कबड्डीमा नेपाललाई कांस्य, एसियाडमा पदक संख्या दुई
प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार
२०औँ एसियाली खेलकुदमा कांस्य पदक जितेपछि खुसीयाली मनाउँदै नेपाली महिला कबड्डी टोलीका खेलाडीहरू। तस्बिर: दीपेन्द्र ढुंगाना/खसोखास
नागोया, जापान — नेपाली महिला कबड्डी टोलीले २०औँ एसियाली खेलकुदमा कांस्य पदक जितेको छ। सेमिफाइनलमा भारतसँग पराजित भए पनि सेमिफाइनल पुग्ने दुवै टोलीलाई कांस्य पदक प्रदान गर्ने नियमअनुसार नेपाल पदक विजेता बनेको हो।
टोकई सिटिजन जिम्नेसियममा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४८–२४ ले पराजित भयो। भारतले खेलभर नेपालमाथि दबाब कायम राख्यो। नेपाल पहिलो हाफमा ३१–१७ र दोस्रो हाफमा १७–७ ले पछि परेको थियो।

समूह ‘बी’ मा रहेको नेपालले चाइनिज ताइपेइ, थाइल्यान्ड र श्रीलंकासँग प्रतिस्पर्धा गरेको थियो। नेपालले थाइल्यान्ड र श्रीलंकालाई हराउँदै समूह उपविजेताका रूपमा सेमिफाइनल यात्रा तय गरेको थियो। चाइनिज ताइपेइसँग भने नेपाल पराजित भएको थियो।
नेपाली महिला कबड्डी टोलीले सन् २०१० को गुआङझाउ एसियाली खेलकुदबाट एसियाडमा सहभागिता सुरु गरेको थियो। टोलीले सन् २०२३ मा चीनको हाङझाउमा आयोजित १९औँ एसियाली खेलकुदमा पनि सेमिफाइनल पुगेर कांस्य पदक जितेको थियो।
नागोयामा प्राप्त कांस्यसँगै नेपाली महिला कबड्डी टोलीले एसियाली खेलकुदमा लगातार दोस्रो संस्करणमा पदक जितेको छ। यो एसियाड इतिहासमा नेपाली कबड्डी टोलीको दोस्रो पदक हो।
महिला कबड्डीको कांस्यसँगै जारी एसियाली खेलकुदमा नेपालको पदक संख्या दुई पुगेको छ। यसअघि करातेका तेन्जिङ शेर्पाले पुरुष कुमुते ८४ केजीभन्दा माथिको तौलसमूहमा कांस्य पदक जित्दै नेपाललाई प्रतियोगिताको पहिलो पदक दिलाएका थिए।
नेपालबाट २१ खेलमा २११ सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ। दुई कांस्य पदकसँगै नेपालले जारी एसियाली खेलकुदमा पदकविहीन रहने अवस्थाबाट जोगिएको छ।





