सेवा सञ्चालनको एक वर्ष नपुग्दै बन्द हुँदै सान फ्रान्सिस्कोस्थित महावाणिज्यदूतावास, सेप्टेम्बर १ देखि सेवा ठप्प


प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार

अमेरिकाको सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावासले आगामी सेप्टेम्बर १ देखि राहदानी तथा सम्पूर्ण कन्सुलर सेवाहरू पूर्ण रूपमा बन्द हुने जनाएको छ। नेपाल सरकारको निर्णयअनुसार नियोग बन्द गर्ने प्रक्रिया सुरु भइसकेकाले हाल प्रदान गरिँदै आएका राहदानी, भिसा लगायतका कन्सुलर सेवाहरू यही अगस्ट ३१ सम्म मात्र उपलब्ध हुने महावाणिज्यदूतावासले जनाएको छ ।

अगस्ट ३१ पछि कार्यालयबाट कुनै पनि प्रकारका सेवा प्रदान नगरिने भएकाले सेवाग्राहीलाई तोकिएको समयभित्रै सेवा लिन आग्रह गरिएको छ । साथै, जुलाई ६ सम्म कार्यालयमा उपस्थित भई वा घुम्ती सेवामार्फत आवेदन दिएका आवेदकहरूको नयाँ राहदानी तयार भई कार्यालयमा प्राप्त भइसकेकाले सम्बन्धित सेवाग्राहीलाई यथाशीघ्र उपस्थित भई आफ्नो राहदानी बुझिलिन महावाणिज्यदूतावासले आग्रह गरेको छ ।

नेपाल सरकारले १० जनवरी २०२५ मा सान फ्रान्सिस्कोमा नेपाली महावाणिज्यदूतावास स्थापना गर्ने निर्णय गरेको थियो । आवश्यक प्रशासनिक तथा प्राविधिक तयारीपछि १ जुलाई २०२५ मा कार्यालय स्थापना गरी २२ सेप्टेम्बर २०२५ देखि नियमित कन्सुलर सेवा सुरु गरिएको थियो ।

यस नियोगको क्षेत्राधिकार अमेरिकाको पश्चिमी क्षेत्रका ११ राज्यहरू क्यालिफोर्निया, आरिजोना, नेभाडा, युटा, वायोमिङ, आइडाहो, ओरेगन, मोन्टाना, वासिङ्टन, अलास्का र हवाईमा फैलिएको थियो । नियोगले राहदानी र भिसा सेवाबाहेक नेपाल र अमेरिकी पश्चिमी क्षेत्रबीच व्यापार, लगानी, पर्यटन, प्रविधि हस्तान्तरण, नेपाली नागरिकको हकहित संरक्षण तथा जनस्तरको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको थियो ।

स्थापना भएको एक वर्ष पनि नपुग्दै नियोग बन्द गर्ने निर्णय भएपछि अमेरिकाको पश्चिमी क्षेत्रमा बसोबास गर्ने विशाल नेपाली समुदायले कडा असन्तुष्टि जनाएका थिए । दूतावास बन्द हुँदा सामान्य कागजी प्रक्रियाका लागि पनि हजारौँ माइल टाढा रहेको वासिङ्टन डिसी पुग्नुपर्ने बाध्यता दोहोरिने भन्दै स्थानीय नेपाली संघ-संस्थाहरूले निर्णय पुनर्विचार गर्न सरकारलाई दबाब दिएका थिए । यद्यपि, नेपाली समुदायको व्यापक विरोधका बाबजुद सरकारले नियोग बन्द गर्ने प्रक्रियालाई अगाडि बढाएको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत सरकारले खर्च कटौती र कूटनीतिक नियोगहरूको पुनरावलोकन गर्ने नीतिअन्तर्गत सान फ्रान्सिस्कोस्थित महावाणिज्यदूतावाससहित ६ वटा कूटनीतिक नियोगहरू खारेज गर्ने घोषणा गरेको थियो ।

खारेजीमा परेका अन्य नियोगहरूमा चीनको छङ्दुस्थित महावाणिज्यदूतावास, डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकास्थित नेपाली दूतावासहरू तथा भारतको विशाखापट्टनमस्थित नेपाली दूतावासको शाखा कार्यालय रहेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com