म्यादी प्रहरीलाई निरन्तर काममा लगाऔं
प्रकाशित मिति : पुस ३, २०७४ सोमबार
पुस ३, २०७४-प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न ९८ हजार म्यादी प्रहरी भर्ना गरिएका छन् र सम्भवत: अब केही दिनमा नै यी म्यादी प्रहरीलाई सरकारले बिदा दिँदै छ । अल्पकालकै लागि सही, तर सरकारले आकस्मिक कार्य सम्पन्न गर्न स्वदेशमै रहेका ९८ हजार बेरोजगार नेपाली युवालाई प्रत्यक्ष रोजगारीको ढोका त खोलिदिएकै हो नि । सरकारले आवश्यक परेको खण्डमा हजारौं युवालाई रोजगार दिन सक्ने रहेछ भन्ने प्रमाण पनि हो यो । म्यादी प्रहरीमा भर्ना गर्दा राष्ट्रले बेहोर्नुपर्ने आर्थिक भार आफैंमा छुट्टै विषय छँदै छ । तर म्यादी प्रहरी भर्ना गर्दैगर्दा आर्थिक भारको चुनौतीसँंगै प्राविधिक हिसाबले छनोट प्रक्रियामा पनि सक्षम युवाहरूलाई प्रहरी भर्नाकै प्रक्रियाअन्तर्गत चरणबद्ध रूपमा छनोट गरिएको पक्कै हो । यी ९८ हजार म्यादी प्रहरीलाई बिदा नदिई क्षमताअनुसार विभिन्न कार्यक्षेत्र तोकेर निरन्तर लैजाने हो भने हजारौं युवाको रोजगारीको सुनिश्चितता हुन सक्ने थियो ।
बिदा लिन चाहने म्यादी प्रहरीहरूले बिदा लिन्छन् र निरन्तर काम गर्न इच्छुकहरूलाई विभिन्न क्षेत्रमा निरन्तर रोजगारी दिन सकिन्छ । तमाम म्यादी प्रहरीको इच्छा, आकांक्षा पनि यो रोजगारी निरन्तर भैदिए हुन्थ्यो भन्ने छ । राजनीतिक दलहरूले वैदेशिक रोजगारीमा नेपाल बाहिर रहेका लाखौं युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने किसिमले रोजगारीको वातावरण सिर्जना गर्ने आश्वासन दिँदै पनि आएका छन् र यसरी आश्वासन दिने राजनीतिक दलहरू नै आगामी सरकारको नेतृत्व गर्ने भएपछि यदि भर्खरै निर्वाचनको प्रयोजनका लागि भर्ना गरिएका हजारौं म्यादी प्रहरीको रोजगारीलाई दीर्घकालीन रोजगारीको रूपमा सुनिश्चित गरे नेपाल बाहिर रहेका लाखौं युवामा स्वदेशमै रोजगारीको व्यवस्था गर्ने किसिमले रोजगारीको वातावरण सिर्जना गर्नेछन् भनी आश्वासन दिने राजनीतिक पार्टी र नेताहरूप्रति विश्वास जाग्नेछ । नत्र दुई महिनासम्म हजारौं युवालाई म्यादी प्रहरीको रोजगार दिएर म्याद सकिएपछि विदा दिएर फेरि बेरोजगारकै अवस्थामा फर्काइदिएपछि हामी नेपाल बाहिर वैदेशिक रोजगारमा रहेका लाखौं युवालाई स्वदेशमै रोजगारी सिर्जना गरेर लाखौं युवालाई स्वदेश फर्काउने राजनीतिक पार्टी र सरकारको आश्वासनप्रति भरोसा गर्ने खास आधार हुँदैन र यो खोक्रो आश्वासन मात्र हो र स्वदेशमा रोजगारीको वातावरण नभएपछि बाध्यतावश वैदेशिक रोजगारमा विभिन्न मुलुकमा रहेका नेपालीलाई स्वदेशमै रोजगारी दिने राजनीतिक पार्टी र सरकारको आश्वासन भनेको अल्मलाउने र आफ्नो दुनो सोझ्याउने कुटिल चालमात्र हो भन्ने स्पष्ट हुन्छ ।
– तिलविक्रम थेवे