साउदीमा नेपाली युवालाई मृत्युदण्डको फैसला


प्रकाशित मिति : बैशाख १३, २०७५ बिहीबार

साउदी अरबको दमामस्थित पुनरावेदन अदालतले पाकिस्तानी नागरिक मोहम्मद लतिफ बसिरको हत्या अभियोगमा झिटैया, धनुषाका उमेश यादवलाई मृत्युदण्ड दिने फैसला गरेको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

उनलाई जुवेलस्थित केन्द्रीय कारागारमा राखिएको छ । त्यस जेलमा उमेशसहित २२ नेपाली छन्। जुबेलस्थित ‘जनरल कोर्ट’ ले सुनाएको फैसलालाई उल्टाउँदै पुनरावेदन अदालतले वैशाख २ गते (अप्रिल १५) मृत्युदण्डको फैसला सुनाएको हो। यसअघि जनरल कोर्टले १५ मार्च २०१७ मा यादवलाई ११ वर्ष कैद, ११ सय कोर्रा र साउदीबाट निकाला गर्ने फैसला सुनाएको थियो। जनरल कोर्टको फैसला चित्त नबुझेपछि सरकारी वकिलको कार्यालयले पुनरावेदन गएको हो।

रियादस्थित नेपाली दूतावासले उमेशको जीवनरक्षाका लागि अदालतसमक्ष पुनः पुनरावेदन गर्ने तयारी गरेको छ । ‘अदालतले आफ्नो फैसला चित्त नबुझेमा पुनरावेदन गर्न ४८ दिनको समयसीमा तोकेको छ,’ उपनियोग प्रमुख आनन्दराज शर्माले भने, ‘हामी भोलि नै निवेदन दर्ता गर्दै छौं। त्यसको तयारीका लागि दूतावासका प्रतिनिधि जुवेल पुगिसकेका छन्।’

जुवेल पुगेका दूतावासका प्रथम सचिव विजयकान्त राउतको टोलीले बुधबार उमेश यादव र फैसला गर्ने न्यायाधीशलाई भेटेको छ। ‘फैसला आएदेखि नै उमेश निराश छन् । चिन्ताले खाना पनि खाएका छैनन् । बचाइदिन आग्रह गर्दै धेरैबेर रोए,’ राउतले भने, ‘दूतावासले जीवनरक्षाका लागि सक्दो प्रयास गर्ने विश्वास दिलायौं।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

३ जुलाई २००७ मा उमेशले पाकिस्तानी सहकर्मी बसिरको हत्या गरेका थिए। बिन लादेन कम्पनीमा कार्यरत दुवैजना ह्युम पाइप निर्माणको काम गर्थे । हत्याबारे फैसलामा लेखिएको विवरण र उमेशको भनाइ फरक–फरक छ। फैसलामा आर्थिक लेनदेनको विषयमा सुतिरहेका बेला रडले हानेर बसिरको हत्या गरेको उल्लेख छ।

उमेशले भने कार्यस्थलमा झगडा हुँदा मृत्यु भएको बताउँदै आएका छन्। त्यसलगत्तै भागेका यादव नेपाल पैसा पठाउने बेला बैंकबाट पक्राउ परेका थिए । फैसला गर्ने पुनरावेदन अदालतका न्यायाधीशले नियतवश हत्या गरेको भन्दै माफी दिन नसकिएको बताएका छन्। ‘आर्थिक लेनदेनमा कुरा नमिल्दा हत्या गरेको देखियो । उनीसँग भएको १२ हजार रियाद पनि लिएर गएको देखिन्छ। जुन जानीबुझी र नियतवश थियो । यो सरिया कानुनअनुसार ठूलो अपराध हो,’ न्यायाधीशको भनाइ उद्धृत गर्दै राउतले भने, ‘अदालतले रियादस्थित पाकिस्तानी दूतावासमा ब्लडमनी दाबी गर्न भनेको थियो । कोही नआएपछि फैसला गर्न बाध्य भयौं।’

उता बसिरको परिवार भने यादवलाई माफी दिन तयार देखिएका छन् । पाकिस्तानको फैसलावादस्थित बसिरको घरमा बुधबार उमेशका तर्फबाट क्षमा माग्न पुगेका सरोज रायले ब्लडमनी दिन तयार रहेको बताएपछि उनीहरू माफी दिन तयार भएका हुन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com