ट्रम्प प्रशासनमा उच्च सरकारी पदहरू ऐतिहासिक रूपमा रिक्त, नीति कार्यान्वयनमा असर पर्ने जोखिम


प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार

Photo: David Everett Strickler/ Unsplash

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा सिनेटको अनुमोदन आवश्यक पर्ने उच्च सरकारी पदहरूमा नियुक्ति प्रक्रिया निकै सुस्त बनेको छ। अमेरिकी सरकारी नियुक्तिहरूको निगरानी गर्ने संस्था ‘पार्टनरसिप फर पब्लिक सर्भिस’ को विश्लेषणअनुसार, पूर्वराष्ट्रपति रोनाल्ड रेगनको कार्यकालयताकै सबैभन्दा ठूलो संख्यामा यस्ता नेतृत्वदायी पदहरू अहिले रिक्त रहेका हुन्।

अमेरिकी संसद्को माथिल्लो सदनमा रिपब्लिकन पार्टीले आफ्नो बहुमत गुमाउन सक्ने सम्भावना बलियो बन्दै गएको छ। यस्तो संवेदनशील समयमा नियुक्तिमा भएको ढिलाइले ट्रम्प प्रशासनका महत्त्वपूर्ण नीतिगत योजना, राष्ट्रिय सुरक्षा, आप्रवासन, अर्थनीति र ऊर्जा क्षेत्रजस्ता निकायका कामकारबाही प्रभावित हुने चिन्ता बढेको छ।

पार्टनरसिप फर पब्लिक सर्भिसका वरिष्ठ व्यवस्थापक क्रिस पाइपरका अनुसार कर्मचारीको उच्च फेरबदल, सिनेटको लामो अनुमोदन प्रक्रिया, केही उम्मेदवारको नाम फिर्ता लिनुपरेको अवस्था र उम्मेदवारहरूको डिजिटल तथा व्यक्तिगत विवरणको सूक्ष्म जाँचले गर्दा संघीय सरकारका नेतृत्व तहमा अभूतपूर्व रूपमा पद रिक्तता देखिएको हो।

यद्यपि, ह्वाइट हाउसका वर्तमान तथा पूर्वअधिकारीहरूले भने नियुक्ति प्रक्रिया सुस्त हुनुका पछाडि ‘गति’ भन्दा ‘पृष्ठभूमि जाँच’ लाई प्राथमिकता दिइएको दाबी गरेका छन्।

ट्रम्प प्रशासनको पहिलो वर्षमा सकेसम्म धेरै पदमा छिटो नियुक्ति गर्ने प्रयास गरिएको थियो। त्यस अवधिमा ४५२ पदमा नियुक्ति गरिएको थियो, जुन पछिल्लो चार दशककै उच्च थियो।

दोस्रो वर्षमा प्रवेश गरेपछि सम्भावित विवाद र कमजोरीलाई सिनेटमा पुग्नुअघि नै रोक्न उम्मेदवारको पृष्ठभूमि थप कडा र विस्तृत रूपमा जाँच भइरहेको पूर्वउपकर्मचारी निर्देशक ट्रेन्ट मोर्सले बताएका छन्।

ह्वाइट हाउसका चिफ अफ स्टाफ सुसी वाइल्स तथा अन्य उच्च अधिकारीहरूले राष्ट्रपति नियुक्ति कार्यालयका निर्देशक ड्यान स्काभिनो र उपनिर्देशक मोर्गन डेविटको बचाउ गर्दै छिटो नियुक्ति गर्नुभन्दा सही र योग्य व्यक्ति छनोट गर्नु महत्त्वपूर्ण रहेको स्पष्ट पारेका छन्।

ट्रम्प प्रशासनमा सिनेटको अनुमोदन आवश्यक पर्ने पदहरू ठूलो संख्यामा खाली रहेका छन्।२४९ पदमा अझै उम्मेदवार मनोनयन नै हुन सकेको छैन भने पार्टनरसिप फर पब्लिक सर्भिसको तथ्याङ्कअनुसार मनोनयन भइसकेका ११० जना उम्मेदवार सिनेटबाट स्वीकृति पाउने प्रतीक्षामा छन्। सन् २०२६ मा अहिलेसम्म केवल १५ जना उम्मेदवारले मात्र सर्वसम्मति वा मौखिक मतदानमार्फत स्वीकृति पाएका छन्, जुन अघिल्ला कार्यकालहरूको तुलनामा निकै कम हो। जो बाइडेनको कार्यकालमा ५७ प्रतिशत र ट्रम्पको पहिलो कार्यकालमा ६५ प्रतिशत उम्मेदवारले यस्तै प्रक्रियाबाट स्वीकृति पाएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही उम्मेदवारले अनुमोदनका लागि लामो समय पर्खनुपरेको छ; उदाहरणका लागि रक्षा मन्त्रालयका अस्टिन डामर एक वर्षभन्दा बढी समयदेखि पर्खिरहेका छन्। यद्यपि, ह्वाइट हाउसले केही नियुक्ति द्रुत गतिमा सम्पन्न भएको दाबी गरेको छ। राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटन र होमल्यान्ड सेक्युरिटी सचिव मार्कवेन मुलिनको मनोनयन तथा अनुमोदन प्रक्रिया केही दिनभित्रै टुङ्ग्याइएको थियो।

पदहरू रिक्त रहँदा राष्ट्रपति ट्रम्पले तत्कालका लागि कार्यवाहक अधिकारी नियुक्त गरेर काम चलाउन रुचि देखाउँदै आएका छन्। यसले तत्कालका लागि काम अघि बढाउन सहज बनाए पनि सिनेटबाट अनुमोदित नभएका कार्यवाहक अधिकारीहरूसँग सीमित कानुनी अधिकार मात्र हुने भएकाले दीर्घकालीन नीति निर्माण र कार्यान्वयनमा कानुनी जटिलता खडा हुने विश्लेषकहरूको भनाइ छ।

यसैबीच, आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले सिनेटमा आफ्नो बहुमत गुमाएमा वा बहुमतको आकार घटेमा ट्रम्प प्रशासनका लागि बाँकी रिक्त पदहरू पूर्ति गर्न अझ ठूलो राजनीतिक चुनौती खडा हुने देखिन्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com