तयार गरिएको यात्री सूचीको एकप्रति आफूसँग राखी अर्काे प्रति अधिकार प्राप्त अधिकारी वा निजले तोकेको व्यक्ति समक्ष सो सवारी गन्तव्य स्थानतर्फ प्रस्थान गर्नु अगावै पेश गर्नु पर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नियम अनुसार सार्वजनिक यातायात सेवाका धनी वा व्यवस्थापकले मालसामान वा यात्रीको जिम्मा लिएपछि यात्राको शुरूदेखि गन्तव्य स्थानसम्म निर्धारित समयभित्र सुरक्षासाथ पुर्‍याउनु निजको कर्तव्य हुनेछ । तर यात्रीलाई असुविधा हुने गरी गन्तव्य स्थानमा पुग्ने समय निर्धारण गर्न हुँदैन ।

कुनै सार्वजनिक सवारी विग्रेमा वा कुनै विपद परी सवारी अघि बढाउन नसकिने भएमा पनि यात्रीको सुविधालाई ध्यान पुर्या‍उनु र सवारीमा रहेको मालसामानको सुरक्षा गर्नु चालक, सहचालकको अनिवार्य दायित्व हुनेछ ।

सार्वजनिक गाडीमा सीट संख्या भन्दा बढी यात्रु राखेर चलाउन हुँदैन । चार घण्टा भन्दा बढीको दूरीमा चल्ने सार्वजनिक गाडीले हरेक चार घण्टामा एकपटक आधाघण्टा विश्राम गर्नु पर्छ । लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रीबाहक सार्वजनिक सवारीमा कम्तिमा दुईजना चालक अनिवार्य रूपमा राखी प्रत्येक ६ घण्टापछि पालै पालोसँग गाडी चलाउनुपर्छ ।

ऐनमा स्पष्ट लेखिएको छ – स्थानीय बाटोमा चल्ने यात्रीबाहक सार्वजनिक ठूला बसमा चारवटा सीट अशक्त व्यक्तिका लागि र दुईवटा सीट महिलाहरूका लागि सुरक्षित राख्नुपर्छ । ऐनमा गाडी धनी र चालक सहचालकले पालना गर्नुपर्ने धेरै कुरा लेखिएका छन् । सबै थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

सिण्डिकेटको नियत र नियति
सरकारलाई घुँडा टेकाउँछु भनेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायी आफैं फत्याकफुतुक गलेका छन् । आइन्दा हडताल गर्दैनौं, सरकारले जे भन्यो त्यही मान्छौं, नियमको पालना गर्छौंं भन्दै सहमति गर्न बाध्य भएका छन् ।

यसअघि सिन्डिकेट हटाउने सरकारको निर्णयको बिरोध गर्दै यातायात व्यवसायीले आन्दोलन थालेका थिए । उनीहरुले शुक्रबार आफ्ना गाडी ग्यारेजमा थन्काए । सिन्डिकेटको पक्षमा रहेकालाई सबै व्यवसायीले साथ दिएनन् । स्वच्छ प्रतिष्पर्धामा रहेर सेवा दिइरहेका साझा, महानगर, मयूरलगायतका यातायात कम्पनीले आफ्नो सेवालाई निरन्तरता दिए ।

धेरै गाडी नचलेका कारण सडकमा अलपत्र परेका यात्रुलाई निजी गाडीले लिफ्ट दिए । भारतले नाकाबन्दी लगाएको बेलामा जस्तै यात्रुलाई साथ र सहयोग गर्नेहरुको जमात थपिंदै गयो । सिन्डिकेट हटाउने सरकारको कदममा आम नागरिकको समर्थन मिल्यो । सिन्डिकेटको पक्षमा नरहेका व्यवसायी र नागरिकको साथले सरकारको मनोबल बढ्यो ।

नागरिकलाई सास्ती दिएर सरकारलाई दबाव दिई आफ्ना मागमा झुकाउने यातायात व्यवसायीको रणनीति असफल भयो । बन्द गरेर सरकारलाई घुँडा टेकाउने दाउमा रहेका व्यवसायी आफैंले घुँडा टेके । सरकार बलियो हुँदाको परिणाम हो, यो । त्यसमाथि जनहितमा काम गर्दा सरकारलाई आमनागरिकले साथ दिन्छन् भन्ने सन्देश पनि हो ।

यातायात क्षेत्रको सिन्डिकेट जरैदेखि उखेल्ने कदममा सरकार मात्र एक्लो छैन । स्वच्छ प्रतिष्पर्धा मार्फत यात्रुलाई सुविधा दिंदै बस सञ्चालन गर्ने व्यवसायी पनि सरकारको साथमा छन् । सिन्डिकेटधारी व्यवसायीको मनपरीबाट आजित भएका यात्रु त यसैपनि सिन्डिकेटको विपक्षमा छन् ।

