मजदूरको मासिक ज्याला रु १५ हजार तोक्न पहल गरिने: प्रधानमन्त्री


प्रकाशित मिति : १६ पुस २०७४, आइतबार

प्रधानमन्त्री शेरबहादुर देउवाले मजदूरको न्युनतम मासिक ज्याला रु १५ हजार तोक्नुपर्ने बताउँदै त्यसका लागि सरकारले पहल गर्ने बताउनुभएको छ ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आज यहाँ ‘चौथो राष्ट्रिय ट्रेड युनियन सम्मेलन’को उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिले सरकारले तोकेको मजदूरको न्यूनतम ज्याला नौ हजार ७०० धेरै कम भएको टिप्पणी गर्दै भन्नुभयो ,“ मजदूरले पाउने मासिक रकमबाट कम्तीमा पनि उसको सानो परिवार पाल्नसक्ने हुनुपर्छ । ”।

प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारीमा जान चाहनेलाई स्वदेशमै राम्रो ज्याला दिएर काममा लगाउन सक्नुपर्ने पनि बताउनुभयो । उहाँले दलहरुले निर्वाचनअघि मजदूरका सम्बन्धमा घोषणपत्रमा उल्लेख गरेका विषय कार्यान्वयनमा ल्याउने बेला आएको स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्रीले तीन तहकै निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर सरकारले संक्रमणकालको अन्त्य गरेको बताउँदै अब रोजगारीका अवसर सिर्जनालाई प्राथमिकतामा राखिने बताउनुभयो ।

कार्यक्रममा बिभिन्न मजदूर संगठनका नेताले श्रम आयोगको गठन हुनुपर्ने, न्यूनतम ज्याला बढाइनुपर्ने लगायत माग अझै पूरा नभएकाले दबाबमूलक कार्यक्रम अगाडि बढाइने बताएका थिए ।

‘स्थिरता र समृद्धिका लागि सुदृढ ट्रेड युनियन आन्दोलन’ भन्ने नारासहित शुरु भएको सम्मेलनमा देशभरबाट विभिन्न मजदूर संगठनका प्रतिनिधि सहभागी छन् ।

नेपालका प्रमुख राजनीतिक पार्टी निकट रहेर ट्रेड युनियन आन्दोलनमा आबद्ध १० ट्रेड युनियनको साझा संगठनका रुपमा १० वर्षअघि संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको स्थापना गरिएको थियो ।

मजदूरका विषयमा एउटै धारणा र साझा आवाज बनाई सरकारलाई दबाब दिने उद्देश्यले केन्द्रको निर्माण गरिएको बताइएको छ । केन्द्र निर्माण गर्दा सम्मेलनमार्फत प्रमुख मजदूर संगठनले आलोपालो नेतृत्व गर्ने सहमतिअनुरुप सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com