१० हजार रुपैयाँ प्रति केजी मूल्य पर्ने गुच्ची च्याउ टिप्नेको हुम्लामा भीड


प्रकाशित मिति : बैशाख १२, २०७५ बुधबार

वैशाख १२, हुम्ला जिल्लाका वनमा गुच्ची च्याउ संकलन कार्य तीव्र भइरहेको छ ।

फागुनदेखि वैशाख मसान्तसम्म संकलन हुँदै आएको च्याउ संकलनका लागि अहिले स्थानीयबासीको दैनिक लर्को लाग्ने गरेको छ । स्थानीयहरु च्याउ खोज्न जानका लागि बिहानै घरबाट निस्कन्छन् ।

उनीहरु टाढा वनमा खाना नास्तासहित बाससमेत बस्ने गर्छन् । त्यसैले स्थानीयहरु खाना खर्च, पानीको भाँडासहित अन्य बन्दोबस्तीको सामग्री बोकेर जंगलमा जाने गरेको स्थानीय रिप गाउँका २४ वर्षीय खड्क महताराले बताए । स्थानीयहरु च्याउ खोज्न आफ्नो घरबाट एक दिन लाग्ने दूरीमा रहेको जंगलमा जाने गरेकोले बासै बस्नु परेका उनले बताए ।

फागुनदेखि उम्रने गुच्ची च्याउ वर्षासहित आकासमा आउने चट्याङ्ग र गड्याङ गुडुङको आवाजले मात्र उम्रने जनविश्वास छ । त्यसैले हुम्लामा यो च्याउ गर्कि च्याउको नामले पनि परिचित छ । यो च्याउ जिल्लाका ताजाकोट, अदानचुली, सर्केगाड तथा खार्पुनाथ गाउँपालिकाको वनमा अत्यधिक पाइँदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गुच्ची च्याउ भीर पाखासहित समथर वनमा पाईन्छ । पहिले वनमा जाने गोठालाले तरकारीको लागि ल्याउने च्याउ हाल व्यापारीले खरीद गर्न थालेपछि यसको संकलन गर्न स्थानीयहरु वनमा जाने गरेको पाइन्छ ।

हाल च्याउ संकलनका लागि महिला, पुरुष र वृद्धदेखि बालबालिकासम्म वनमा जाने क्रम बढिरहेको छ । हरेक वर्ष प्रत्येक घरधुरीले एकदेखि दश केजीसम्म च्याउ संकलन गर्ने गरेका छन् । अहिले गुच्ची च्याउ संकलनका लागि विद्यार्थीहरु पनि वनतिर लाग्ने गरेका छन् ।

गुच्ची च्याउ तुरुन्तै नगद आउने राम्रो आम्दानीको श्रोत भएकोले पनि संकलनमा आकर्षण बढेको छ । वनको ल्याएर मनको हुने भएकोले पनि च्याउ संकलनका लागि वनमा जाने गरेको ताजाकोट –४, गल्लावाडका हरिप्रसाद जैसीले बताए । स्थानीय व्यापारीले गाउँगाउँमा नगदसहित खुद्रा सामान पहिले नै दिएर केटाकेटीहरुलाई च्याउ संकलन गर्न प्रोत्साहित गर्ने गरेका छन् ।

यसवर्ष गुच्ची च्याउको मूल्य प्रति केजी १० हजार रुपैयाँ मात्र पर्ने चंखेल्नी गाउँपालिका –४, का स्थानीय व्यापारी रामचन्द्र बुढाले बताए । व्यापारीले गएका वर्षहरुमा प्रति केजी २० देखि ३० हजार रुपैयाँसम्म गाउँमै खरिद गर्ने गरेका थिए ।

यस वर्ष बेलैमा वर्षा भएकोले गुच्ची च्याउ संकलन अत्याधिक मात्रामा हुने अनुमान व्यापारीहरुको छ । यो च्याउ जिल्लाका अदानचुलीको करगाइ, पालस, सर्केघाटको रिप, उनापानी, चंखेल्नीको नेप्का, रिमी, मेखाला तथा सिमीकोटको स्याडा गाउँहरुको वनमा पाइने गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com