राष्ट्रसंघ महासचिव गुटेरेस र प्रधानमन्त्री शाहबीच भेटवार्ता, जलवायु मुद्दामा राष्ट्रसंघको ऐक्यबद्धता


प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाका क्रममा न्युयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा महासचिव एन्टोनियो गुटेरेस र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहबीच द्विपक्षीय भेटवार्ता हुँदै। जलवायु परिवर्तन र बाढीका कारण नेपालमा पुगेको क्षतिको मुद्दा महासभामा उठाउन न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री शाहले आजै राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। तस्बिर: राजन काफ्ले / खसोखास

न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेस र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहबीच संयुक्त राष्ट्रसंघका द्विपक्षीय भेटवार्ता भएको छ ।

राष्ट्रसंघको ८१ औँ महासभाका सन्दर्भमा राष्ट्रसंघ मुख्यालय न्युयोर्कमा महासचिव गुटेरेस र प्रधानमन्त्री शाहबीच भेटवार्ता भएको हो ।

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाका अवसरमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा महासचिव एन्टोनियो गुटेरेससँगको द्विपक्षीय भेटवार्ताका क्रममा आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै नेपालका प्रधानमन्त्री बालेन्द्र शाह। तस्बिर: राजन काफ्ले / खसोखास

महासचिव गुटेरेसले भोटेकोशी विपतमा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । प्रधानमन्त्री कार्यालयले भनेको छ, “उहाँले युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसा पनि गर्नुभयो। आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।”

प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै सफल कार्यकालका लागि बधाई दिएको तथा भोटेकोशी विपतबाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । ” भेटमा नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुनर्निर्माणका विषयमा छलफल भएको थियो। साथै, अतिकम विकसित राष्ट्र एलडीसी सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थपका लागि समर्थनका विषयमा पनि कुराकानी भएको थियो,” प्रधानमन्त्री कार्यालयले भनेको छ।

महासचिव गुटेरेससँग भेटपछि प्रधानमन्त्री बालेन्द्र शाह। साथमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा । तस्बिर: राजन काफ्ले / खसोखास

महासभामा सहभागी हुन हिजो न्युयोर्क आइपुगेका प्रधानमन्त्री शाहले आज महासचिव गुटेरेससित भेटघाट गरेका हुन् । यस पछि प्रधानमन्त्री शाहले महासभामा सम्बोधन गर्ने तय भएको छ । नेपाली समय अनुसार करीव ७ बजे शाहले सम्बोधन गर्नेछन् ।

रसुवा भोटेकोशी बाढीपछि नेपालले व्यहोरेको क्षति जलवायु परिवर्तनका कारण भएको निश्कर्षसहित संयुक्त राष्ट्रसंघमा प्रभावकारी रुपमा विषयहरु उठाउन नेपालको प्रधानमन्त्री नै महासभामा सहभागी हुनुपर्ने धारणा बनेपछि प्रधानमन्त्री शाह न्युयोर्क आइपुगेका हुन् ।

नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले द्विपक्षीय भेटघाटलाई तिब्रता दिइरहेका छन् । भुटानका प्रधानमन्त्री समेत विभिन्न देशका परराष्ट्रमन्त्रीसित भेटेर खनालले नेपालले हालै बाढीका कारण भोगेको क्षति, क्षतिग्रस्त संरचनाहरुको पुर्ननिर्माण लगायतका नेपालको हीतमा सहकार्यको आग्रह गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com