नरेश भट्टको अमेरिकी नागरिकता खारेज हुन सक्छ? अमेरिकी अध्यागमन वकिल के भन्छन्?
जन्मस्थान नेपाल र भारत उल्लेख गरेको विवरणमा विरोधाभास; अध्यागमन कानुन व्यवसायीका अनुसार डिभी वा रोजगारीमा आधारित ग्रीनकार्ड लिँदा गलत विवरण दिएको पुष्टि भए नागरिकता खारेजी सम्भव
पत्नी ममता काफ्ले भट्टको हत्यामा दोषी ठहरिएका नरेश भट्टको अमेरिकी नागरिकता खारेज हुन सक्छ कि सक्दैन भन्ने प्रश्न नेपाली समुदायमा चर्चामा छ। नागरिकता प्राप्त गर्दा जन्मस्थान नेपाल उल्लेख गरेका भट्टले हत्यासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा आफू भारतको नयाँ दिल्लीमा जन्मिएको बताएका थिए। तर जन्मस्थानबारेको यो विरोधाभासले मात्रै नागरिकता खारेज गर्न पर्याप्त हुन्छ कि हुँदैन भन्ने कुरा उनले स्थायी बसोबास अर्थात् ग्रीनकार्ड कुन आधारमा प्राप्त गरेका थिए भन्नेमा निर्भर हुने अध्यागमन कानुन व्यवसायीको भनाइ छ।
भट्टले नोभेम्बर ४, २०२६ मा अदालतमा साक्षीका रूपमा बयान दिँदै आफू नयाँ दिल्लीमा जन्मिएको बताएका थिए। जन्मिएको करिब दुईदेखि अढाई वर्षसम्म परिवारसँग भारतमै बसेपछि नेपाल फर्किएको उनको भनाइ थियो।
मुद्दाको सुनुवाइका क्रममा अभियोजन पक्षले अमेरिकी नागरिकता आवेदनमा उनले जन्मस्थान नेपाल उल्लेख गरेको विषय उठाएको थियो। त्यसको जवाफमा भट्टले आफूले झुटो विवरण नदिएको दाबी गर्दै यसलाई ‘संस्कृति’सँग जोडेर व्याख्या गरेका थिए।
नागरिकता खारेजीका लागि छुट्टै मुद्दा आवश्यक
भट्टलाई हत्यामा दोषी ठहर गरिँदैमा उनको अमेरिकी नागरिकता स्वतः खारेज हुँदैन। अंगीकृत नागरिकले नागरिकता प्राप्त गरेपछि गरेको अपराधका कारण मात्रै नागरिकता गुमाउनुपर्ने अवस्था नआउने अध्यागमन कानुन व्यवसायी केशव राज सेढाई बताउँछन्।
उनका अनुसार नागरिकता खारेजीका लागि अमेरिकी न्याय मन्त्रालयले छुट्टै कानुनी प्रक्रिया अघि बढाउनुपर्छ।
संघीय कानुन ८ यूएससी § १४५१ अनुसार न्याय मन्त्रालयले संघीय जिल्ला अदालतमा देवानी मुद्दा दायर गरी नागरिकता खारेजीको माग गर्न सक्छ। यसका मुख्य दुई आधार छन्—नागरिकता कानुनविपरीत प्राप्त गरिएको हुनु वा महत्त्वपूर्ण तथ्य लुकाएर अथवा जानाजान झुटो विवरण दिएर नागरिकता प्राप्त गरिएको हुनु।
सरकारले नागरिकता खारेजीको आधार स्पष्ट, निर्विवाद र विश्वसनीय प्रमाणबाट पुष्टि गर्नुपर्ने सेढाईको भनाइ छ। यस्तो देवानी मुद्दा दायर गर्न हदम्याद नरहेको भए पनि नागरिकता ठगीसम्बन्धी छुट्टै फौजदारी अभियोगमा भने १० वर्षको हदम्याद लागू हुन्छ।
सेढाईका अनुसार आवेदनमा दिइएको हरेक गलत विवरण नागरिकता खारेजीको आधार बन्दैन। गलत विवरण सारभूत हुनुपर्छ, अर्थात् त्यसले ग्रीनकार्ड वा नागरिकता प्राप्त गर्ने निर्णयमा प्रभाव पारेको वा पार्न सक्ने हुनुपर्छ।
ग्रीनकार्ड कुन आधारमा पाए भन्ने प्रश्न महत्त्वपूर्ण
भट्टको नागरिकता अभिलेखमा जन्मस्थान नेपाल उल्लेख भएको तर अदालतमा भारतको नयाँ दिल्लीमा जन्मिएको बताएको विवरण सार्वजनिक भएको छ। तर यो विरोधाभास मात्रैका आधारमा नागरिकता खारेज हुने निष्कर्ष निकाल्न नमिल्ने सेढाई बताउँछन्।
उनका अनुसार सरकारले पहिले उनको वास्तविक जन्मस्थान कागजातबाट प्रमाणित गर्नुपर्छ। त्यसपछि जन्मस्थानसम्बन्धी गलत विवरणले ग्रीनकार्ड प्राप्त गर्ने योग्यतामा प्रभाव पारेको थियो कि थिएन भन्ने देखाउनुपर्छ।
यसको महत्त्व बुझ्न अमेरिकी आप्रवासी भिसाको कोटा निर्धारण गर्ने व्यवस्थालाई ध्यान दिनुपर्ने उनको भनाइ छ। अमेरिकामा धेरैजसो आप्रवासी भिसाको देशगत कोटा नागरिकताको आधारमा नभई जन्मस्थानका आधारमा निर्धारण हुन्छ। त्यसैले भारतमा जन्मिएका नेपाली नागरिक सामान्यतया भारतकै भिसा कोटामा गणना हुन्छन्।
