नेपालमा बालयौन दुराचारको सजाय भोगेका अमेरिकी नागरिक आफ्नै देशमा पनि दोषी ठहर


प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार

नेपाली अदालतबाट बालयौन दुराचारमा दोषी ठहर भई नौ वर्ष कैद सजाय भोगेका अमेरिकी नागरिकलाई अमेरिकी अदालतले पनि दोषी ठहर गरेको छ। नेपालमा सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्सलाई अमेरिकी सङ्घीय अदालतले नेपालमै गरेको कसुरमा दोषी ठहर गरेको हो।

अमेरिकी न्याय मन्त्रालयअन्तर्गतको सार्वजनिक मामिला कार्यालयले आफ्नो वेबसाइटमार्फत कुम्ब्सलाई दोषी ठहर गरिएको जानकारी सार्वजनिक गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नेपालमा सजाय भुक्तान गरी फर्किएका कुम्ब्सलाई अमेरिकी कानुन कार्यान्वयन निकायले सेप्टेम्बर २०२५ मा पक्राउ गरेको थियो। त्यसबेलादेखि उनी हिरासतमै छन्।

अमेरिकी न्याय मन्त्रालयको सार्वजनिक मामिला कार्यालयका अनुसार उनीविरुद्ध अक्टोबर २८ मा अदालतले सजाय सुनाउने तयारी गरेको छ।

बालकहरूको यौन शोषण गर्न सङ्गठित रूपमा गिरोह (सिन्डिकेट) सञ्चालन गरी दुर्गम गाउँहरूबाट बालबालिकालाई सहरमा ओसारपसार गरेर विदेशी बालयौन दुराचारीलाई उपलब्ध गराउने काम भइरहेको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो ले अनुसन्धान सुरु गरेको थियो।

वि.सं. २०७३ भदौ २४ गते ठमेलस्थित याम्बु होटेलबाट प्रहरीले केनेथ जोसेफ कुम्ब्स र उनलाई बालयौन दुराचारका लागि सहयोग गर्ने काठमाडौँ स्वयम्भूका २१ वर्षीय ‘लुच्चे’ भनिने बुद्ध पुतवारलाई पक्राउ गरेको थियो।

जिल्ला अदालत काठमाडौँको २०७४ वैशाख १० गतेको फैसलाले कुम्ब्सलाई नौ वर्ष र पुतवारलाई चार वर्ष कैद सजायको फैसला सुनाएको थियो।

अमेरिकी न्याय मन्त्रालयका अनुसार कुम्ब्सले सन् २०१६ मा नेपाल बस्दा होटेलमा आठ जना बालबालिकामाथि यौन दुर्व्यवहार गरेको स्वीकार गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ती यौनजन्य कार्य गर्नका लागि कुम्ब्सले बल प्रयोग गर्ने, जबरजस्ती नशालु पदार्थ सेवन गराउने र बालबालिकालाई पैसाको प्रलोभनमा पार्ने जस्ता उपाय अपनाएको पाइएको छ।

कुम्ब्सले खिचेका पीडित बालबालिकाका तस्बिरहरू उनका इलेक्ट्रोनिक उपकरणहरूबाट बरामद गरिएको अमेरिकी सार्वजनिक मामिला कार्यालयले जनाएको छ।

यस अनुसन्धानमा नेपालस्थित अमेरिकी दूतावास, केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालय र नेपालको गैरसरकारी संस्था ‘नयाँ पाइला’बाट सहयोग प्राप्त भएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ। (राससको सहयोगमा )

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com