पहिले पहिले मन्त्रीले निर्णय गर्दा पनि कर्मचारीले सहयोग नगर्दा काम हुँदैनथियो । अनि कर्मचारीले नियम पालना गराउन खोज्दा पनि मन्त्रीले साथ नदिंदा आँट पुग्दैनथियो । अहिले मन्त्री र कर्मचारीबीच समन्वय छ । मन्त्री मन्त्रीबीच पनि आपसमा सहयोग जुटेको छ । यातायात मन्त्रीलाई गृहमन्त्रीले पुरै साथ दिएका छन् ।
राजनीतिक अस्थिरताको फाइदा उठाउँदै सार्वजनिक यातायात क्षेत्रमा लादिएको एकाधिकार र दादागिरी अन्त्य गर्न सरकार कठोर भएर लाग्यो । चैत १८ गते यातायात व्यवस्था विभागले यातायात व्यवस्थासम्बन्धी कार्यविधि निर्देशिका संशोधन गर्यो र रुट इजाजत खुला गर्यो ।

यो व्यवस्थाबाट देशभरका कुनै पनि राजमार्गमा यातायात गुडाउन चाहने कम्पनीले रुट इजाजत लिने बाटो खुल्यो । वैशाख ४ गते मन्त्रिपरिषदको निर्णयबाट जिल्ला प्रशासन कार्यलयमा दर्ता भएका समिति र संघ नवीकरण नहुने भए । यसकै बिरोधमा व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए ।

आफूहरुको एकाधिकार कायमै राख्ने उनीहरुको रणनीति थियो । नयाँ अभ्यास र स्वच्छ प्रतिष्पर्धा गर्न चाहँदैनथिए । गैरनाफामुलक संस्थाका रुपमा संघ, संस्था ऐन बमोजिम जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर नाफा कमाउने काम गर्ने, तर राज्यलाई कर नतिरेर आफ्नो एकाधिकार कायमै राख्ने दाउ थियो । तर यी सबै रणनीति र दाउ फेल खाएपछि स्वच्छ प्रतिस्पर्धा र कम्पनीमा दर्ता हुन उनीहरु राजी भएका हुन् ।

सुविधा कहिले ?
यातायात क्षेत्रको सिन्डिकेट त तत्कालका लागि हट्यो, तर यो प्रवृति कुनै न कुनै रुपमा फेरि मौलाउन सक्छ । गाडी दुर्घटना भए पीडितलाई क्षतिपूर्ति दिन सक्दैनौ भनेर समितिका पदाधिकारीले प्रयोग गरेको धम्कीपूर्ण भाषाले उनीहरुको नियत स्पष्ट पारेको छ । तर जे जे बोले पनि यातायात व्यवसायीका सामु अब दुईटा मात्र विकल्प छन् । एउटा सरकारले तोकेको दायरामा बसेर व्यवसाय गर्ने ।

अर्को याे दायरामा बस्न नसक्ने भए व्यावसाय बन्द गर्ने वा व्यावसाय परिवर्तन गर्ने । त्यसैले अब यो वा त्यो शर्त राखेर व्यवसाय गर्छु भनेर अप्रत्यक्ष रुपमा सिन्डिकेट कायम राख्ने नियत कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।

बरु अब सरकारले यात्रुको सुविधा र सुरक्षामा केन्द्रित नीति, नियम पालना गराउन अघि सर्नुपर्छ र व्यवसायीबीच सेवा र सुविधामा प्रतिस्पध्र्दा शुरु गराउनअघि सर्नुपर्छ ।

अहिले कम्पनी मार्फत चलेका केही बसले मात्र यात्रुको सुविधालाई ध्यान दिएका छन् । लामो तथा छोटो दुरीमा चल्ने धेरै गाडीले यात्रुको सुविधालाई भन्दा आफ्नो फाइदालाई मात्र हेर्ने गरेका छन् । कष्टपूर्ण र असुरक्षित यात्रा गर्न यात्रु बाध्य छन् ।

थोत्रा र पुराना गाडीले क्षमताभन्दा बढी यात्रु ओसार्ने गरेका छन् । यात्रुसँग नरम व्यवहार गर्ने चालक, सहचालक कम मात्रै छन् । धेरै गाडीले तोकिएकोभन्दा बढी भाडा लिन्छन् । योग्यता नपुगेका चालक र सहचालक गाडीमा काम गर्छन् ।

यी सबै समस्या, असुविधा र असुरक्षा हटाउनेतर्फ कदम नचालेसम्म सिन्डिकेट हटेर मात्र केही हुन्न । सिन्डिकेट हटेपछि नियम कानुन अनुसारको सुविधा कहिले मिल्छ भन्ने आम यात्रुको प्रश्न हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com