सेढाईले भट्टको सम्भावित ग्रीनकार्ड प्राप्तिको आधारअनुसार नागरिकता खारेजीको कानुनी अवस्था फरक हुन सक्ने बताएका छन्।
नेपालमा जन्मिएका व्यक्ति डाइभर्सिटी भिसाका लागि योग्य हुन सक्छन्, तर भारतमा जन्मिएका व्यक्ति सामान्यतया यस कार्यक्रमका लागि योग्य हुँदैनन्। भट्टले नेपालमा जन्मिएको विवरण दिएर डाइभर्सिटी भिसा प्राप्त गरेको तर वास्तवमा भारतमा जन्मिएको प्रमाणित भएमा उनी ग्रीनकार्ड प्राप्त गर्न नै अयोग्य रहेको देखिन सक्छ। सेढाईका अनुसार यस्तो अवस्था सरकारका लागि नागरिकता खारेजीको सबैभन्दा बलियो आधार बन्न सक्छ।
अमेरिकी सेनामा सेवा गरेका केही व्यक्तिले विशेष कानुनी प्रावधानअन्तर्गत नागरिकता प्राप्त गर्न सक्छन्। यस्तो अवस्थामा जन्मस्थान सामान्यतया कम निर्णायक हुन सक्छ। तर नागरिकता आवेदनमा जानाजान झुटो विवरण दिइएको भए त्यसको छानबिन हुन सक्ने सेढाईको भनाइ छ।
डिभीको आधारमा ग्रीनकार्ड पाएको भए जोखिम बढी
भट्ट सन् २०१७ मा डाइभर्सिटी भिसा कार्यक्रमअन्तर्गत अमेरिका आएका थिए। त्यसपछि जुन २०१७ मा अमेरिकी सेनाको रिजर्भमा भर्ती भएका उनले अक्टोबर २०१७ मा सैन्य सेवाका आधारमा अमेरिकी नागरिकता प्राप्त गरेका थिए। उनी अमेरिकी सेनाको रिजर्भमा स्वचालित सैन्य सामग्री व्यवस्थापन विशेषज्ञका रूपमा कार्यरत थिए।
उनको अमेरिका प्रवेश र नागरिकता प्राप्तिको सार्वजनिक विवरणले डिभी कार्यक्रमबाट अमेरिका आएको देखाए पनि उनले ग्रीनकार्ड प्राप्त गर्दाको पूर्ण आप्रवासन अभिलेख सार्वजनिक रूपमा उपलब्ध छैन।
त्यसैले डिभीबाट ग्रीनकार्ड प्राप्त गर्दा जन्मस्थान नेपाल उल्लेख गरिएको थियो कि थिएन र वास्तविक जन्मस्थान भारत भएको प्रमाणित भए त्यसले उनको योग्यतामा प्रभाव पार्थ्यो कि पार्दैन भन्ने विषय महत्त्वपूर्ण हुनेछ।
सेढाईका अनुसार यदि भट्टले भारतमा जन्मिएको तथ्य लुकाएर नेपालको डिभी योग्यताको लाभ लिएका थिए भने उनको ग्रीनकार्ड नै कानुनबमोजिम प्राप्त नभएको ठहर हुन सक्छ। त्यस्तो अवस्थामा त्यसैको आधारमा प्राप्त नागरिकता पनि गैरकानुनी रूपमा प्राप्त भएको भन्दै खारेजीको मुद्दा अघि बढ्न सक्छ।
यस्तो अवस्थामा नागरिकता र स्थायी बसोबास दुवै गुमाउने जोखिम हुन सक्छ। नागरिकता खारेज भएपछि हत्याको सजाय भुक्तान गरेपश्चात् उनीविरुद्ध निष्कासनको प्रक्रिया अघि बढ्न सक्ने सेढाईको भनाइ छ।
न्याय मन्त्रालयले मात्रै मुद्दा अघि बढाउन सक्छ
नागरिकता खारेजीको प्रक्रिया सामान्य प्रशासनिक निर्णय होइन। सेढाईका अनुसार यस्तो मुद्दा अमेरिकी न्याय मन्त्रालयले मात्रै दायर गर्न सक्छ र नागरिकता खारेज गर्ने आदेश संघीय न्यायाधीशले मात्रै दिन सक्छन्।
भट्ट वास्तवमै नेपालमा जन्मिएका हुन सक्ने वा सार्वजनिक अभिलेखमा नदेखिएको अन्य कुनै कानुनी आधारमा ग्रीनकार्ड प्राप्त गर्न योग्य भएका हुन सक्ने सम्भावनालाई पनि नकार्न नसकिने उनले बताएका छन्।
अहिलेसम्म अमेरिकी न्याय मन्त्रालय वा अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले भट्टको जन्मस्थानसम्बन्धी विवरणलाई आधार बनाएर नागरिकता खारेजी प्रक्रिया अघि बढाएको कुनै सार्वजनिक जानकारी छैन।
भट्टलाई नोभेम्बर १०, २०२६ मा पत्नी ममता काफ्ले भट्टको पहिलो तहको हत्या, शव लुकाएको र शवप्रति अनादरपूर्ण व्यवहार गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। उनको सजाय निर्धारण मार्च १२, २०२७ मा हुने तय भएको छ। ममताको शव भने अहिलेसम्म फेला परेको छैन।
(अधिवक्ता केशव राज सेढाईले उपलब्ध गराएको यो टिप्पणी सामान्य कानुनी जानकारीमा आधारित छ। यो भट्टको व्यक्तिगत आप्रवासन फाइलको समीक्षा गरेर तयार गरिएको कानुनी राय होइन।)





