फोरमले गर्यो स्वास्थ्य मन्त्रालयमा दाबी


प्रकाशित मिति : फाल्गुन २०, २०७४ आईतबार

फागुन २०, काठमाडौं । नयाँ सरकारमा सहभागी हुन सकारात्मक रहेको संघीय समाजवादी फोरमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित तीन मन्त्रालयको दाबी गरेको छ।

केपी ओली नेतृत्वको सरकारले परराष्ट्रसहित दुई मन्त्रालय र एक राज्यमन्त्री लिन फोरमलाई आग्रह गरेको छ। तर, फोरमले उपप्रधानसहित तीन मन्त्रालयमा दाबी गरेको छ।

सरकारले परराष्ट्रसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय लिन फोरमलाई आग्रह गर्दै आएको छ। फोरमले भने परराष्ट्रसहित स्वास्थ्य र ऊर्जा मन्त्रालयमा दाबी गरिरहेको छ।

सरकारी पक्ष र फोरमबीच मन्त्रालयको विषयमा कुरा नमिलेपछि आइतबार भएको छलफलले अन्तिम रुप लिन नसकेको हो। मन्त्रालय बाँडफाँटलाई अन्तिम रुप दिन सरकार र फोरमबीच आइतबार दुई पटक छलफल भए पनि सहमति जुट्न सकेन।

बालुवाटारमा बिहान बसेको बैठकमा सामान्य छलफल गरेका दुवै पक्षले प्रतिनिधि र राष्ट्रियसभाका सांसदको सपथ लगत्तै पुनः छलफल गरेका थिए।

अपराह्न सपथ लगत्तै संसद् भवनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादवले करिब एक घन्टा छलफल गरे पनि मन्त्रालयको भागबन्डामा कुरा मिल्न सकेन।

एमालेका नेता सुवास नेम्वाङले वार्ता सकारात्मक देखिएको र सोमबार टुंगोमा पुग्ने दाबी शीर्ष नेताहरुले गरेको बताए।

संविधान संशोधनमा एमाले लचिलो भएपछि सरकारले फोरमलाई समेत सरकारमा सहभागी गराउने कोसिस गरिरहेको छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com