लस एन्जलस नजिकै ५.० म्याग्निच्युडको भूकम्प, पराकम्प जारी रहे पनि ठूलो क्षति टर्यो
मुख्य भूकम्पपछि दर्जनौं परकम्प महसुस गरिए पनि उडान सेवा र जनजीवनमा ठूलो असर परेन। रिफाइनरीमा देखिएको धुवाँ र आगोलाई कम्पनीले सामान्य सुरक्षा प्रणालीको हिस्सा भनेको छ।
Photo: Riccardo Tuninato/ Unsplash
अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार बिहान करिब ९:३० बजे म्यानहट्टन बिचको तटबाट करिब ६ माइल टाढा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
भूकम्पका कारण अग्ला भवनहरू हल्लिएका थिए भने गाडीका अलार्महरू बजेका थिए। कम्पनकै कारण लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको कम्तीमा एउटा विमानले आफ्नो अवतरण रद्द गर्नुपरेको थियो। विमानस्थलको टर्मिनल ७ का केही झ्यालका सिसाहरू फुटेको मेयर करेन बासका प्रवक्ताले पुष्टि गरेका छन्। यद्यपि, उडान सञ्चालन र यात्रु आवागमनमा भने कुनै असर नपरेको तथा हालसम्म मानवीय वा ठूलो भौतिक क्षतिको विवरण प्राप्त नभएको विमानस्थल प्रशासनले जनाएको छ।
लस एन्जलस अग्नि नियन्त्रण विभागकी प्रवक्ता लिन्डसे ल्यान्ट्जका अनुसार केही स्थानमा बिजुलीका तारहरू खसेको जानकारी आए पनि ठूलो क्षति भएको छैन। सुरुमा युएसजिएसले भूकम्पको तीव्रता ४.७ मापन गरे पनि पछि संशोधन गर्दै ५.० कायम गरेको थियो। मुख्य भूकम्पपछि सोही क्षेत्रमा दर्जनौं परकम्पहरू महसुस गरिएका छन्। बिहान करिब ११:४० बजे ४.५ म्याग्निच्युडको सबैभन्दा ठूलो परकम्प गएको थियो भने दिउँसो ३:३० बजेसम्म करिब ८० वटा साना परकम्प रेकर्ड भएका थिए।
भूकम्पपछि रेडोन्डो बिच नजिकै रहेको शेभरोनको एल सेगुन्डो प्रशोधन केन्द्रबाट धुवाँ र आगोको मुस्लो निस्किएको देखिएको थियो। कम्पनीका प्रवक्ता रस एलेनले प्रशोधन प्रक्रियामा अवरोध आउँदा अतिरिक्त पदार्थ जलाउने सुरक्षा प्रणाली सक्रिय भएकाले आगो देखिएको र यसबाट समुदायलाई कुनै जोखिम नरहेको स्पष्ट पारेका छन्। यसैगरी, परकम्पका क्रममा हर्मोसा बिच र म्यानहट्टन बिचका संरचनाबाट कंक्रिट उप्किएको र केही भाग बाङ्गिएको देखिएपछि दुवै स्थान अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएका छन्।
क्यालटेकस्थित विपद् उत्थानशीलता केन्द्रकी निर्देशक लुसी जोन्सले समय बित्दै जाँदा पराकम्पहरू कम हुँदै जाने बताएकी छिन्। धेरैले क्यालिफोर्नियाको सान एन्ड्रियास फल्टमा आउन सक्ने भनिएको ८.० म्याग्निच्युडको महाभूकम्पको आशंका गरे पनि डा. जोन्सले उक्त फल्ट करिब ४० देखि ५० माइल टाढा रहेकाले यो भूकम्पले त्यहाँ असर गर्ने सम्भावना नरहेको बताइन्। तर, म्यानहट्टन बिचबाट करिब तीन माइल पश्चिममा रहेको पालोस भर्डेस फल्टले भने ६.५ म्याग्निच्युडसम्मको भूकम्प निम्त्याउन सक्ने क्षमता राख्दछ। यद्यपि, हालको भूकम्पले त्यो स्तरको ठूलो भूकम्प निम्त्याउने सम्भावना एक हजारमा एकभन्दा पनि कम रहेको उनले उल्लेख गरेकी छिन्।





