रुसका विपक्षी नेता एलेक्से नभाल्नी प्रहरी हिरासतमा


प्रकाशित मिति : १४ माघ २०७४, आइतबार

रुसका विपक्षी नेता एलेक्से नभाल्नीलाई आगामी मार्चमा हुने राष्ट्रपतीय चुनावको विरोधमा बोलाइएको प्रदर्शनमा सहभागी भएपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

सामाजिक संजाल ट्वीटरमा एक सन्देश राख्दै नभाल्नीले आफूलाई हिरासतमा लिइएको बताउँदै आफ्ना समर्थकहरुलाई देशव्यापी विरोधप्रदर्शनमा भाग लिन आह्वान गरेका छन्।

विपक्षी नेता नभाल्नीको ट्वीटर पेजमा राखिएको एक भिडिओमा प्रहरीले उनलाई हिरासतमा लिने क्रममा भुइँमा लडाएको देख्न सकिन्छ ।

ट्वीटरमा सन्देश राख्दै नभाल्नीले भनेका छन्, “एक व्यक्तिको गिरफ्तारी अर्थहीन छ यदि हामी धेरै छौँ भने। कोही आऊँ र मेरो ठाउँ लिऊँ।”

साथै उनले विरोध प्रदर्शनहरू जारी राख्नका लागि पनि आह्वान गरेका छन्।

कयौँ रुसी शहरहरूमा विरोध र्‍यालीहरू भएको बताइएको छ।
हालसम्म १ सय ८० भन्दा बढी मानिसहरू देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको विवरणहरुमा उल्लेख छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कट्टर आलोचक नभाल्नीलाई मार्च १८ मा हुने राष्ट्रपतिय चुनावमा उम्मेदवारी दिनबाट रोक लगाइएको छ।

४१ वर्षीय नभाल्नीलाई राष्ट्रपति पुटिनलाई चुनौती दिनसक्ने एकमात्रै उम्मेद्वारका रुपमा हेरिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भ्रष्टाचारसम्बन्धी अभियोगमा दोषी ठहर गरिएको भन्दै रुसको केन्द्रीय निर्वाचन आयोगले नभाल्नी चुनाव लड्नका लागि अयोग्य घोषित गरेको थियो।

मार्चमा हुने राष्ट्रपतीय चुनाव, उनकै शब्दमा, वर्तमान राष्ट्रपति भ्लालिमिर पुटिनलाई पुनः निर्वाचित गराउनका लागि गर्न लागिएको उनले बताउँदै आएका छन्।

नभाल्नीले भने आफूमाथि लगाइएको अभियोग राजनीतिक रुपमा अभिप्रेरित भएको बताउँदै आएका छन्।

साथै निष्पक्ष चुनाव भएमा आफूले पुटिनलाई पराजित गर्ने पनि उनले बताएका छन्।

रुसी अधिकारीहरूले भने राष्ट्रपतीय चुनाव निष्पक्ष र धाँधलीरहित हुने बताएका छन्।

त्यसअघि प्रहरीले मस्कोस्थित उनका कार्यालयहरूमा छापा मारेका थिए र उपकरणहरू नियन्त्रणमा लिएको बताइएको छ।

BBC

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com