फिफा विश्वकप: सिएटल रंगशालाबाट ११ वटा ड्रोन जफत, चार जना पक्राउ
Photo:Ahmed Fahmi/ Unsplash
फिफा पुरुष विश्वकप अन्तर्गत शुक्रबार अमेरिका र अस्ट्रेलियाबीच भएको खेलका दौरान सिएटल रंगशालाबाट ११ वटा ड्रोन जफत गरिएको छ भने चार जनालाई पक्राउ गरिएको छ।
सिएटल प्रहरी विभागका अनुसार, डाउनटाउनका सडकहरूमा हजारौँ प्रशंसकहरूको भीड लागेका बेला दुई जनालाई ड्रोन उडाएको आरोपमा र अन्य दुई जनालाई रंगशालाभित्र बिना अनुमति प्रवेश गरेको आरोपमा पक्राउ गरिएको हो।
सिएटलस्थित एफबीआईका अनुसार, “प्रशंसक, खेलाडी र महत्त्वपूर्ण पूर्वाधारहरूलाई सम्भावित दुर्घटना तथा सुरक्षा खतराबाट जोगाउन” संघीय उड्डयन प्रशासनले विश्वकप रंगशालाहरू र प्रशंसकहरूले खुसीयाली मनाउने ठाउँ वरपरका अस्थायी उडान निषेधित क्षेत्रहरूमा ड्रोन उडाउन प्रतिबन्ध लगाएको छ।
एफएएका अनुसार खेल हुने दिनहरूमा ल्युमेन फिल्ड भनिने उक्त रंगशालाको ३ नटिकल माइलको अर्धव्यास भित्र र जमिनको सतहबाट ३,००० फिट उचाइसम्म ड्रोनसहित कुनै पनि विमान सञ्चालन गर्न पाइँदैन।
यदि कसैले अनुमति बिना निषेधित क्षेत्रमा ड्रोन उडाएमा ड्रोन जफत हुनुका साथै १,००,००० डलरसम्म जरिवाना र संघीय आपराधिक मुद्दा समेत लाग्न सक्छ। यसअघि सोमबार भएको बेल्जियम र इजिप्टबीचको विश्वकप खेलका क्रममा पनि एफबीआईले अन्य पाँचवटा ड्रोन जफत गरेको थियो।





