विदेशी चालकको लाइसेन्स विवाद: न्युयोर्कको राजमार्ग बजेट रोक्न नपाउने अदालतको फैसला
तस्बिर : जुलिया लोरेन्जोन / अनस्प्लास
विदेशी चालकहरूलाई जारी गरिएका केही व्यावसायिक सवारी चालक अनुमतिपत्र खारेज गर्न न्युयोर्क राज्यले अस्वीकार गरेपछि गत अप्रिलमा ट्रम्प प्रशासनले रोकेको ७ करोड ३५ लाख अमेरिकी डलर बराबरको राजमार्ग बजेटका विषयमा संघीय पुनरावेदन अदालतले शुक्रबार महत्त्वपूर्ण फैसला सुनाएको छ। अदालतले प्रशासनको उक्त कदम कानुनी अधिकारक्षेत्रभन्दा बाहिर रहेको ठहर गरेको हो।
अमेरिकी यातायात मन्त्रालयले न्युयोर्क राज्यले विदेशी चालकहरूलाई नियमित रूपमा गैरकानुनी ढंगले व्यावसायिक लाइसेन्स वितरण गरिरहेको भन्ने एक लेखापरीक्षण प्रतिवेदनलाई आधार मान्दै उक्त बजेट रोक्का गरेको थियो।
यद्यपि, अमेरिकी पुनरावेदन अदालतको दोस्रो सर्किटले यातायात मन्त्रालयको उक्त निर्णय आफ्नो कानुनी अधिकारभन्दा बाहिर गएको स्पष्ट पारेको छ। अदालतले आफ्नो फैसलामा मन्त्रालयको निर्णयले ‘उचित सूचनाको सिद्धान्त’ उल्लङ्घन गरेको, नियामक कानुनी पाठबाट विचलित भएको र कथित कमन सेन्स सम्बन्धी मापदण्डको जटिलतालाई कम आँकलन गरेको उल्लेख गरेको छ।
यस फैसलाबारे यातायात मन्त्री सिन डफी र न्युयोर्ककी गभर्नर क्याथी होचुलका प्रवक्ताहरूले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।
संघीय सरकारको मागबमोजिम निश्चित व्यावसायिक लाइसेन्सहरू खारेज गर्न अस्वीकार गरेपछि यातायात मन्त्रलयलेले बजेट रोकेलगत्तै न्युयोर्क राज्यले यसविरुद्ध मुद्दा दायर गरेको थियो। बजेट कटौतीले न्युयोर्कका बासिन्दाहरूलाई जोखिममा पार्ने राज्यले बताउँदै आएको थियो। साथै, मन्त्रलयले वार्षिक थप १४ करोड ७० लाख डलर बजेटसमेत रोक्ने चेतावनी दिएको थियो।
न्युयोर्क राज्यले ती लाइसेन्सहरू खारेज गरिएमा व्यावसायिक चालकहरूमा निर्भर रहेका प्रमुख उद्योगहरू प्रभावित हुने र विद्यालय तथा परिवारहरूलाई प्रत्यक्ष असर पार्ने गरी बस चालकहरूको चरम अभाव सिर्जना हुने तर्क प्रस्तुत गरेको थियो।





