रुघाखाेकीले एकै गाउँका १० को मृत्यु
प्रकाशित मिति : पुस ३०, २०७४ आईतबार
निमेन्द्र शाही। बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकामा केही दिनयता चिसो बढेसँगै फैलिएको रुघा र ज्वरोका कारण हुनी गाउँमा १० जनाको ज्यान भएको छ ।
प्रभावित क्षेत्रमा पुगेर फर्केका जिल्ला स्वास्थ्य कार्यालय बाजुराका महामारी शाखाका संयोजक टेकबहादुर खड्काले दिएको जानकारी अनुसार वडा नम्बर ४ की ६९ वर्षीया काली कामी र उनका ७० वर्षीय श्रीमान जाड कामी र उनका भाई ६० वर्षीय काला कामीको ज्यान गएको छ । त्यस्तै त्यसै वडाका ६५ वर्षीया रामसरा भण्डारी र ६९ वर्षीय दरवीर बुढाको पनि चिसोकै कारण ज्यान गएको छ ।
वडा नम्बर २ का वडाअध्यक्ष कर्णबहादुर बिष्टका अनुसार हुनी गाउँमै चिसोका कारण ६० वर्षीय थुपा नाथ, ५५ वर्षीय कर्ण शाही, ७२ वर्षीय मन बिष्ट, ३६ वर्षीया सुपारी बिष्ट र ६७ वर्षीया बना बिष्टको ज्यान गएको छ । चिसो बढेपछि दुई सातायता घरैपिच्छे रुघा ज्वरोका बिरामी रहेको गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख रामदत्त न्यौपानेले बताउनुभयो ।
रुघाज्वरोले सिकिस्त भएर ज्यान गएकाहरू भाइरल संक्रमणको सिकार भएको हुन सक्ने अनुमान गरिए पनि यकिन भइनसकेको जिल्ला जनस्वास्थ्यका प्रमुख डाक्टर रुपचन्द्र बिकले जानकारी दिनुभयो । ‘भाइरल फैलिएको भन्ने अनुमानसम्म भए पनि पुष्टि भएको छैन, जिल्ला स्वास्थ्य कार्यालयबाट महामारी डेस्कका फोकल प्रसन र डा. शत्य शाहीलाई अनुसन्धानको लागि खटाएका छौँ’, डा. बिकले भन्नुभयो ।
चिसो बढेका कारण श्वासप्रश्वासलगायत रोगका बिरामी भने चपेटामा परेको उहाँले बताउनुभयो । बढी संख्यामा बालबालिका र वृद्धवृद्धा प्रभावित रहेको वडाध्यक्ष बिष्टले जानकारी दिनुभयो ।
भाइरल भए नभएको यकिन गर्न १२ जना बिरामीको नमुना परीक्षणका लागि एक साताअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको छ । ‘बिरामीको अवस्था, लक्षणलगायत विषयमा महामारी तथा रोग नियन्त्रण महाशाखासँग समेत नियमित समन्वय भइरहेको तर रिपोर्ट भने आएको छैन, फेरि अर्को टोली खटाएका छौँ’, डाक्टर बिकले बताउनुभयो ।
रोग प्रभावित क्षेत्रमा उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मी टोली परिचालन गरिएको कार्यालयले जनाएको छ । ‘आवश्यक औषधि तथा चिकित्सकसहितको टोली जगन्नाथमै परिचालित छ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रूपचन्द्र विश्वकर्माले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रमा काम गर्ने त्यस क्षेत्रका गैरसरकारी निकायका स्वास्थ्यकर्मीलाई समेत जगन्नाथमै केन्द्रित गराएका छौँ ।’
जगन्नाथ सदरमुकाम मार्तडीबाट दुई दिन पैदल दूरीमा पर्छ । औषधि अभाव हुन नदिन नेपालगन्ज र क्षेत्रीय मेडिकल स्टोर धनगढीबाट समेत थप औषधि झिकाउने प्रयास भइरहेको डा. विश्वकर्माले बताए । चिसो बढेका कारण जिल्लाका अन्य क्षेत्रमा समेत श्वासप्रश्वास र रुघाखोकी, ज्वरोका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जगन्नाथ, स्वामीकार्तिक, गौमुल र छेडेदह गाएतका हिमाली क्षेत्रमाका गाउँपालिकाका विभिन्न गाउँमा समेत रुघाज्वरो फैलिएको छ । प्रभावित सबै ठाउँमा औषधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।