न्युयोर्कमा आवासीय भवन भत्किँदा ८ को मृत्यु, १७ घाइते : मेयर ममदानीद्वारा गहिरो दुःख व्यक्त
अमेरिकाको न्युयोर्क सहरस्थित ब्रुकलिनको फ्ल्याटबुस क्षेत्रमा एक निर्माणाधीन स्थलको छेउमा रहेको तीन तले आवासीय भवन भत्किँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बुधबार अपराह्न करिब ४ बजे भएको उक्त दुर्घटनामा परी कम्तीमा १७ जना घाइते भएको न्युयोर्कका अधिकारीहरूले जनाएका छन् ।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । पीडितहरूमा कम्तीमा ७ जना बालबालिका रहे पनि मृतकमध्ये बालबालिका परे वा नपरेको बारे स्पष्ट भइसकेको छैन । बिहीबार बिहान उज्यालो भएलगत्तै उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएका जीवित व्यक्तिहरूको खोजी कार्यलाई तीव्रता दिएका छन् ।
न्युयोर्क सहरका मेयर जोहरान ममदानीले बिहीबार बिहान सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यस दुःखद घटनाले आफू मर्माहत भएको बताएका छन् ।अहिलेसम्म ८ जना न्युयोर्कवासीले ज्यान गुमाएका छन् भने तीन अग्निनियन्त्रकसहित कम्तीमा १७ जना घाइते भएका छन्,” उनले लेखेका छन्, “यति ठुलो क्षतिको वर्णन गर्ने कुनै शब्द छैन । म मृतकका परिवारजन, घाइतेहरू र शोकमा रहेका सबैप्रति समवेदना व्यक्त गर्दछु ।
मेयर ममदानीले फ्ल्याटबुस एभिन्युस्थित दुर्घटनास्थलबाट टाढै रहन सर्वसाधारणलाई आग्रह गरेका छन् । उनका अनुसार न्युयोर्क सहरको अग्नि नियन्त्रण विभागका करिब २५० उद्धारकर्मीहरू अत्यन्तै जोखिमपूर्ण अवस्थाका बाबजुद भग्नावशेषमा फसेकाहरूको खोजीमा खटिएका छन् ।
बिहीबार बिहानै भग्नावशेषका ठुला भागहरू हटाउन एक्स्काभेटर ल्याइएको छ भने उद्धार कार्यमा ड्रोन र तालिमप्राप्त कुकुरहरूको समेत प्रयोग गरिएको छ । बुधबार राति खिचिएको भिडियोमा उद्धारकर्मीहरूले स्ट्रेचरमा राखेर घाइतेहरूलाई बाहिर निकालिरहेको देखिन्छ । बुधबार साँझ करिब ६:३० बजे भग्नावशेषमा प्वाल पारेर धुलोले ढाकिएका एक व्यक्तिलाई जीवितै उद्धार गरिएको थियो ।
स्थानीय टेलिभिजनका अनुसार उद्धार गरिएकामध्ये एक ६ महिनाकी गर्भवती महिला पनि रहेकी छिन्, जसलाई उनका श्रीमानले अपराह्नदेखि खोजिरहेका थिए । पत्नीको सकुशल उद्धारपछि उनले भने, उनी जीवितै छिन्, म धेरै खुसी छु ।
उद्धार कार्य हेर्न घटनास्थलमा जम्मा भएका दर्जनौँ प्रत्यक्षदर्शीहरू भावुक बनेका थिए । एफडीएनवाईकी आयुक्त लिलियन बोन्सिग्नोरले बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा भनिन, हाम्रो काम अझै सकिएको छैन र यो अझै लामो समयसम्म चल्नेछ ।
बिहीबार दिउँसोदेखि अपराह्नसम्म भारी वर्षा, मेघगर्जन र हावाहुरी चल्ने मौसम पूर्वानुमान गरिएकाले उद्धार कार्यमा थप चुनौती र हतारो देखिएको छ । भवन भत्किएर घरबारविहीन बनेका कैयौँ व्यक्तिहरूले घटनास्थलको ठीक अगाडि रहेको ‘बेथेस्डा चर्च अफ गड इन क्राइस्ट’ मा आश्रय लिएका छन् ।
भत्किएको उक्त भवन अर्को एक तले घर भत्काएर खनिएको निर्माणाधीन खाल्डोको ठीक छेउमा रहेको थियो । भवन भत्किँदा त्यसका इँटा र काठहरूले निर्माणाधीन खाल्डो भरिएको छ । भत्किएको भवनसँग भित्ता जोडिएको अर्को घर भने ठाडै रहे पनि त्यसको एउटा भित्ता भत्किएर भित्रका कोठा, शयनकक्ष र कपडा राखिएका दराजहरू बाहिरैबाट छर्लङ्ग देखिएका छन् ।
न्युयोर्क सहरको भवन विभागका अनुसन्धानकर्ताहरू घटनास्थलमा पुगेर भवन भत्किनुको कारणबारे छानबिन सुरु गरेका छन् ।भवन विभागले गत मे महिनामा सँगैको निर्माणाधीन परियोजनामा काम रोक्ने आदेश हुँदाहुँदै काम गरेको, छिमेकी घरहरूको सुरक्षाका लागि उचित व्यवस्था नगरेको र स्वीकृत नक्साअनुसार काम नगरेको जस्ता थुप्रै त्रुटिहरू फेला पारेको थियो ।
त्यस्तै, सहरको आवास, संरक्षण तथा विकास विभागको अभिलेखअनुसार सन् १९७२ यता भत्किएको उक्त भवनमा करिब १०० वटा नियम उल्लङ्घनका घटना दर्ता भएका थिए । सम्पत्ति अभिलेखअनुसार उक्त तीन तले भवनमा चारवटा आवासीय र एउटा व्यावसायिक एकाइ रहेको थियो ।





