एसियामा अमेरिकै प्रभावशाली चीन दोस्रोमा, नेपाल पच्चिसौँ


प्रकाशित मिति : बैशाख २५, २०७५ मंगलबार

एसियामा लगातार चीनको प्रभाव विस्तार भइरहे पनि हालसम्म यो क्षेत्रमा अमेरिका नै सबैभन्दा बढी शक्तिशाली राष्ट्र रहेको एक अष्ट्रेलियाली थिंक ट्यांकले निष्कर्ष निकालेको छ।

सिड्नीस्थित लोवी इन्स्टिच्युटले मंगलबार ‘एसियन पावर इन्डेक्स’ सार्वजनिक गरेको हो। जसमा एसिया–प्यासिफिक क्षेत्रका २५ देशलाई उनीहरुको प्रभावका आधारमा सूचीकृत गरिएको छ।

हरेक देशलाई तिनको रक्षात्मक सञ्जाल, सैन्य क्षमता, सांस्कृतिक प्रभाव, कूटनीतिक प्रभाव, आर्थिक स्रोत, आर्थिक सम्बन्ध, कठिनाइबाट मुक्त हुने क्षमता र भविष्यको रुझानका आधारमा श्रेणीबद्ध गरिएको छ।

सो सूचीमा अमेरिका पहिलो, चीन दोस्रो, जापान तेस्रो र भारत चौथो स्थानमा छन्। यद्यपि आगामी दिनमा चीनले पहिलो स्थान हासिल गर्नसक्ने सो परियोजनाका निर्देशक हर्व लेमाह्युले बताएका छन्। उनका अनुसार पछिल्लो समय चीनको प्रभाव विस्तार भइरहे पनि ‘सफ्ट पावर’ का रुपमा चिनिने सांस्कृतिक प्रभावमा भने अमेरिका अगाडि रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सैन्य गठबन्धनमा पनि अमेरिका अगाडि छ। उसले अष्ट्रेलिया, जापान र दक्षिण कोरियासँग निकट सैन्य सम्बन्ध कायम राखेको छ। चीनको भने उत्तर कोरियासँग मात्रै भरपर्दो सम्बन्ध देखिन्छ।

यद्यपि भविष्यको रुझान भने चीनको पक्षमा छ। पछिल्लो समय उसका आर्थिक सम्बन्धहरु लागातार विस्तार भइरहेका छन्। चीनले पूर्वाधार निर्माणमा अनेकौँ देशमा अर्बौँ डलर लगानी खन्याएको छ। उसले कूटनीतिमा पनि आक्रामक नीति अँगालेको देखिन्छ।

चीनपछि तेस्रो स्थानका लागि जापान र भारतबीच प्रतिस्पर्धा देखिन्छ। यद्यपि दुवै देश अंकका हिसाबले दोस्रो स्थानमा रहेको चीनसँग भन्दा पाँचौँ स्थानमा रहेको रुससँग निकट छन्।

त्यस्तै एसियामा रुसको समेत ठूलो प्रभाव छ। रुसको भारत, चीन र भियतनामजस्ता देशसँग सैन्य सम्बन्ध रहेको छ।

सूचीको आठौँ स्थानमा रहेको सिंगापुरका एसियामा प्रभाव बिस्तार भइरहेको देखिन्छ। उसले मलेसिया, न्युजिल्याण्ड, इन्डोनेसिया, पाकिस्तानजस्ता देशलाई पछि पारेको छ। एसियाको व्यापारिक केन्द्रको रुपमा परिचित हुँदै गएको सिंगापुरको छिमेकीहरुसँग निकट सैन्य सम्बन्ध, उच्च कोटिको सैन्य सामग्री र पर्याप्त विदेशी लगानी छ।

पछिल्लो समय आणविक सामर्थ्य हासिल गरेपछि कूटनीतिमार्फत् पनि विश्वको ध्यान आफूतिर आकर्षित गरिरहेको उत्तर कोरिया भने आश्चर्यजनक रुपमा सत्रौँ स्थानमा छ।

नेपालको भविष्य राम्रो
सूचीकृत २५ देशमध्ये सबैभन्दा पुछारको स्थान नेपालले ओगटेको छ। समग्र १०० पूर्णांकमध्ये नेपालले ३.१ अंक हासिल गरेको छ।

सैन्य क्षमता, कूटनीतिक प्रभाव र कठिनाइबाट मुक्त हुने क्षमतामा नेपाल २५ औँ स्थानमा छ। यद्यपि आर्थिक सम्बन्धमा नेपाल २४ औँ, रक्षात्मक सञ्जालमा २२ औँ र सांस्कृतिक प्रभावमा २३ औँ स्थानमा छ। नेपालले सबैभन्दा बढी अंक भविष्यको रुझानमा हासिल गरेको छ। यसमा नेपाल १९ औँ स्थानमा छ।

समग्र प्रभावका हिसाबले नेपालभन्दा अघि लाओस, मंगोलिया र कम्बोडिया छन्

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com