प्रचण्डको ओलीसँग भेट्ने कार्यक्रम रद्द, एकीकरण प्रक्रिया अवरुद्ध


प्रकाशित मिति : बैशाख २, २०७५ आईतबार

एमालेसँग औपचारिक पार्टी एकीकरण प्रक्रिया संवादहीन अवस्थामा रहेका बेला माओवादी अध्यक्ष प्रचण्ड आराम गर्न लागि सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रद्द गरेर प्रचण्ड सुकुटेतर्फ लागेका हुन् ।

वैशाख ९ गते पार्टी एकीकरण गर्ने निर्णय गरेर भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली फर्किएपछि एकता प्रक्रियाले गति लिन सकेको छैन ।

आइजिपी नियुक्ति प्रकरणमा भेट भएका दुई नेताबीच यसबीचमा वार्ता समेत भएको छैन ।यसबीचमा पार्टी एकता संयोजन समिति बैठक डाकेर पनि स्थगत गरिएको थियो । प्रधानमन्त्री ओली राराबाट फर्किएपछि दुई नेताबीच एकताबारे छलफल हुने अनुमान गरिएको थियो ।

तर ओली फर्किए लगत्तै प्रचण्ड सुकेटतर्फ लागेका छन् ।यसअघि आइतवार विहान प्रचण्ड र एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी एकीकरणको बारेमा छलफल भएको थियो । प्रचण्डलाई भेट्न नेता नेपाल खुमलटार पुगेका थिए ।

वार्ताको बारेमा दुवै पक्षले केही भनेका छैनन् ।नेपाल निकट स्रोतका अनुसार पार्टी एकताप्रति प्रचण्ड पछिल्लो समयमा उत्साही नदेखिएकाले उनी खुमलटार पुगेका हुन् । प्रचण्डमा कतिपय कुराको शंसय रहेको आफूले पाएको नेपालले निकटस्थहरुलाई बताएका छन् ।

एकीकरण प्रक्रिया सकेसम्म बैशाख ९ मै टुंग्याउन नेपालले आग्रह गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड एकातिर राज्यसत्ता र पार्टी सत्तामा यसबीचमा आफ्नो स्थानबारे प्रष्ट हुनु चाहिरहेका छन् । अर्कोतिर बराबरी संख्याका आधारमा पार्टी एकीकरण गर्न र बिधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्न कार्यकर्ता पंक्तिबाट दबाब छ ।

एमाले पक्षले भने चुनावको परिणामलाई मुख्य आधार बनाएर संगठन एकीकरण गर्नुपर्ने भन्दै माओवादीले भनेको ५०/५० कुनै हालतमा नहुने बताएको छ । जनयुद्ध शब्द राख्ने सन्दर्भमा भाषा मिलाउन सकिने एमाले नेताहरुको दावी छ ।

चुनाव चिन्ह सूर्यमा भने दुवै दल सहमत हुने सम्भावना छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com