२८ कार्तिक २०८३, शनिबार| Saturday, November 14, 2026
अमेरिका

अमेरिकाको इलिनोइमा बायोउर्जा प्लान्ट नजिकै शंकास्पद बम भेटिएपछि आसपासको क्षेत्र खाली गर्न आदेश

Photo: Scott Rodgerson/ Unsplash

अमेरिकाको इलिनोइ राज्यस्थित पियोरियाको एक औद्योगिक भवन नजिकै बम भेटिएपछि त्यसको १ माइल वरपरका सबै बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सारिएको छ।

पियोरिया प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब २ बजे ‘बायोउर्जा’ इथानोल प्लान्ट नजिकै एक शंकास्पद प्याकेज फेला परेको थियो। त्यसको केही घण्टापछि उक्त प्याकेज निकै जोखिमपूर्ण र “विश्वसनीय खतरा” रहेको पुष्टि भएको थियो।

प्रहरी प्रमुख ब्राड डिक्सनले शनिबार बिहान जानकारी दिँदै बायोउर्जा प्लान्टबाट १ माइलको सम्भावित विस्फोटक दायराभित्र रहेका बासिन्दाहरूलाई तत्काल ठाउँ खाली गर्न सूचना पठाइएको बताए। उनका अनुसार राति ९:१२ बजे उक्त शंकास्पद प्याकेजलाई निष्क्रिय पारिएको छ, तर त्यस आसपासको ठूलो क्षेत्रमा अन्य विस्फोटक पदार्थ हुन सक्ने आशंकामा खोजी कार्य जारी छ।

पत्रकार सम्मेलनमा डिक्सनले भने, “अहिले प्लान्ट परिसरमा भेटिएको प्याकेजलाई मात्र सुरक्षित पारिएको हो, सम्पूर्ण बायोउर्जा क्षेत्र अझै पूर्ण रूपमा सुरक्षित भइसकेको छैन। यो निकै ठूलो क्षेत्र भएकाले यहाँ विस्तृत खोजी गरिनेछ।”

एफबीआईका विशेष एजेन्ट रायन प्रेस्लीले पियोरिया प्रहरी, दमकल विभाग, काउन्टी शेरिफ कार्यालय, इलिनोइ सेक्रेटरी अफ स्टेटको कार्यालय र राज्य प्रहरीसँगको समन्वयमा आफ्नो टोली परिचालन गरिएको बताए। उनले घटनाको अनुसन्धान भइरहेको र दोषीलाई पहिचान गरी कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।

इलिनोइ राज्यका गभर्नर प्रित्जकरले सामाजिक सञ्जालमार्फत आफूले पियोरियाको बम धम्कीको अवस्थालाई नजिकबाट नियालिरहेको र राज्य प्रहरीलाई स्थानीय निकायसँग समन्वय गर्न निर्देशन दिएको बताएका छन्।

पियोरियाकी मेयर रीता अलीले उक्त प्लान्टमा इथानोल र अत्यधिक प्रज्वलनशील रसायनहरू भएकाले यो घटनाले निकै चिन्तित बनाएको बताएकी छिन्। सुरक्षा संवेदनशीलताकै कारण कन्ट्री म्युजिक गायक जोन पार्डीले सोही क्षेत्रमा तय भएको आफ्नो कन्सर्ट रद्द गरेका छन्।

पियोरिया प्रहरी विभागले फेसबुकमार्फत आश्रयको आवश्यकता परेका स्थानीयलाई नजिकैको ‘म्यानुअल एकेडेमी’ मा जान सुझाव दिएको छ। मध्य इलिनोइमा पर्ने पियोरिया सहर स्प्रिङफिल्डबाट करिब ७५ माइल उत्तर र सिकागोबाट १५० माइल दक्षिण-पश्चिममा अवस्थित छ। बायोउर्जा प्लान्ट सहरको दक्षिणी भागमा रहेको इलिनोइ नदीको किनारमा पर्दछ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →
लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →