स्वदेशी औषधि उत्पादकलाई सहुलियत दिन्छौं – मन्त्री बोहरा


प्रकाशित मिति : १५ पुस २०७४, शनिबार

सरकारले औषधिमा आत्मनिर्भर हुन स्वदेशी औषधि उत्पादकलाई सहुलियत दिने तयारी गरेको छ । आयातलाई विस्थापन गरी मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन सरकारले सहुलियत दिने तयारी गरेको हो । औषधि व्यवसायी संघ बागमतीको आज भएको साधारणसभालाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री दीपक बोहराले आइसियुमा आवश्यक पर्ने औषधि तथा मुटु रोगीलाई चाहिने औषधि र औषधिजन्य पदार्थ उत्पादन गर्ने उत्पादकलाई सरकारी सुविधा उपलब्ध गराइने बताउनुभयो ।

स्वदेशी उत्पादनलाई थप प्रोत्साहन दिँदै नेपाली औषधिलाई सर्वसुलभ बनाइने उहाँले बताउनुभयो र भन्नुभयो, “तर गुणस्तरीयतामा सम्झौता गर्न पाउनुहुन्न । कतिपय नीतिगत विषय हामीले गरिरहेका छौँ, आगामी सरकारले त्यसलाई भत्काउन सक्दैन ।”

मिर्गौला रोगी, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई मासिक रु पाँच हजारका दरले दिने भनिएको भत्ता सूर्तीजन्य पदार्थमाथिको करको २५ प्रतिशत रकमबाटै पुग्ने बताउँदै उहाँले कार्यविधिमै सूर्तीजन्य पदार्थको करको २५ प्रतिशत रकमको छुट्टै कोष खडा गर्ने जानकारी दिनुभयो ।

नेपालमा करिव १८ हजार व्यक्ति मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीबाट पीडित रहेको तथ्याँक छ । नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले मुलुकभित्रै औषधि उत्पादन गर्न सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो ।

औषधि उत्पादक संघका अध्यक्ष दीपक दाहालले नेपाल औषधिमा ४० प्रतिशतमात्रै आत्मनिर्भर रहेको बताउँदै नेपाली औषधिको गुणस्तरीयता राम्रो रहेको दाबी गर्नुभयो । औषधि व्यवसायी संघ बागमतीका अध्यक्ष निरञ्जनप्रसाद रिसालले आत्मनिर्भरताका नाममा गुणस्तरीयता र मूल्यमा भने सम्झौता गर्न नहुने विचार व्यक्त गर्नुभयो ।

रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com