सरकारको प्रस्तावको पर्खाइ: एमाले, माओवादी


प्रकाशित मिति : पुस २०, २०७४ बिहीबार

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशका अस्थायी राजधानी लगायतबारे निर्णय लिनु अघि बिहीवार राष्ट्रिय पार्टीहरुको संयुक्त बैठक डाकेका छन्।

एमाले र माओवादी केन्द्रका नेताहरुले सरकारको प्रस्ताव सुनेपछि मात्रै आफ्नो धारणा बनाउने बताएका छन्।

बैठकपछि ती विषयमा निर्णय गर्ने सरकारको तयारी रहेको बताइएको छ।

प्रदेशसभा निर्वाचनको परिणाम घोषणा गर्ने अन्तिम तयारीमा रहेको निर्वाचन आयोगले त्यसको परिणाम पठाउन प्रदेश प्रमुख नभएको भन्दै छिटो नियुक्ति गर्न सरकारलाई पटक पटक आग्रह गर्दै आएको छ।

फरक मत

प्रधानमन्त्री देउवाले बैठकमा प्रस्ताव गर्न सक्ने प्रदेश प्रमुखको नाम र राष्ट्रिय सभा चुनावमा वाम गठवन्धनको धेरै चासो हुने देखिएको छ।

एमाले उपाध्यक्ष भीम रावलले भने “हाम्रो तर्फबाट राष्ट्रियसभा निर्वाचनको मिति तोक्दा लामो समय नराखेर न्युनतम समय लिएर त्यो निर्वाचन सम्पन्न गर्नु पर्ने कुरा राख्छौं, प्रदेश प्रमुख नियुक्तिमा प्रधानमन्त्रीले कसरी प्रस्तुत गर्नुहुन्छ हेर्छौं।”

प्रदेशको अस्थायी राजधानीबारे एउटै दलभित्र पनि फरक फरक मत देखिएका छन्।

त्यसबारे आफूहरुसँग छलफल नगरेको भन्दै सरकारसँग असन्तुष्ट रहेका वामगठबन्धनले प्रस्ताव नराख्ने बताएका छन्।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले भनिन्, “त्यसबारेमा हाम्रो कुनै प्रस्ताव छैन, पहिले सरकारका कुरा सुनेर त्यसका आधारमा सहमति कायम गरेरै जाने भन्ने छ तर प्रदेश प्रमुखहरु राजनीतिक सहमतिबाट नै तय हुनुपर्छ।”

विकल्प

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले माघ २५ गतेको मिति प्रस्ताव गरिसकेको छ।

प्रदेश राजधानीका बारेमा सरकारका विभिन्न समितिहरुले साधनस्रोतको आधारमा विकल्प सहितका विभिन्न जिल्लाको प्रस्ताव गरेको बताइएको छ।

प्रदेश प्रमुखका हकमा सरकारले सम्भावित व्यक्तिको सूची तयार पारेर सहमतिको प्रयास गर्ने जनाएको छ।

यी तीन विषयको टुङ्गो नलाग्दा प्रदेशसभाको बैठक र नयाँ सरकार गठन लगायतका काम अगाडि बढन सकेका छैनन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com