यूएस बंगला विमान दुर्घटना : मृतकको लिंग पहिचानमै समस्या, बंगलादेशी टिमको सहयोग लिइने


प्रकाशित मिति : चैत्र २, २०७४ शुक्रबार

यूएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूको सनाखतमा समस्या देखिएको छ। दुर्घटनामा निधन भएकाहरूको विभिन्न अंगहरू जलेका कारण लिंग पहिचान नै कठिन बनेको छ।

त्रिवि शिक्षण अस्पताल फरेन्सिक मेडिसिन विभागका विभागीय प्रमुख डा. प्रमोद श्रेष्ठले बिहीबारसम्म ३५ जनाको शव पोस्टमार्टम गरिसकेको बताए। मृतकको शरीरमा भएको कोठी, खत, पुरानो घाउचोट, पुरानो अप्रेसन गरेका चिह्नलगायत हुलियाबाट चिकित्सकहरू शवको वास्तविक पहिचान गर्न प्रयासरत छन्।

डा. श्रेष्ठले भने, ‘पोस्टमार्टम गर्दा दाँतको पनि जाँच गरिरहेका छौं। कतिपयको फिंगर प्रिन्टसमेत लिएका छौं। यति गर्दा पनि पत्ता लगाउन नसके डीएनए जाँच गर्ने योजना बनाएका छौं।’

दुई वटा शवको हुलियासहितको तथ्यगत विवरणसमेत प्राप्त भएको छैन। शव डढेका कारण कतिपयको फिंगर प्रिन्ट लिनसमेत सकिएको छैन।

विभागीय प्रमुख डा. श्रेष्ठले भने, ‘कतिपय शव त पुरुष हो कि महिला छुट्याउनै सकिएको छैन। शव डढेका कारण स्वदेशी कि विदेश भनेर पहिचान गर्न पनि गाह्रो भइरहेको छ।’

मृतकका आफन्तले दिएको विवरणका आधारमा प्रस्ट सनाखत भएमा जाहेरी दिएका आफन्तलाई शव हस्तान्तरण गरिने बताइएको छ। तर, कहिलेदेखि शव हस्तान्तरण हुन्छ भन्ने यकिन गर्न नसकिने विभागीय प्रमुख डा. श्रेष्ठले बताए।

फरेन्सिक विभागका उपप्राध्यापक डा. रिजन श्रेष्ठले आफन्तले दिएको मृतकको विवरण र पोस्टमार्टमबाट पाइएका विवरणको तुलना र विश्लेषण गरी सनाखत गर्ने प्रक्रिया सुरु गरिने बताए।

उनले भने, ‘पोस्टमार्टम सकिएपछि शुक्रबार बेलुका वा शनिबार बिहानदेखि सनाखत प्रक्रिया सुरु हुन्छ।’

त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको उक्त विमानमा ३३ जना नेपाली, ३२ बंगलादेशी, एक जना चिनियाँ, एक जना मालदिभ्सका नागरिकका साथै चार जना चालक दलका सदस्य गरी ७१ जना सवार थिए। जसमध्ये ४९ जनाको मृत्यु भएको खबर आजको अन्नपूर्णपोस्टमा छापिएको छ ।

बंगलादेशी टिमको सहयोग लिइने
शव पहिचानमा र डीएनए परीक्षणमा सहयोग पुर्‍याउन बंगलादेशबाट तीन सदस्यीय टोली बिहीबार नेपाल आएको छ।

फरेन्सिक विज्ञ डा.सोहेल माहमुद, डीएनए विशेषज्ञ मोहमद असफुल र अनुसन्धान विशेषज्ञ मोहमद सलाम बिहीबार दिउँसो नेपाल आएका हुन्। उनीहरूले नेपाली चिकित्सक टोलीसँग समन्वय गरी फिंगर प्रिन्ट र डीएनए परीक्षणबाट शव पहिचानमा सहयोग पुर्‍याउनेछन्। शिक्षण अस्पताल फरेन्सिक विभागका उपप्राध्यापक डा. रिजनले भने, ‘बंगली टिमसँग सहकार्य गरी शव पहिचानको प्रक्रिया बढाउने विषयमा छलफल गरिने छ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com