२६ कार्तिक २०८३, बिहिबार| Thursday, November 12, 2026
अमेरिका

बाइडेनलाई ट्रम्पले छोडेको पत्र सार्वजनिक: “तिमीले इतिहास बदल्नेछौ, मलाई पूर्ण विश्वास छ”

जो बाइडेन र डोनाल्ड ट्रम्प । तस्बिर: गेज स्किडमोर (बाइडेन) / शिला क्रेगहेड, ह्वाइट हाउस (ट्रम्प) / संयोजन: क्रासोटकिन (विकिमिडिया कमन्स, CC BY-SA 2.0)

सन् २०२१ मा ह्वाइट हाउस छोड्नुअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उत्तराधिकारी जो बाइडेनका लागि ओभल अफिसमा छोडेको बहुचर्चित पत्र अन्ततः सार्वजनिक भएको छ। द न्युयोर्क टाइम्सले प्राप्त गरेको बाइडेनको आगामी पुस्तक ‘प्रमिस मी, अमेरिका’ को अंशअनुसार उक्त पत्रमा ट्रम्पले बाइडेनको प्रशंसा गर्दै शुभकामना दिएका छन्।

सत्ता सम्हालेको पहिलो हप्तामै बाइडेनले ट्रम्पले आफ्ना लागि “निकै उदार पत्र” छोडेको बताए पनि वर्षौंसम्म त्यसको व्यहोरा गोप्य राखेका थिए। आगामी मंगलबार विमोचन हुन लागेको पुस्तकमा बाइडेनले जनवरी २०, २०२१ को मिति उल्लेखित उक्त पत्रको पूर्ण पाठ समावेश गरेका छन्।

सन् २०२० को चुनावी अभियानभर ट्रम्पले बाइडेनमाथि कडा प्रहार गरेका थिए। उनले बाइडेनलाई अमेरिकी इतिहासकै खराब उम्मेदवारको संज्ञा दिँदै चुनावमा धाँधली भएको दाबी गरेका थिए र बाइडेनको शपथ ग्रहण समारोहसमेत बहिष्कार गरेका थिए। तर, निजी पत्रमा भने ट्रम्पको भाषा बिल्कुलै फरक र आत्मीय देखिन्छ।

पत्रमा ट्रम्पले लेखेका छन्, “धेरै राष्ट्रपतिहरू आए र गए, जसले केवल रिपब्लिकन वा डेमोक्र्याटको रूपमा शासन गरे। तिनीहरूले इतिहास बदल्न सकेनन्, बरु समयको वेगसँगै बगे। तर तिमीसँग त्यस्तो हुने छैन, किनकि तिमी अमेरिकी जनतालाई कति माया गर्छौ भन्ने मलाई थाहा छ।”

सोमबार द एटलान्टिक पत्रिकामा प्रकाशित पुस्तकको अर्को अंशमा बाइडेनले सन् २०२४ को चुनावमा ट्रम्प विजयी भएपछिको परम्परागत भेटघाटको प्रसङ्ग पनि कोट्याएका छन्। बाइडेनका अनुसार उक्त भेटमा पनि ट्रम्पले निकै मित्रवत् व्यवहार गर्दै भनेका थिए, “तिमीलाई थाहा छ जो, यदि राजनीति नहुँदो हो त हामी निकै मिल्ने साथी हुने थियौं।”

ह्वाइट हाउस छोडेपछि हड्डीसम्म फैलिएको प्रोस्टेट क्यान्सरसँग जुधिरहेका बाइडेनले उपचारका कारण पुस्तक प्रवर्द्धनका कार्यक्रमहरूमा सीमित उपस्थिति मात्र जनाउन सक्ने बताएका छन्।

ट्रम्पले बाइडेनलाई लेखेको पत्रको पूर्ण अनुवाद:

प्रिय जो,

ओभल अफिसमा हरेक दिन काम गर्न आउनु कल्पनाभन्दा बाहिरको वरदान हो। यस जादुई स्थानको हरेक भित्ता, हरेक मूर्ति, हरेक सुन्दर पेन्टिङ र हरेक कुनाबाट इतिहास गुञ्जिरहेको छ। यहाँको हरेक भऱ्याङ, करिडोर र ढोकाले अर्को ढोका र सम्झनातर्फ लैजान्छ, जुन अमेरिकाको गौरवशाली कथाको एक महत्वपूर्ण मोड हो।

म आशा गर्छु कि तिमीले हरेक दिन एक क्षण निकालेर आफू कहाँ छु र तिमीभन्दा अगाडि को-को आए—जसले मानव इतिहासको दिशा बदल्ने महान कार्य गरे—भन्ने कुराको मनन गर्नेछौ। अब तिमीसँग इतिहासमा आफ्नो स्थान बनाउने अवसर छ, र मलाई विश्वास छ कि तिमी आफू र अमेरिकी जनताप्रति इमानदार रहनेछौ।

धेरै राष्ट्रपतिहरू आए र गए, जसले केवल रिपब्लिकन वा डेमोक्र्याटको रूपमा शासन गरे। तिनीहरूले इतिहास बदल्न सकेनन्, बरु समयको निरन्तर वेगसँगै बगे। तर तिमीसँग त्यस्तो हुने छैन, किनकि तिमी अमेरिकी जनतालाई कति माया गर्छौ भन्ने मलाई थाहा छ।

तिमी विगतसँग मात्र जोडिएका छैनौ, बरु सम्पूर्ण राष्ट्रको आशा र सपनाको भारी तिम्रो काँधमा छ। त्यो गम्भीरताले तिमीलाई कहिल्यै छोड्ने छैन, यही नै तिम्रो हरेक निर्णयको आधार बन्नेछ।

तिम्रो शक्ति र ऊर्जाको सबैभन्दा ठूलो स्रोत भनेको करोडौं मानिसहरू तिमीमाथि निर्भर छन् भन्ने ज्ञानबाट आउनेछ। तिनीहरूको महत्वाकांक्षा र आकांक्षा नै तिमी यहाँ हुनुको कारण हो, जहाँ धेरैले तिम्रो सफलताको प्रतीक्षा गरिरहेका छन्।

भगवानले तिमी र जिलको कल्याण गरून्, र भगवानले अमेरिकाको कल्याण गरून्!

भवदीय,

डोनाल्ड

लेखक सुसान श्रेष्ठ

सुसान श्रेष्ठ युरोपमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार हुन्। उनले स्थानीय विषयदेखि संयुक्त राष्ट्रसंघ, युरोप मामिला, अन्तर्राष्ट्रिय मामिलासम्मका विविध विषयमा रिपोर्टिङ गर्दै आएका छन्। यसअघि उनले नेपालमा रहँदा खसोखासका लागि संवाददाताका रूपमा काम गरेका थिए।

यस लेखकका थप समाचार →