सिन्धुलीमा भिसा दुरुपयोग गरेको आरोपमा ८८ विदेशीको भिसा रद्द, निष्कासन प्रक्रियामा
प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार
नेपालको अध्यागमन विभागमा भिसा स्टीकर लगाउँदै एक अधिकारी । फोटो : दीपेन्द्र ढुंगाना
नेपालको अध्यागमन विभागले भिसाको उद्देश्यविपरीत काम गरेको आरोपमा सिन्धुलीमा कार्यरत ८८ चिनियाँ नागरिकको भिसा रद्द गर्दै निष्कासन प्रक्रिया अघि बढाएको छ। सोही क्षेत्रका गतिविधिमा संलग्न अन्य ५०१ चिनियाँ नागरिकलाई पनि कडा निगरानीमा राखिएको विभागले जनाएको छ।
सिन्धुलीको मरिण गाउँपालिका–४, साहानस्थित जियान फुड्स प्रालिमा कार्यरत चिनियाँ नागरिकमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो। उक्त उद्योग चेङ्दु तियान फुड लिमिटेडको आर्थिक साझेदारीमा निर्माणाधीन रहेको र चीनमा ताप–प्रशोधित भैंसीको मासु निर्यात गर्ने परियोजनासँग सम्बन्धित रहेको बताइएको छ।
अध्यागमन विभागका अनुसार ती नागरिकहरू पर्यटक तथा विभिन्न कम्पनीका नाममा व्यावसायिक भिसा लिएर नेपाल प्रवेश गरेका थिए। तर उनीहरू सिन्धुलीमा मासु आपूर्तिसम्बन्धी उद्योगमा कार्यरत रहेको पाइएको विभागले जनाएको छ।
नेपालको अध्यागमन नियमअनुसार व्यावसायिक भिसा श्रम, रोजगारी वा भिसा प्राप्तिको उद्देश्यविपरीतका काममा प्रयोग गर्न पाइँदैन। विभागले उनीहरूले भिसाको सर्त उल्लंघन गरेको निष्कर्षसहित कारबाही अघि बढाएको हो।
उक्त क्षेत्रका चिनियाँ नागरिकहरू गाउँगाउँमा पुगेर भाषा तथा संस्कृति आदानप्रदानका नाममा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सूचना पाएपछि अध्यागमन विभाग र जिल्ला प्रशासन कार्यालय सिन्धुलीले अनुगमन तथा अध्ययन तीव्र पारेका थिए।
अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालका अनुसार पहिलो चरणमा ८८ जनाको भिसा रद्द गरिएको छ। उनीहरूलाई अध्यागमन ऐन, २०४९ अनुसार जरिवाना गरी निष्कासन गर्ने प्रक्रिया सुरु गरिएको उनले बताए।
विभागले सोही क्षेत्र तथा आसपासका गतिविधिमा संलग्न अन्य ५०१ चिनियाँ नागरिकमाथि पनि निगरानी बढाइएको जनाएको छ।
अध्यागमन विभागले सबै विदेशी नागरिकलाई जुन प्रयोजनका लागि भिसा लिइएको हो, सोही प्रयोजनअनुसार मात्र काम गर्न आग्रह गरेको छ।
विभागले उद्योग, कम्पनी तथा रोजगारदातालाई आवश्यक भिसा र स्वीकृतिबिना विदेशी नागरिकलाई रोजगारीमा नलगाउन पनि सचेत गराएको छ। अध्यागमन नियमावली, २०५१ विपरीत काम गरेको पाइएमा सम्बन्धित विदेशी नागरिक तथा रोजगारदाता दुवैमाथि कानुनअनुसार कारबाही हुन सक्ने विभागले चेतावनी दिएको छ।





