मंगलबार जोडेको ट्राफिक लाइटमा समस्या


प्रकाशित मिति : चैत्र १४, २०७४ बुधबार

एक दशकपछि काठमाडौं उपत्यकामा मंगलबार जडान गरेको ट्राफिक बत्ती बुधबारै बिग्रिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिकाको सक्रियतामा ११ वर्षपछि हिजोदेखि ट्राफिक बत्ती सञ्चालनमा आएको थियो।  नयाँ बानेश्वर, नारायणगोपाल चोक, पद्यमोदय मोड, शंकरदेव मोड, नारायणहिटी दक्षिण गेट, काठमाडौँ महानगरपालिका सुन्धारा र सोल्टीमोड चोकमा ट्राफिक बत्ती सञ्चालन गरिएको थियो।

तर बुधबार बिहान  नारायणगोपाल चोक, नयाँ बानेश्वर र केशरमहलका ट्राफिक लाइट बिग्रिएका हुन्। रिमोटले काम गर्न छोडर लाइट बिग्रिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए। खनालले चाडै प्राविधिकले यसको समाधान गर्ने बताए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले रिमोट थिचेर सुरू गरेको नयाँ बानेश्वर चोक र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले रिमोट थिचेर उद्घाटन गरेको नारायणगोपाल चोकको ट्राफिक लाइट बिग्रिएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यार्सा टेक्नोलोजी प्रा.लि.ले नेपाली प्रविधिमा निर्माण गरेको उक्त बत्ती वायरलेस प्रविधि जडान गरिएको थियो। बत्ती स्वचालित र रिमोर्ट दुबै तरिकाले सञ्चालन गर्न सकिने जनाए पनि एकै दिनमा बिग्रिएको हो।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नयाँ बानेश्वरको पुनःनिर्माण र नारायणगोपाल चोकको नयाँ निर्माण गरिएको थियो।

नयाँ बानेश्वर चोकको पुनःनिर्माणका लागि १५ लाख र नारायणगोपाल चोकको नयाँ निर्माणका लागि रु २५ लाख लागत लागेको बताइएको थियो। यी तीन स्थान बाहेक अन्य ठाउँमा जोडिएको बत्तिमा समस्या आएको छैन।

विसं २०७१ मंसिरमा नेपालमा भएको १८ औँ सार्क शिखर सम्मेलनको समयमा प्रयोगमा आए पनि उक्त ट्राफिक बत्ती राम्रोसँग सञ्चालनमा हुन सकेको थिएन । २०६३ सालदेखि उपत्यकामा ट्राफिक बत्ती सञ्चालनमा थिएन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com