ठेगानासम्बन्धी गल्तीका कारण पक्राउ परेका क्यानेडियन दन्तचिकित्सकलाई रिहा गर्न आइसलाई अदालतको निर्देशन
प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार
Photo by Tingey Injury Law Firm
अमेरिकी संघीय अदालतले आप्रवासन निकायलाई गैरकानुनी रूपमा नियन्त्रणमा लिइएका क्यानेडियन दन्तचिकित्सक तथा एक सन्तानका पितालाई तत्काल रिहा गर्न कडा आदेश दिएको छ। सरकारी अभिलेखमा पुरानो भइसकेको ठेगानामा आप्रवासन सुनुवाइको सूचना पठाइएका कारण उनलाई नियन्त्रणमा लिइएको थियो।
यु.एस. डिस्ट्रिक्ट जज माइकल जे. डेभिसले ३२ वर्षीय डाक्टर विलियम भर्जिल लिजार्डोको गिरफ्तारी र हिरासत चतुर्थ तथा पाँचौँ संविधान संशोधनको उल्लंघन भएको ठहर गरेका छन्। न्यायाधीशले लिजार्डोको व्यक्तिगत स्वतन्त्रता अनुचित तरिकाले खोसिएको स्पष्ट जोखिम देखिएको बताएका छन्।
युएससीआईएसले ठूलो गल्ती स्वीकार गरे पनि कुनै राहत नदिनु निकै निराशाजनक छ,न्यायाधीश डेभिसले आफ्नो आदेशमा लेखेका छन्। उनले मुद्दामा प्रस्तुत तथ्यहरूलाई अत्यन्तै दुःखी र गम्भीर भनेका छन्।
अदालतले लिजार्डोलाई आइतबार साँझ ६ बजेभित्रै रिहा गर्न र अदालतको पूर्वस्वीकृतिविना पुनः हिरासतमा नलिन वा देश निकाला नगर्न आदेश दिएको थियो। लिजार्डोका वकिल हसन अहमदका अनुसार, उनलाई तोकिएको समयभन्दा करिब ३ घण्टा ढिलो गरी आइतबार राति ९ बजे आइसको हिरासतबाट रिहा गरिएको थियो।
डा. लिजार्डो सन् २०१९ मा अध्ययन भिसामा मिनिसोटा विश्वविद्यालयको स्कूल अफ डेन्टिष्ट्रीमा भर्ना भई अमेरिका आएका थिए। सन् २०२३ मा स्नातक पूरा गरेपछि उनले आफ्नै सहपाठी अमेरिकी नागरिकसँग विवाह गरेका थिए।
उनकी श्रीमतीले नातेदार भिसाका लागि आवेदन दिइन् र लिजार्डोले स्थायी आवासको लागि आवेदन दिए।
२०१२ को एउटा मुद्दाको क्यानेडियन अदालतको प्रमाणित कागजात बुझाउन नसकेको भन्दै युएससीआईएसले उनको आवेदन अस्वीकृत गर्यो। लिजार्डोले सो निर्णयविरुद्ध पुनरावेदन गरेका थिए।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सुनुवाइका लागि सूचना पठायो, तर उक्त सूचना सरकारी निकायसँग उपलब्ध पछिल्लो ठेगानाभन्दा फरक पुरानो ठेगानामा पठाइएको थियो। सूचना नपाएका कारण उनी सुनुवाइमा उपस्थित हुन सकेनन् र उनको अनुपस्थितिमै देश निकालाको आदेश जारी गरियो।
अक्टोबर २३ मा सेन्ट पलमा आप्रवासनअन्तर्गतको एक अन्तर्वार्तामा उपस्थित हुँदा मात्र उनले आफूविरुद्ध देश निकालाको आदेश जारी भएको थाहा पाए। अन्तर्वार्ता सकिनेबित्तिकै आइसका अधिकारीहरूले उनलाई गिरफ्तार गरी काउन्टी जेल पठाएका थिए।
अदालतले लिजार्डोको कुनै आपराधिक पृष्ठभूमि नरहेको, परिवार तथा समाजसँग प्रगाढ सम्बन्ध रहेको र उनी भाग्ने वा हराउने कुनै सम्भावना नरहेको निष्कर्ष निकालेको छ।
अदालतको यो निर्णयले लिजार्डोलाई तुरुन्तै स्थायी आवास भने प्रदान गर्दैन। यद्यपि, अघिल्लो देश निकालाको आदेश रद्द भइसकेकाले उनको आप्रवासनसम्बन्धी मुद्दा पुन: सुरु हुनेछ।





