न्यूयोर्क सहरका मेयर जोहरान माम्दानी खुट्टाको शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज
फुटबल खेल्ने क्रममा घाइते भएका न्यूयोर्कका मेयर जोहरान ममदानी शुक्रबार सफल शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भई ग्रेसि म्यान्सनमा आराम गरिरहेका छन्। मेयरको अनुपस्थितिमा सहरको दैनिक प्रशासनिक काम प्रथम उपमेयर डिन फुलेहानले सम्हालिरहेका छन्।
अमेरिकाको २५०औं वर्षगाँठमा जर्ज वासिङ्टनको डेस्कबाट सम्बोधन गर्दै न्यूयोर्कका मेयर जोहरान माम्दानी। तस्बिर: अन्ना कोनर्स/एपी/रासस
एक साताभन्दा अघि फुटबल खेल्ने क्रममा घाइते भएका न्यूयोर्क सहरका मेयर जोहरान माम्दानी खुट्टाको कुर्कुच्चाको नसाको सफल शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भएका छन्। शुक्रबार, नोभेम्बर २७ मा एक घण्टाभन्दा बढी समय लगाएर गरिएको शल्यक्रियापछि उनलाई घर पठाइएको हो।
मेयरका प्रेस सचिव जो काल्भेलोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शल्यक्रिया सफल भएको र मेयर पूर्ण रूपमा निको हुने अपेक्षा गरिएको बताएका छन्। हाल मेयर माम्दानी आफ्नो आधिकारिक निवास ‘ग्रेसि म्यान्सन’ मा आराम गरिरहेका छन्। विज्ञप्तिमा मेयरले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूको स्याहारप्रति अत्यन्त कृतज्ञता व्यक्त गरेको उल्लेख छ।
मेयर आराम गरिरहेकाले सहरको दैनिक प्रशासनिक कार्यभार प्रथम उपमेयर डिन फुलेहानले सम्हालिरहेका छन्। शल्यक्रियाका कारण मेयर माम्दानी शनिबार, नोभेम्बर २८ का लागि पुन: निर्धारित ‘मेसीज थ्याङ्क्सगिभिङ डे परेड’ मा सहभागी हुन सक्ने छैनन्।
फुटबलका कट्टर प्रशंसक माम्दानीले गत नोभेम्बर २० मा आयोजित एक पत्रकार सम्मेलनमा आफ्नो प्रिय खेल खेल्ने क्रममा कुर्कुच्चाको नसा च्यातिएको जानकारी दिएका थिए। कुख्यात ‘राइकर्स आइल्यान्ड’ कारागार परिसर बन्द गर्ने नयाँ योजना सार्वजनिक गर्न आयोजित उक्त कार्यक्रममा उनी वैशाखीको सहारामा सिटी हल पुगेका थिए।
मञ्चमा बोल्ने क्रममा ठट्यौली शैलीमा उनले भनेका थिए, “म पत्रकारहरूको टोलीसँगको मैत्रीपूर्ण खेलमा घाइते भएको हुँ, जुन खेल हामीले १०-५ गोल अन्तरले जित्यौं। मैदानमा पस्नेबित्तिकै मैले एक गोल त गरेँ, तर व्यायाम नगरी खेल्दा म ३५ वर्षको भइसकेको छु भन्ने कुरा बिर्सिएँ।” चिकित्सकका अनुसार यो चोटका कारण उनी कम्तीमा नौ महिनासम्म फुटबल मैदानबाट बाहिर रहनेछन्।
मेयर माम्दानीले आफूलाई सानैदेखिको फुटबल प्रेमीका रूपमा चिनाउँदै आएका छन्। बाल्यकालदेखि नै इंग्लिस प्रिमियर लिग क्लब ‘आर्सनल’ का समर्थक रहेका उनले सन् २०१० मा १८ वर्षको उमेरमा दक्षिण अफ्रिकामा आयोजित फिफा विश्वकपसमेत प्रत्यक्ष हेरेका थिए।





