न्यूयोर्क र लस एन्जलसलाई पछाडि पार्दै मिनियापोलिस-सेन्ट पल बन्यो अमेरिकाकै उत्कृष्ट विमानस्थल
प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार
Photo: Jim Petkiewicz/ Unsplash
अमेरिकाको मध्य-पश्चिमी क्षेत्रमा अवस्थित मिनियापोलिस-सेन्ट पल अन्तर्राष्ट्रिय विमानस्थलले न्यूयोर्क र लस एन्जलसका चर्चित विमानस्थलहरूलाई पछि पार्दै उत्तर अमेरिकाको सबैभन्दा उत्कृष्ट मेगा विमानस्थलको उपाधि पुनः हासिल गरेको छ। जे.डी. पावरद्वारा सार्वजनिक गरिएको सन् २०२६ को वार्षिक सूची अनुसार, यो विमानस्थल लगातार तेस्रो वर्ष शीर्ष स्थानमा पर्न सफल भएको हो।
यसैगरी, मध्यम र ठूला वर्गका विमानस्थलहरूमा टम्पा अन्तर्राष्ट्रिय विमानस्थल र चार्ल्स्टन अन्तर्राष्ट्रिय विमानस्थलले आ-आफ्नो श्रेणीमा शीर्ष स्थान हासिल गरेका छन्।
वार्षिक ३ करोड ३० लाखभन्दा बढी यात्रु आवतजावत गर्ने मेगा विमानस्थलको श्रेणीमा मिनियापोलिस-सेन्ट पल अन्तर्राष्ट्रिय विमानस्थल ६८४ अंक प्राप्त गरी पहिलो स्थानमा रहेको छ। यसैगरी, डेट्रोइट मेट्रोपोलिटन वेन काउन्टी विमानस्थल ६६३ अंकसहित दोस्रो र फिनिक्स स्काई हार्बर अन्तर्राष्ट्रिय विमानस्थल ६४२ अंकसहित तेस्रो स्थानमा पर्न सफल भएका छन्।
वार्षिक १ करोड देखि ३ करोड २९ लाखसम्म यात्रु हुने ठूला विमानस्थलहरूको श्रेणीमा ७१५ अंक प्राप्त गर्दै टम्पा अन्तर्राष्ट्रिय विमानस्थलले शीर्ष स्थान हासिल गरेको छ। यस श्रेणीमा ७०८ अंकसहित पोर्टल्यान्ड अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो स्थानमा र ६९८ अंकसहित डलास लभ फिल्ड तेस्रो स्थानमा रहेको छ।
त्यस्तै, वार्षिक ४५ लाख देखि ९९ लाख यात्रु क्षमता भएका मध्यम विमानस्थलहरूको श्रेणीमा चार्ल्स्टन अन्तर्राष्ट्रिय विमानस्थलले ७१२ अंकसहित पहिलो स्थान ओगटेको छ। यस वर्गमा ओन्टारियो अन्तर्राष्ट्रिय विमानस्थल ७०५ अंकसहित दोस्रो र इन्डियानापोलिस अन्तर्राष्ट्रिय विमानस्थल ६९५ अंकसहित तेस्रो स्थानमा रहेका छन्।
भ्रमण तथा उड्डयन क्षेत्रका विज्ञ ग्यारी लेफका अनुसार, मिनियापोलिस विमानस्थलले यात्रुहरूका लागि सुरक्षा जाँच पछि पनि धेरै सुविधाहरू उपलब्ध गराएको छ। साथै, शहरको केन्द्रभागबाट नजिक हुनुका साथै लाइट रेल सेवाको सहज पहुँच भएकाले यो विमानस्थल यात्रुहरूका लागि निकै सुविधाजनक बनेको छ।
जे.डी. पावरका ट्राभल निर्देशक माइकल टेलरका अनुसार, अधिकांश उत्कृष्ट विमानस्थलहरूले भर्खरै सम्पन्न गरेका वा सम्पन्न हुने क्रममा रहेका बहुवर्षीय पूर्वाधार सुधार परियोजनाहरूका कारण यात्रु सन्तुष्टि बढेको हो। स्पष्ट सूचना बोर्ड, सहज दिशा-निर्देशन, र खानपिन तथा खुद्रा पसलहरूको गुणस्तरमा आएको सुधारले गर्दा यात्रुहरूको अनुभव विगतको तुलनामा निकै राम्रो भएको अध्ययनले देखाएको छ।
जे.डी. पावरको २१ औँ उत्तर अमेरिकी विमानस्थल सन्तुष्टि अध्ययन अमेरिका र क्यानडाका २४,७१० जना यात्रुहरूमा गरिएको सर्वेक्षणमा आधारित छ। यस अध्ययनमा यात्रुहरूले विमानस्थलको यात्रा सहजता, भौतिक सुविधा, कर्मचारीको व्यवहार, तथा खानपिन र किनमेल जस्ता सात मुख्य सूचकहरूका आधारमा मूल्यांकन गरेका थिए।





