समलिंगी नभएपनि मैले किन महिलासँगै जीवन बिताउने निधो गरेँ?


प्रकाशित मिति : माघ ७, २०७४ आईतबार

म र मेरी साथी समलिङ्गी होइनौँ अर्थात् हामी एकअर्काप्रति शारीरिक रूपमा आकर्षित छैनौँ। हामीबीचको आकर्षण आत्मक हो। यसकारण विगत करिब ४० वर्षदेखि हामीसँगै बस्दै आएका हौँ। अहिले हामी ७० वर्षका भयौँ। सँगै बस्ने निधो गर्ने बेला हामी करिब ३० वर्षका थियौँ।

जवानीका बेला हामीलाई आत्मसन्तुष्टिको चाह थियो। मलाई पनि र उनलाई पनि। म र मेरी साथी दुईजनासँगै बस्ने निधो गर्नुको सबैभन्दा ठूलो कारण यही हो। हामी दुवै एकअर्काभन्दा एकदमै भिन्न छौँ।

मलाई यो उमेरमा पनि चहकिलो रङ्ग मन पर्छ। मलाई लिपस्टिक लगाउन मन पर्छ। तर उनलाई फिक्का रङ्गका सामान मन पर्छन्। ७० वर्षकी भएर पनि म अग्ला जुत्ता लगाउँछु। म टेलिभिजन हेर्छु जबकि उनी मोबाइलमा व्यस्त रहन्छिन्।

उनी भन्छिन्, “बुढेसकालमा तिमीलाई यो के रोग लागेको हो?” यही हो हाम्रो जिन्दगी। थोरै ठाकठुक र आफ्नै तरिकाले जिउने स्वतन्त्रता। हुन त हामी एउटै छानामुनि बस्दै आएका छौँ। तर हामीले एकअर्काको स्वतन्त्रतामा हस्तक्षेप गरेका छैनौँ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आजकलको वैवाहिक सम्बन्धमा यति स्वच्छन्दता कहाँ हुन्छ र? जब अपेक्षा बढ्छन् दुईबीचको सम्बन्ध फिक्का हुँदै जान्छ र अन्ततः तोडिन्छ। उसो त मेरो पनि बिहे टुटेको थियो। तर त्यो अतीत भइसक्यो र जिन्दगीको त्यो पाना अब म पल्टाउन चाहदिनँ।

बच्चाहरू ठूला भइसके र आफ्नो जिन्दगीमा अगाडि बढिसके। मेरी साथी त सधैँ एक्लै बस्नुपर्नेमा विश्वास राख्थिन्। अहिले पनि उनी त्यस्तै सोच्छिन्। हामी एकअर्कासँगै छौँ पनि र छैनौँ पनि। यति वर्षदेखि सँगै बस्दै आए पनि एकअर्काका कतिपय बानीको भेउ हामीलाई छैन।

हाम्रो सम्बन्धको सौन्दर्य पनि यही हो। हामीले एकअर्कालाई पूर्ण रूपमा बुझ्न सकेका छैनौँ र शायद एकअर्काबारेको खुलदुली नमेटिएर पनि होला हामीबीच निकटता कायम छ। मान्छेहरूले सोध्ने गर्छन्- एकअर्कालाई हेरेर मात्र दिक्क लाग्दैन तिमीहरूलाई? तर साँच्चै भन्नुपर्दा हामी एकअर्कासँग निकै कम कुरा गर्छौँ।

हामी एउटै घरमा त बस्छौँ तर कहिलेकाहीँ खाना खानेबेला मात्र हाम्रो भेटघाट हुन्छ र आ-आफ्नो काममा लाग्छौँ। यस्तो बानी हाम्रो जागिर खाएको बेलादेखिकै हो र त्यो अहिले पनि उस्तै छ। शुरूमा काम गर्ने महिला हामीकहाँ आउँदा आश्चर्यमा पर्थिन्। हाम्रा कोही आफन्त छैनन् भन्नेबारे उनको जिज्ञासा हुन्थ्यो। म उनीसँग बहस गर्न चाहन्न थिएँ।

आफन्त र साथीको मामिलामा हामी निकै धनी छौँ भनेर म उनलाई कसरी सम्झाउन सक्थेँ र? तर एकअर्कासँगै बस्ने निर्णय हामी दुईको सचेत छनोट थियो।काम गर्ने महिलाको हरदिनको चिन्ता हुन्थ्यो कि हाम्रो घरमा चोरी हुनसक्छ वा हामीलाई कसैले मारिदिन सक्छ।

म उनको चिन्ताप्रति केवल हाँस्न मात्रै सक्थेँ। अनि, एकदिन उनलाई मैले भनिदिएँ, “हाम्रो घरमा चोरेर चोर खुशी हुन सक्ने त्यस्तो केही छैन।” उनले मेरा कुरा कति बुझिन् त्यो थाहा छैन। तर हाम्रो जिन्दगीप्रति भने उनको सधैँ सहानुभूति रहने गर्थ्यो। यथार्थ के हो भने हाम्रो जिन्दगी त्यस्तै छ जस्तो होओस् भन्ने हामी चाहन्थ्यौँ। म बिहान आफ्नै इच्छाले उठ्छु। जिन्दगीमा त्यस्तो हतारो पनि केही छैन।

म एकताका सोच्थेँ बिहान सबेरै उठूँ र अन्यलाई जस्तै आफ्नोबाहेक अरूको पनि चिन्ता मलाई होओस्। यसको अर्थ यो होइन कि जिम्मेवारीबाट पन्छिन हामीले यस्तो जिन्दगी रोज्यौँ। हाम्रो घरमा आउने वा हामीले भेट्ने मान्छेलाई लाग्दो हो हामीमाथि कुनै जिम्मेवारी छैन। तर आफूप्रतिको आफ्नो जिम्मेवारी कहाँ कम हुन्छ र?

हामी दुवैजना आफ्नो आवश्यकताका लागि कसैको मुख ताक्दैनौँ। मान्छेहरूलाई लाग्दो हो हामी एकअर्कासँग यसरी बसिरहेकोमा केही समस्या पक्कै हुनुपर्छ। तर हामीबीच त्यस्तो केही छैन। अरूको सोच बदल्ने वा उनीहरूले के सोच्छन् मलाई त्यसको मतलब छैन। म सिन्दूर लगाउँछु र गहनाले सजिन्छु।

मन लागेसम्म लगाउँछु, मन नलागे लगाउँदिनँ। यो सम्बन्धबाट एउटा कुरा बुझियो कि तपाईँ जोसँग पनि बस्न सक्नुहुन्छ। जिन्दगी भने त्यो व्यक्तिसँग मात्रै बिताउन सक्नुहुन्छ जसले साथ दिन्छ तर स्वतन्त्रता खोस्दैन। मानिसहरूलाई हामीले बाँचिरहेको जिन्दगी निकै अनौठो लाग्छ।

उनीहरू यो बुझ्दैनन् कि हामी दुई साथी हौँ, आफूले कमाएको खाइरहेका छौँ, सँगै बसिरहेका छौँ। न कसैको केही मागेका छौँ न कसैसँग केही गुनासो गरेका छौं। आखिर यसमा गलत के छ?

( यो सामाग्री हामीले बीबीसी नेपाली सेवाबाट साभार गरेका हौं । यो उत्तर भारतकी एक महिलाको वास्तविक जीवनमा आधारित घटना हो। उनीसँग बीबीसी संवाददाता भूमिका रायले कुराकानी गरेकी हुन्।)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com