देउवा सरकारका पछिल्ला निर्णयमा नयाँ सरकारले पुर्नविचार गर्ने ः प्रचण्ड


प्रकाशित मिति : माघ १३, २०७४ शनिबार

 

माघ १३, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा सरकारले जनमतको खिल्ली उडाएको टिप्पणी गरेका छन् ।

 

सरकारको निर्णयहरुबारे एमालेले पत्रकार सम्मेलन गरेर व्यक्त गरेको धारणामा माओवादीको सहमति रहेको समेत बताए ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले देउवा सरकारका पछिल्ला निर्णयमा नयाँ सरकारले पुर्नविचार गर्ने बताए ।

सरकारका पछिल्ला निर्णयमा एमाले गरम माओवादी किन नरम भयो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘त्यो दिन म नेपालगञ्ज र भैरहवामा थिए, केपी जीले पत्रकार सम्मेलन गर्नुपर्‍यो भन्नुभयो, म आउन ढिला भयो । तर, मैले जे कुरा भन्नु छ तपाईले भन्दा हुन्छ भनेर सहमति दिएकै थिए ।’

बाँदरमुढे घटनामा ज्यान गुमाएकालाई सहिद घोषणा गरेकोमा आपत्ति नभएको तर, कामचलाउ सरकारले अनावश्यक काम नगरेको राम्रो हुने उनले बताए ।

प्रचण्डले नयाँ सरकार गठन अघि नै पार्टी एकता गर्ने गरी छलफल अघि बढेको बताएका छन् । ‘सरकार गठन अघि नै पार्टी एकता होस् भन्नेमा छु । त्यो जनभावना अनुसार पनि हुन्छ हामीले गरेको प्रतिबद्धता अनुसारपनि हुन्छ’ उनले भने, ‘हाम्रो गम्भीर छलफल भएको छ ।’

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com