काठमाडौंमा मात्रै ३२ हजार भुस्याहा कुकुर,दैनिक तीन सय मानिस भुस्याहा कुकुरको टोकाइमा


प्रकाशित मिति : चैत्र १३, २०७४ मंगलबार

अर्जुन अधिकारी/काठमाडौं महानगरपालिकाले व्यवस्थापन नगर्दा काठमाडौं उपत्यकामा भुस्याहा कुकुरको बिगबिगी बढेको छ । सडकमा छाडिएका बेवारिसे कुकुरको संख्या वृद्धि भएसँगै कुकुरको टोकाइबाट पीडित हुनेको संख्या पनि बढेको छ ।

चिकित्सकका अनुसार काठमाडौंमा प्रत्येक दिन दुई सयभन्दा बढी मानिस कुकुरले टोकेको उपचार गर्न अस्पताल आउने गरेका छन् । सहिद शुक्रराज तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनका अनुसार केही दिनयता भुस्याहा कुकुरले टोकेर आउने बिरामीको संख्या धेरै छ ।

टेकु अस्पतालका अनुसार आइतबार मात्रै भुस्याहा कुकुरले टोकेका तीन सयभन्दा बढी मानिस उपचारका लागि अस्पताल आएका थिए । ‘यो अवस्था भयावह हो,’ डा. पुनले भने । उनका अनुसार सोमबार पनि सोही अनुपातमा कुकुरले टोकेका बिरामी अस्पताल गएका छन् । पुनका अनुसार प्रत्येक महिना कम्तीमा दुईजनाको रेबिज रोगका कारण मृत्यु हुने गरेको छ ।

हेलचेक्रयाइँ नगर्न सुझाब
चिकित्सकका अनुसार कुकुरले टोके पनि धेरै मानिस उपचार गर्न आउँदैनन् । रेबिजविरुद्धको भ्याक्सिन लगाउनुपर्ने ठाउँमा टिटी खोप लगाएर घरमा बस्ने गर्दा समस्या देखिएको डा. पुनले बताए । सरकारले रेबिजविरुद्धको भ्याक्सिन निःशुल्क दिने गरेको छ । पुनले भने, ‘यस्तो अवस्थामा पनि मानिसहरू जानकारी नभएजस्तो गरी घरमै बस्ने गरेका छन् । यस्तो गर्नुहुँदैन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काठमाडौंमा मात्रै ३२ हजार भुस्याहा कुकुर
काठमाडौं महानगरपालिकाका वरिष्ठ जनस्वास्थ्य प्रशासक विश्वराम श्रेष्ठका अनुसार उपत्यकामा मात्रै ३२ हजारभन्दा बढी भुस्याहा कुकुर छन् । एक वर्षदेखि यस्ता कुकुर व्यवस्थापन गर्ने भनिए पनि विभिन्न कारणले रोकिएको उनले बताए । यस वर्ष पनि महानगरपालिकाभित्रका भुस्याहा कुकुर व्यवस्थापन गर्ने भनेर एक करोड छुट्याएको थियो ।

‘तर, काम अगाडि बढ्न सकेको छैन । त्यसको कारण मलाई पनि जानकारी भएन,’ श्रेष्ठले भने । उनका अनुसार ११ हजार कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाइसकिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com