प्रदेश नं. ५ को राजधानी बुटवल नै उचित, आन्दोलन नगरौँ : विष्णु पौडेल


प्रकाशित मिति : माघ ५, २०७४ शुक्रबार

माघ ५ , काठमाण्डौ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले काम चलाउनका रुपमा अस्थायी राजधानी तोकेकाले आन्दोलनमा जान नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता पौडेलले प्रदेशसभाले उचित ठाउँमा स्थायी राजधानी तोक्ने भएकाले आन्दोलनमा जान जरुरी नभएको बताए ।

“प्रदेशका काम कारबाही संचालन गर्नका लागि तोकिएको हो । भोलि प्रदेशसभाको दुई तिहाई बहुमतले स्थायी राजधानी तोक्छ ।” उनले भने । “अहिले अस्थायी रुपमा तोकिएका ठाउँहरु नै प्रदेशसभाबाट दुई तिहाई बहुमत पाएर स्थायी हुन पनि सक्ने तर यो कुरा प्रदेश सभाको अधिकारभित्रको हो । आन्दोलन गरेर हुँदैन ।”

आफूले चुनावका बेला जनतालाई प्रदेश नम्बर पाँचको राजधानी बुटवल बनाउँछु भनेर आश्वासन दिएको स्मरण गर्दै पौडेलले भने, “नेपाललाई नचिन्नेहरुले पनि लुम्बिनी र गौतम वुद्धलाई चिन्छन् ।”

प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधार पनि बुटवलमा नै भएको दाबी गर्दै पौडेलले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्म निर्माण भइरहेको ठाउँ भएकाले पनि राजधानी बनाउन उपयुक्त हुने जिकिर गरे ।

बुटवल नै राजधानी बनाउनपर्ने पाँच नम्बर प्रदेशका बहुसंख्यक जनता र बहुसंख्यक प्रदेश सासंदको चाहना भएको पौडेलको दाबी छ ।
“पाँचनम्बर प्रदेशको राजधानी बुटवल नै ठीक छ । जे निर्णय भएको छ, ठिक छ ।” उनले भने । “यो निर्णयमा पुग्नका लागि मेरो पनि भूमिका छ ।”

बुटवललाई राजधानी तोकिएकोमा तपाईकै पार्टीका शंकर पोखरेलको असहमति छ नि भन्ने प्रश्नमा पौडेलले भने, “लोकतन्त्रमा असहमति राख्न पाइन्छ । तर अहिले आन्दोलनको बाटो जाने होइन कि प्रदेशसभाको क्षेत्राधिकार हो भनेर स्वीकार गर्नुपर्छ ।”

प्रदेशको राजधानी बुटवल हुँदैमा सबै विकास बुटवलमा मात्रै हुने भनेर नबुझ्न पौडेलले आग्रह गरेका छन् । सडक आन्दोलनमा समय बर्बाद नगर्नसमेत उनले आग्रह गरेका छन् । बुटवल राजधानी ठिक छैन भने प्रदेशसभाले सच्याउने भन्दै उनले संयमित हुन आग्रह गरे

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com