कङ्ग्रेसमा बहुमतसँगै ट्रम्पको कडा आप्रवासन नीतिविरुद्ध उत्रिने डेमोक्र्याटहरूको तयारी
तस्वीर : आइस
आगामी वर्ष अमेरिकी कङ्ग्रेसको दुवै सदनमा नियन्त्रण कायम गरेसँगै डेमोक्र्याटिक सांसदहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिविरुद्ध अभियान छेड्ने तयारी गरेका छन् । कानुनी हैसियत प्राप्त गर्ने बाटो फराकिलो बनाउने र आइसको कार्यशैलीलाई लक्षित गर्ने डेमोक्र्याटहरूको योजना छ । यद्यपि, राष्ट्रपति ट्रम्पको भिटो शक्तिका कारण उनीहरूको प्रयासमा सीमा भने रहनेछ ।
गत साता सम्पन्न मध्यावधि निर्वाचनमा ट्रम्पको आक्रामक पक्राउ तथा देश निकाला अभियानप्रतिको मतदाता असन्तुष्टिका कारण डेमोक्र्याटिक पार्टीले कङ्ग्रेसका दुवै सदनमा सहज बहुमत प्राप्त गरेको हो । तर, दुवै दलका सांसदहरूले उक्त अभियानका मुख्य योजनाकार तथा ट्रम्पका नयाँ चिफ अफ स्टाफ स्टेफन मिलरले आप्रवासन नीतिलाई निरन्तरता दिने अपेक्षा गरेका छन् ।
तल्लो सदन र माथिल्लो सदनका कर्मचारीहरूले बताएअनुसार आप्रवासन कारबाहीलाई सीमित गर्ने वा कानुनी बसोबास र नागरिकताको बाटो फराकिलो बनाउने कुनै पनि विधेयकमा राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्ने निश्चितजस्तै छ ।
रोयटर्स/इप्सोसको मतसर्वेक्षणअनुसार राष्ट्रपतिको कार्यकाल सुरु हुँदा आप्रवासनका विषयमा ट्रम्पको समर्थन ५० प्रतिशत रहेकोमा हाल घटेर ३८ प्रतिशतमा झरेको छ । सन् २०२४ को निर्वाचनमा रिपब्लिकनतर्फ ढल्किएका ल्याटिनो मतदाताहरू यसपटकको मध्यावधि निर्वाचनमा पुनः डेमोक्र्याटिक पार्टीतर्फ फर्किएका छन् ।
गत शुक्रबार सीबीएसको ‘६० मिनेट्स’ कार्यक्रममा दिएको अन्तर्वार्तामा ट्रम्पले आफ्नो देश निकाला रणनीति ‘अलि बढी कडा’ भएको हुनसक्ने स्वीकारेका थिए । तर, सोमबार पत्रकारहरूले यसबारे सोध्दा उनले आफ्नो नीतिमा कुनै परिवर्तन नआएको प्रतिक्रिया दिए ।
कानुन निर्माणमा भिटोको अवरोध रहे पनि संसदीय निगरानीमा डेमोक्र्याटहरूलाई बढी स्वतन्त्रता हुनेछ । कर्मचारीहरूका अनुसार डेमोक्र्याटहरूले आइसको मातृ निकाय ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’माथि छानबिन गर्न लक्ष्यहरूको सूची तयार पारिसकेका छन् । जसमा हिरासत केन्द्रको अवस्था, संघीय एजेन्टहरूद्वारा गरिएको घातक बल प्रयोग र सन् २०२५ मा भेनेजुएलाका नागरिकहरूलाई एल साल्भाडोरको विशाल कारागारमा पठाइएको घटना समावेश छन् ।
हाउस होमल्याण्ड सेक्युरिटी कमिटीका भावी अध्यक्ष एवं मिसिसिपीका डेमोक्र्याटिक सांसद बेनी थम्पसनले एक विज्ञप्तिमार्फत भनेका छन्, “हामी प्रशासनले अमेरिकी नागरिकविरुद्ध डीएचएसको दुरुपयोग गरेको र नियन्त्रणबाहिर गएको आप्रवासन नीतिको छानबिन गर्नेछौँ ।”
नाम नबताउने सर्तमा कर्मचारीहरूले जनाएअनुसार डेमोक्र्याटिक पार्टीले गत वर्षयता कङ्ग्रेसले डीएचएसलाई विनियोजन गरेको १०० अर्ब डलरभन्दा बढी बजेट कसरी खर्च भइरहेको छ भन्ने विषयमा पनि पारदर्शिताको माग गर्ने योजना बनाएको छ ।
बुधबार अमेरिकी क्यापिटलमा दक्षिण-पश्चिमी सीमावर्ती राज्यका नवनिर्वाचित तथा वर्तमान सांसदहरूसँगको पत्रकार सम्मेलनमा टेक्सासका मध्यमार्गी डेमोक्र्याटिक सांसद हेनरी क्वेलारले आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई मात्र देश निकाला गर्नमा केन्द्रित हुने विषयमा ट्रम्प प्रशासनका अधिकारीहरूसँग संवाद भइसकेको बताए । डेमोक्र्याटलाई मत दिने रूढीवादी मतदाताहरूलाई संकेत गर्दै उनले भने, “हामी अतिवादी बन्ने छैनौँ ।”
यस समाचारबारे प्रतिक्रिया माग्दा ह्वाइट हाउसकी प्रवक्ता टेलर रोजर्सले भनिन्, यदि अमेरिकी जनताले अतिवादी र अमेरिकाविरोधी आप्रवासन एजेन्डा चाहन्छन् भन्ने डेमोक्र्याटहरूलाई लाग्छ भने उनीहरूले मतदाताको मनोभावनालाई पूर्ण रूपमा गलत बुझिरहेका छन् । यस्तै, डीएचएसले पनि अमेरिकी नागरिकविरुद्ध निकायको दुरुपयोग गरिएको भन्ने दाबी झुटो भएको बताएको छ ।
सन् २०२१ देखि २०२५ सम्म राष्ट्रपति रहेका डेमोक्र्याट जो बाइडेनले सुरुमा ट्रम्पको पहिलो कार्यकालका कडा आप्रवासन नीतिहरू उल्ट्याए पनि कार्यकालको उत्तरार्धमा सीमा सुरक्षामा कडाइ अपनाएका थिए । मध्य-वामपन्थी थिङ्क ट्याङ्क ‘थर्ड वे’ की सामाजिक नीति निर्देशक सारा पियर्सका अनुसार डेमोक्र्याटिक पार्टी आफ्नो आप्रवासन एजेन्डाका सन्दर्भमा अहिले नितान्त नयाँ परिस्थितिमा छ । उनले भनिन्, उनीहरू बाइडेन प्रशासनको नीतिबाट स्पष्ट रूपमा बाहिर निस्किएका छन्, तर आप्रवासन कस्तो हुनुपर्छ भन्ने विषयमा अझै स्पष्ट र अग्रगामी दृष्टिकोण प्रस्तुत गर्न सकेका छैनन् ।





