नेपालमा भीषण बाढीपछि रुबियोद्वारा सहायताको घोषणा, कम्तीमा १४७ को मृत्यु र ४७ अमेरिकी बेपत्ता
अमेरिकी विदेशमन्त्री मार्को रुबियो। (अमेरिकी विदेश मन्त्रालय/फ्रेडी एभरेट)
भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको विनासकारी बाढीका कारण कम्तीमा १४७ जनाको मृत्यु हुनुका साथै ४७ अमेरिकी नागरिकसहित सयौँ पर्यटकहरू बेपत्ता भएपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपाललाई मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
सामाजिक सञ्जालमार्फत ऐक्यबद्धता जनाउँदै विदेशमन्त्री रुबियोले दु:खद घडीमा नेपाल सरकारलाई आवश्यक सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन्।
“विनाशकारी बाढीपछि हामी नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ र उनीहरूको धैर्यताका लागि प्रार्थना गर्दछौँ,” रुबियोले भने, “अमेरिकी विदेश मन्त्रालय नेपाल सरकारलाई आवश्यक मानवीय सहायता प्रदान गर्न पूर्ण रूपमा तयार छ।”
काठमाडौँस्थित अमेरिकी दूतावासले पनि विज्ञप्ति जारी गर्दै रसुवा र तल्लो तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेको छ। दूतावासले नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँ लगायतका क्षेत्रमा रहेका आफ्ना नागरिकको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको जनाएको छ।
विनाशकारी बाढी र बेपत्ता पर्यटक
नेपाल प्रहरीका अनुसार चीन सीमा नजिकैको रसुवादेखि मुग्लिनसम्मको तटीय क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीका कारण सडक, पुल र विद्युत् तथा सञ्चार सम्पर्क विच्छेद भएकाले दुर्गम क्षेत्रमा उद्धार टोली पुग्दा मृतक र बेपत्ताको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
नेपाल पर्यटन बोर्डका अनुसार हालसम्म ३४१ विदेशी र ६२ नेपाली गरी कुल ४०३ जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेहरूमा १३३ भारतीय, ४७ अमेरिकी, ३४ अस्ट्रेलियाली, ३३ बेलायती, २४ क्यानेडियन र १९ मलेसियाली नागरिक लगायत अन्य विभिन्न देशका पर्यटकहरू रहेका छन्।
बाढी बिहान ९ बजेतिर रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेर टिमुरे र स्याफ्रुबेँसी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रतर्फ बगेको थियो। नेपालका परराष्ट्रमन्त्रीका अनुसार चीनतर्फ भूकम्पका कारण गएको पहिरोले भोटेकोशी नदी थुनिएर फुटेपछि यो विनासकारी बाढी आएको अनुमान गरिएको छ। यद्यपि, हिमनदी क्षेत्रमा गएको हिमपहिरोले नदी थुनिएको हुन सक्ने प्रारम्भिक अनुमानमाथि पनि अनुसन्धान भइरहेको छ।

उद्धार र पूर्वाधारमा क्षति
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी उद्धार कार्यमा खटिएका छन्। तर, विकट हिमाली क्षेत्र र प्रतिकूल मौसमका कारण कतिपय स्थानमा उद्धार हेलिकप्टर अवतरण गर्न कठिन भइरहेको छ।
बाढीले घर, होटल, पसल, पर्यटक बस, भन्सारका गाडी र २० भन्दा बढी पक्की पुलहरू बगाएको छ। रसुवागढी भन्सार यार्डमा रहेका २०० भन्दा बढी मालवाहक ट्रक र ५०० देखि ७०० वटा विद्युतीय सवारी साधन बाढीले बगाएको व्यवसायीहरूले बताएका छन्।
यस्तै, चिलिमे, रसुवागढी र त्रिशूली-३ ए जस्ता १३ देखि १५ वटा जलविद्युत् आयोजनामा क्षति पुग्दा ४३० मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ। बिजुली, फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा उद्धार कार्य र घाइते तथा बेपत्ताको विवरण संकलनमा कठिनाइ भइरहेको छ।





