बोर्डिङ पास बिना नै विमानस्थलको गेटसम्म जान पाइने: टीएसएको नयाँ ‘गेटसाइड’ सुविधा सुरु
(आधिकारिक होमल्याण्ड सेक्युरिटी तस्बिर/ ब्यारी बहलर)
हवाई जहाजको टिकट वा बोर्डिङ पास बिना नै आफ्ना आफन्तलाई ‘बोर्डिङ गेट’ सम्म पुर्याउन वा स्वागत गर्न चाहनुहुन्छ? ‘ट्रान्स्पोर्टेसन सेक्युरिटी एडमिनिस्ट्रेशन’ले गेटसाइड बाइ टीएसए प्रि-चेक “ नामको नयाँ पाइल कार्यक्रम सुरु गरेको छ। यस कार्यक्रममार्फत टीएसए प्रि-चेकका योग्य सदस्यहरूले जहाजको टिकट नभए पनि विमानस्थलको ‘सुरक्षित क्षेत्र’ मा प्रवेश पाउन सक्नेछन्।
यस कार्यक्रमको मुख्य उद्देश्य टीएसए प्रि-चेक का सदस्यहरूलाई आफ्ना साथीभाइ तथा परिवारसँग विमानस्थलमा बढी समय बिताउन दिनु हो। यसअन्तर्गत उनीहरूले यात्रुलाई गेटसम्म पुर्याउन, आउने यात्रुको स्वागत गर्न वा सुरक्षा जाँचपछिको क्षेत्रमा रहेका रेष्टुरेन्ट तथा पसलहरूको आनन्द लिन सक्नेछन्।
यो सुविधा मुख्यतया टीएसए प्रि-चेक वा ‘नन ट्राभलर नम्बर’ भएका व्यक्तिहरूका लागि मात्र उपलब्ध छ।
योग्य व्यक्तिहरूले आफ्नो भ्रमणभन्दा १ देखि ३ दिन अघि ‘गेटसाइड पास’का लागि आवेदन दिनुपर्छ। विमानस्थलको क्षमता र भिडभाडलाई ध्यानमा राखेर पास स्वीकृत गरिने हुनाले स्वीकृति स्वतःस्फूर्त हुँदैन।
यस पासका लागि कुनै अतिरिक्त शुल्क लाग्ने छैन, तर आवेदकहरूसँग पहिले नै टीएसए प्रि-चेक वा सो सरहको योग्यता हुन अनिवार्य छ।
स्वीकृत भिजिटरहरूले टीएसए प्रि-चेकको छुट्टै लेनबाट प्रवेश गर्न पाउनेछन् र उनीहरूले आफ्नो पास, परिचयपत्र देखाएर सामान्य सुरक्षा जाँच गराउनुपर्नेछ।
अमेरिकाका विभिन्न १३ वटा प्रमुख विमानस्थलहरूमा यो सुविधा हाल परीक्षणका रूपमा सञ्चालन भइरहेको छ।
पश्चिमी क्षेत्रमा एरिजोनाको मेसा गेटवे एअरपोर्ट, क्यालिफोर्नियाका लस एन्जलस इन्टरनेशनल एअरपोर्ट र स्यान्डियागो इन्टरनेशनल एअरपोर्ट, नेभाडाको ह्यारी रिड इन्टरनेशनल एअरपोर्ट तथा युटाको साल्ट लेक सिटी इन्टरनेशनल एअरपोर्ट रहेका छन्।
मध्य र दक्षिणी भागमा टेक्ससको डलास फोर्ट वर्थ इन्टरनेशनल एअरपोर्ट, ओक्लाहोमाको विल रोजर्स वर्ल्ड एअरपोर्ट, कान्सासको विचिटा ड्वाइट डी. आइजनहावर नेशनल एअरपोर्ट र अर्कान्ससको बिल एण्ड हिलारी क्लिन्टन नेशनल एअरपोर्ट समावेश छन्।
मध्य-पश्चिम क्षेत्रतर्फ मिसिगनको डिट्रोइट मेट्रोपोलिटन वेन काउन्टी एअरपोर्ट, इन्डियानाको इन्डियानापोलिस इन्टरनेशनल एअरपोर्ट, ओहायोको जोन ग्लेन कोलम्बस इन्टरनेशनल एअरपोर्ट र नेब्रास्काको एपली एयरफिल्डमा यो ‘गेटसाइड’ सेवा उपलब्ध छ।
फ्लोरिडाको ओर्ल्याण्डो इन्टरनेशनल एअरपोर्ट हाल टीएसएको यो १३ वटा विमानस्थलको सूचीमा समावेश छैन। यद्यपि, एमसीओको आफ्नै एक्सपेरियन्स एमसीओ भिजिटर पास नामक छुट्टै कार्यक्रम सञ्चालनमा छ, जसले गैर-यात्रुहरूलाई पूर्व-स्वीकृति लिएर टर्मिनल भित्र जान दिन्छ।
सेप्टेम्बर ११, २००१ को आतंकवादी हमलाअघि साथीभाइ र आफन्तहरूलाई विमानस्थलको गेटसम्मै छाड्न जान पाइन्थ्यो। त्यसपछि कडा सुरक्षाका कारण बन्द भएको यो सुविधालाई टीएसएले नियन्त्रित र सुरक्षित तवरले पुनः ल्याउन खोजेको छ। टीएसएका अनुसार आगामी दिनहरूमा यो सेवा अन्य विमानस्थलहरूमा पनि विस्तार गरिनेछ।





