नेपालको खुम्बु क्षेत्रमा हेलिकप्टर दुर्घटना: एक जनाको मृत्यु,एक न्युजिल्यान्डका नागरिक सहित तीन घाइते
प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरुचे क्षेत्रमा मंगलबार बिहान दुईवटा हेलिकप्टर अवतरणका क्रममा एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुई पाइलट र एक न्युजिल्यान्डका नागरिक गरी तीन जना घाइते भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मंगलबार नेपाली समयअनुसार बिहान ८:१२ बजे एयर डाइनेस्टीको ९एन-एओडीर फिस्टेल एयरको ९एन-एजेआर कलसाइन भएका हेलिकप्टरहरू अवतरण गर्ने क्रममा आपसमा ठोक्किएर सो दुर्घटना भएको हो।
यस दुखद दुर्घटनामा परी फिस्टेल एयरको हेलिकप्टरमा सवार भारतको तमिलनाडु राज्यस्थित चेन्नईका ४७ वर्षीय वसन्तकुमार बलारामाडुको निधन भएको छ। मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोककुल परिवारजनमा समवेदना प्रकट गरेको छ। मृतकको शव व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरी र मन्त्रालयले जनाएका छन्।
दुर्घटनामा परी दुवै हेलिकप्टरका पाइलटसहित तीन जना गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति, डाइनेस्टी एयरका पाइलट प्रज्ज्वल केसी र न्युजिल्यान्डका ४९ वर्षीय नागरिक (शैलेश) किसन पटेल रहेका छन्।
घाइते तीनै जनाको हाल ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसार उपचाररत सबै घाइतेहरूको स्वास्थ्य अवस्था हाल स्थिर र खतरामुक्त रहेको छ।
पर्यटन मन्त्रालयले दुर्घटनाको कारण र परिस्थितिबारे अनुसन्धान प्रक्रिया प्रारम्भ भइसकेको जानकारी दिएको छ। अनुसन्धानबाट प्राप्त हुने निष्कर्षका आधारमा आवश्यक सुधारात्मक र निरोधात्मक उपायहरू अवलम्बन गरिने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
साथै, नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै सुरक्षित, भरपर्दो र विश्वसनीय हवाई सेवा सुनिश्चित गर्न सरकारले नीतिगत, संस्थागत तथा पूर्वाधार विकासका क्षेत्रमा निरन्तर प्रयास गरिरहेको मन्त्रालयले जनाएको छ।





