घरमा सङ्घीय एजेन्टको छापापछि सांसद् इल्हान उमरद्वारा वासिङ्टनको आवास छाड्ने घोषणा


प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार

अमेरिकी सांसद् इल्हान उमरले गत हप्ता आफ्नो घरमा भएको सङ्घीय एजेन्टहरूको छापादम्पटबारे पहिलोपटक विस्तृत जानकारी दिएकी छन्। सुरक्षा चिन्ताका कारण अब उक्त घरमा बस्न नसकिने खुलासासमेत उनले गरेकी छन्।

‘एमएस नाउ’ सँगको अन्तर्वार्तामा ओमारले गत अक्टोबर १२ को बिहान ६ बजे ‘होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्स’का एजेन्टहरू ढोका ढक्ढक्याउँदै र कराउँदै आएपछि आफू र आफ्ना श्रीमान् अत्तालिएको बताएकी छन्।

“मानिसहरूलाई तर्साउने नियत नभई कोही पनि यति बिहानै घरमा आउँदैन, र यसले हामी सबैलाई तर्सायो,” उमरले भनिन्।

सङ्घीय जस्टिस डिपार्टमेन्टका पूर्वकर्मचारीहरूले आसन्न मध्यावधि निर्वाचनको मुखैमा गरिएको यस कारबाहीप्रति आशङ्का व्यक्त गरेका छन्। स्रोतका अनुसार उमरमाथि षड्यन्त्र र अध्यागमन कागजातमा झुटा विवरण पेस गरेको सम्भावित आरोपमा अनुसन्धान भइरहेको छ।

उमरका अनुसार बिहान एजेन्टहरू आउँदा उनी भर्खरै यात्राबाट फर्केकाले अढाई घण्टा मात्र सुत्न पाएकी थिइन्। सुरुमा छिमेकी वा घरमा आगलागी भएको ठानेकी उमरले पछि एचएसआइ एजेन्टहरू देख्दा आश्चर्यचकित भएको बताइन्।

सङ्घीय एजेन्टहरूले करिब ४ देखि ५ घण्टासम्म उमरको घरमा खोजी तलासी गरेका थिए। त्यस क्रममा उनीहरूले उमर, उनका श्रीमान् र छोरीका पुराना फोनहरू, क्यामेरा, कापीहरू र सोमाली भाषाको पुस्तकसहित १७ वटा सामान जफत गरेका छन्। ओमारले एजेन्टहरूले संसद् सदस्यको रूपमा प्राप्त संवैधानिक अधिकार त्याग्ने पत्रमा हस्ताक्षर गर्न भने पनि आफूले अस्वीकार गरेको जानकारी दिइन्।

तनावपूर्ण वातावरणका बाबजुद एजेन्टहरूले शिष्ट व्यवहार गरेको र लुगाहरूसमेत पट्याएर राखिदिएको उनले बताइन्। तर, यस अनुसन्धानलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै उनले भनिन्, “मेरा दिवङ्गत बुबाले भरेका कागजातहरू उनीहरूसँगै छन्, जसको आधारमा हामी अमेरिका आएका थियौँ।”

घरको ठेगाना सार्वजनिक भइसकेको र निरन्तर ज्यान मार्ने धम्की आइरहेकाले अब सो घरमा बस्न सुरक्षित नरहेको उमरले स्पष्ट पारिन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले यस अनुसन्धानमा आफ्नो हात नरहेको दाबी गरे पनि उमरले त्यसलाई अस्वीकार गर्दै ट्रम्पले सन् २०१९ देखि नै आफूलाई देश निकाला गर्ने धम्की दिँदै आएको आरोप लगाइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com