अमेरिकामा चुलिँदो स्वास्थ्य लागत: दुई-तिहाइ अमेरिकी नागरिक सरकारी सहयोगको पक्षमा


प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार

Photo: Marek Studzinski/ Unsplash

दुई-तिहाइ अमेरिकी नागरिक जसमा आधा रिपब्लिकनहरू समेतले स्वास्थ्य उपचारको लागत घटाउन सरकारले थप रकम खर्च गरोस् भन्ने चाहेका छन्। यद्यपि, उनीहरू अझै पनि आफ्नै स्वास्थ्य बीमालाई मन पराउँछन् र सबैका लागि मेडिकेयरको अवधारणाप्रति सशङ्कित देखिएका छन्। हालै सार्वजनिक भएको नयाँ जनमत सर्वेक्षणले यस्तो तथ्याङ्क देखाएको हो।

एक्सियोस-इप्सोसद्वारा सार्वजनिक गरिएको सर्वेक्षण अनुसार, स्वास्थ्य लागत घटाउने विशिष्ट नीतिको प्रसङ्गमा ४३ प्रतिशत अमेरिकीहरू मात्र ‘मेडिकेयर फर अल’ को पक्षमा छन्। यो प्रणालीले अमेरिकी सरकारद्वारा सञ्चालित एकल-भुक्तानीकर्ता स्वास्थ्य प्रणालीको सिर्जना गर्नेछ।

यसको विपरीत, करिब २४ प्रतिशतले सार्वभौमिक मेडिकेयर प्रणालीको विरोध गरेका छन् भने झन्डै एक-तिहाइ (३२ प्रतिशत) ले आफू निश्चित नरहेको बताएका छन्।

यो कदम डेमोक्र्याटहरूमाझ भने ६२ प्रतिशतका साथ लोकप्रिय छ, जसमध्ये धेरैजसो युनाइटेड किंगडमको ‘नेसनल हेल्थ सर्भिस’ जस्तै प्रणाली हेर्न चाहन्छन्। युकेको प्रणालीमा सेवा लिने बिन्दुमा उपचार नि:शुल्क हुन्छ तर त्यसको आर्थिक भार करमार्फत उठाइन्छ।

सर्वेक्षण अनुसार, लगभग आधा ४७ प्रतिशत स्वतन्त्र मतदाताहरूले पनि यो विचारको समर्थन गरेका छन्।

दक्षिणपन्थी सार्वजनिक नीति थिंक-ट्याङ्क ‘अमेरिकन इन्टरप्राइज इन्स्टिच्युट’ का वरिष्ठ फेलो मार्क वारसावस्कीले भने, “अमेरिकामा स्वास्थ्य उपचारको उच्च र बढ्दो लागत तथा यसको अक्षमताका कारण मानिसहरू आक्रोशित हुनु स्वाभाविक हो। तर, यो सर्वेक्षणमा सहभागीहरूलाई ‘मेडिकेयर फर अल’ लागू गर्दा व्यहोर्नुपर्ने अत्यधिक कर, उपचारमा आउने प्रतिबन्ध, नवप्रवर्तनमा आउने सुस्तता र राजनीतिक हस्तक्षेपबारे पूर्ण जानकारी छैन।”

उनले थपे, “यसको उत्तम विकल्प भनेको सबैका लागि बीमा कभरेज सुनिश्चित गर्नु र आर्थिक रूपमा विपन्नहरूलाई सहयोग गर्दै यस क्षेत्रमा प्रभावकारी प्रतिस्पर्धा ल्याउनु हो।”

हाल ७ करोडभन्दा बढी मानिसहरू मेडिकेयरमा आबद्ध छन्, जसले ६५ वर्ष र सोभन्दा माथिका अमेरिकी तथा केही अपाङ्गता भएका व्यक्तिहरूलाई समेट्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामाजिक सुरक्षा र राष्ट्रिय ऋणको ब्याजपछिको यो सङ्घीय सरकारको तेस्रो ठूलो खर्च हो, जसले कुल सरकारी खर्चको १४ प्रतिशत ओगट्छ। मेडिकेयरले गत वर्ष १.२ ट्रिलियन डलर भुक्तानी गरेको थियो-जो एक दशक अघिको तुलनामा दोब्बर हो।

‘मेडिकेयर फर अल’ का विरोधीहरूले यसबाट निजी बीमाको तुलनामा उपचारको गुणस्तर खस्कने डर व्यक्त गरेका छन्। अन्य विरोधीहरूले भने यो करदाताहरूका लागि अत्यधिक महँगो हुने वा यसले सरकारको आकार चाहिनेभन्दा बढी बढाउने चिन्ता व्यक्त गरेका छन्।

धेरै उत्तरदाताहरूले सरकारी अनुदान बढाउने, सन् २०२६ मा सकिने थपिएका ‘एफोर्डेबल केयर एक्ट’ कर छुटहरूलाई पुनः निरन्तरता दिने र प्रेस्क्रिप्सन औषधि छुट प्लेटफर्महरू विस्तार गर्ने उम्मेदवारलाई समर्थन गर्ने सम्भावना बढी रहेको बताएका छन्।

रिपब्लिकनहरू स्वास्थ्य उपचार खर्चका लागि सरकारी अनुदान बढाउने विषयमा विभाजित देखिएका छन्,३१%: यस्तो विचारलाई समर्थन गर्ने उम्मेदवारलाई भोट हाल्ने सम्भावना बढी।२९%: भोट हाल्ने सम्भावना कम।३१%: यसले कुनै फरक नपार्ने विचार व्यक्त गर्छन्।

‘काइजर फेमिली फाउन्डेसन’ को तथ्याङ्क अनुसार सन् २०२० यता स्वास्थ्य बीमाको प्रिमियम २७ प्रतिशतले बढेको छ।

सर्वेक्षणले स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरप्रतिको जनविश्वास इतिहासकै तल्लो बिन्दु २५ प्रतिशतमा झरेको देखाएको छ।

आगामी महिना हुने मध्यवधि निर्वाचनअघि कंग्रेसका डेमोक्र्याट (२५%) र रिपब्लिकन (२०%) दुवैप्रतिको विश्वास ऐतिहासिक रूपमा तल्लो स्तरमा पुगेको छ। साथै, स्वास्थ्यसम्बन्धी सूचनाका लागि राष्ट्रपति ट्रम्पप्रतिको विश्वास पनि घटेर २० प्रतिशतमा सीमित भएको छ।

स्वास्थ्य उपचारका क्रममा बीमाको लागत नै अमेरिकीहरूको सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ। डिसेम्बर २०२५ मा गरिएको ग्याल्फ अध्ययन अनुसार, २९ प्रतिशत अमेरिकीहरूले स्वास्थ्य उपचारको खर्चलाई देशको “सबैभन्दा जरुरी स्वास्थ्य समस्या”को रूपमा औंल्याएका थिए। यो तथ्याङ्क अघिल्लो वर्षको २३ प्रतिशतबाट बढेको हो र सन् २००४ यताकै सबैभन्दा उच्च स्तर हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com