प्रधानमन्त्री ओलीलाई २०८ सांसदको विश्वास मत


प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा २०८ सांसदको विश्वासको मत प्राप्त गर्नुभएको छ । विपक्षमा ६० मत परेको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा ९४० बमोजिम विश्वासको मत लिन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आजको बैठकमा जम्मा २६८ सांसद उपस्थित हुनुहुन्थ्यो ।

नेपाली काँग्रेसका सांसदले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्नुभएको थियो भने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल निर्वाचन प्रकृयामा सहभागी हुनुभएन । नयाँ शक्ति पार्टी नेपालका सांसद डा बाबुराम भट्टराई नेपाल बाहिर हुनुहुन्छ ।

उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा उहाँलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्रका सांसदले समर्थन गर्नुभएको हो ।

मत विभाजनअघि पाँच मिनेट जनाउ घण्टी बजाइएको थियो । त्यसपछि सभामुखको आसनको दाँया कक्षमा राखिएको वर्णानुक्रमानुसारको नामावलीमा हस्ताक्षर गरी सांसदहरुले प्रधानमन्त्रीको पक्षमा मत व्यक्त गर्नुभएको थियो भने सभामुखको आसनको बाँया कक्षमा राखिएको वर्णानुक्रमानुसारको नामावलीमा हस्ताक्षर गरी सांसदले प्रधानमन्त्रीको विपक्षमा हस्ताक्षर गर्नुभएको थियो ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि उहाँले संविधानअनुसार आज प्रतिनिधिसभामा विश्वासको मत लिनुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन ३ गते एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । संविधानअनुसार प्रधानमन्त्रीमा नियुक्त भएपछि ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संविधानअनुसार प्रतिनिधिसभामा १६५ प्रत्यक्ष निर्वाचित र ११० समानुपातिक गरी कुल २७५ सांसद छन् ।

गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले १२१, नेपाली काँग्रेसले ६३, माओवादी केन्द्रले ५३, राजपा नेपालले १७, संघीय समाजवादी फोरमले १६ तथा नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक÷एक र स्वतन्त्रले एक स्थानमा विजयी हासिल गरेका थिए । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com