सरकारले शीतलहरबाट प्रभावित जिल्लामा २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण


प्रकाशित मिति : पुस २५, २०७४ मंगलबार

पुस २५, काठमाडौं । केही दिनयता मधेस(तराईमा बढेको शीतलहरले जनजीवन कष्टकर बनाएको छ । कठ्यांग्रिने चिसोले पूर्वीतराईका विभिन्न जिल्ला नराम्ररी प्रभावित भएका छन् । गरिब परिवार चिसोबाट बच्न परालको ओछ्यान तथा घुरको आगो तापेर बस्न बाध्य छन् । मधेस÷तराईमा परिरहेको तुषारोले गरिब तथा विपन्नलाई सताएको छ ।

चिसोले बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । सुत्केरी, बालबालिका, वृद्धवृद्धा, अशक्त, अपांग र दमका रोगी चिसोले बढी पीडित बनेका जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जानकारी दिए ।शीतलहरले महोत्तरीका मुसहर, चमार, पासमान, डोम, बाँतर, झागर जातिको दैनिकी कष्टकर बनेको हो ।

पूर्वीतराईका धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, बारा, पर्सा, सुनसरीलगायत जिल्लामा अत्यधिका चिसोले जनजीवन निकै कष्टकर बनेको छ । लगातारको चिसो र शीतलहरले कठ्यांग्रिएर दुई दर्जनले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउनेमा अधिकांश सडकपेटीमा सुत्ने गरिब छन् । पर्याप्त लुगाफाटो नहुँदा गरिब एवं विपन्न कठ्यांग्रिएर दिनरात काट्न बाध्य छन् ।

जाडो प्रभावितलाई स्थानीय तहका जनप्रतिनिधिले आगो बाल्न दाउरा व्यवस्था गरेर वितरण गरिरहेका छन् । जाडोले सप्तरीका बाढी प्रभावित झन् कष्टकर जीवन बिताउन बाध्य छन् । स्थानीय प्रशासनले जाडोबाट बाढी प्रभावितलाई बचाउन न्यानो कपडा र दाउरा वितरण गरिरहेको सप्तरी दैवीप्रकोप उद्धार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले बताए ।

अस्पतालमा बिरामीको चाप

शीतलहरका कारण यहाँका अस्पताल र क्लिनिकमा बिरामीको चाप बढेको छ । शीतलहर र अत्यधिक चिसो बढेका कारण बालबालिकामा रुघाखोकी, निमोनिया, कोल्ड डायरिया, टाउको दुख्नेलगायत समस्या देखिएको छ भने वृद्धवृद्धा श्वासप्रश्वास पीडित छन् ।

शीतलहरले भाइरल ज्वरो, कोल्ड डायरिया, रुघा खोकी, ज्वरो, हातखुट्टा दुख्ने, टाउको दुख्ने, दम, श्वासप्रश्वासका रोगी बढेको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर इमामुल हकले बताए । अस्पतालमा हाल दैनिक करिब ६ सय बिरामी आउने गरेको तीमध्ये दुई सयजति चिसोले बिरामी परेकाहरू रहेको हकले जानकारी दिए ।

नारायणी उपक्षेत्रीय अस्पतालकै आकस्मिक उपचार कक्षमा मात्रै चिसोले प्रभावित दैनिक ८० देखि ८५ जना बिरामी उपचारका लागि आइरहेको आकस्मिक कक्षमा कार्यरत अहेव देवकुमार लामाले जानकारी दिए ।

प्रभावितलाई राहत

सरकारले शीतलहरबाट प्रभावित जिल्लामा राहत वितरण गर्ने भएको छ । गृह मन्त्रालयले शीतलहरबाट प्रभावित तराईका २२ जिल्लामा २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गरेको हो ।

शीतलहरबाट तराईका विभिन्न जिल्लामा सर्वसाधारणको अवस्था निकै दयनीय बन्दै गएपछि सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले राहत वितरण गर्ने निर्णय गरेको हो । गृहले एउटा जिल्लामा १० लाख रुपैयाँ बराबरको कम्बल, दाउरालगायत न्यानो सामग्री वितरण गर्ने जनाएको छ ।

गृहले सोमबार नै कम्बललगायत सामग्री प्रभावित क्षेत्रमा पठाइएको गृह सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए ।‘प्रधानमन्त्रीको निर्देशनमा प्रभावित ठाउँमा राहत वितरण गर्ने निर्णय भएको छ’, गृहसचिव सापकोटाले भने, ‘राहत वितरण कार्य सुरु भएको छ, केन्द्रबाट कम्बललगायत सामग्री जाने क्रम सुरु भइसकेको छ ।’

प्रधानमन्त्रीको निर्देशनलगत्तै काठमाडौंस्थित मानवीय सहायता कक्ष र सशस्त्र प्रहरीसँग मौज्दात रहेका न्यानो कपडा वितरण सुरु भएको गृहले जनाएको छ । गृहसचिव सापकोटाले भने, ‘सशस्त्र प्रहरीको ट्रकबाट ढुवानी सुरु भइसकेको छ ।’गृहले शीतलहर प्रभावित क्षेत्रका स्कुललगायत सार्वजनिक भवनमा बालबालिका र बूढापाकालाई न्यानोमा राख्न अस्थायी सेल्टर खडा गर्न सम्बन्धित जिल्लालाई निर्देशन दिएको छ ।

सर्वोच्चको आदेश कार्यान्वयन भएन

चिसो र शीतलहरबाट जोगाउन यथाशीघ्र तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गर्न सर्वोच्च अदालतले सरकारलाई तीन वर्षअघि दिएको आदेश कार्यान्वयन हुन सकेको छैन ।

अधिवक्ता माधवकुमार बस्नेत, काठमाडौं मूलपानी निवासी विनोद फुँयाल र कपन बस्ने लीलाराज कोइरालाद्वारा दायर रिटमा सर्वोच्चका तत्कालीन न्यायाधीश गिरिशचन्द्र लाल र चोलेन्द्रशमशेर राणाको संयुक्त इजलासले ०७१ साल मंसिर १८ मा यस्तो आदेश दिएको थियो ।

शीतलहर र चिसोका कारण विपन्न नागरिकको ज्यान जाँदासमेत सरकार उदासीन रहेकाले न्यायका लागि सर्वोच्चको ढोकामा आउनुपरेको दाबी रिट निवेदकको थियो ।

संसारभर जलवायु परिवर्तनका कारण नेपालको तराई क्षेत्रलगायत मुलुकका विभिन्न क्षेत्रमा शीतलहर र चिसोका कारण गरिबीको रेखामुनी रहेका सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको र असामयिक मृत्युसमेत खेप्नुपरेको अवस्था रहेको भन्दै सर्वोच्चले सरकारबाट यथाशीघ्र आवश्यक गृहकार्य गरी तत्कालीन र दीर्घकालीन ठोस उपाय अवलम्बन गर्न आदेशमा भनेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com