२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अमेरिका

अमेरिकाको सिकागोमा भएको शृङ्खलाबद्ध गोलीकाण्डमा ७ जनाको मृत्यु, ३८ घाइते

Photo: Max Bender/Unsplash

अमेरिकाको तेस्रो ठूलो सहर सिकागोमा गत शुक्रबार साँझदेखि भएका शृङ्खलाबद्ध गोलीकाण्डमा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्। यस घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सिकागोमा सैन्य हस्तक्षेप गर्ने आफ्नो मागलाई पुनः जोड दिएका छन्।

आइतबार बिहान ट्रुथ सोसलमा एउटा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्,गभर्नर प्रिट्जकरले मलाई सहयोगका लागि किन नबोलाएका होलान्? मैले सिकागोलाई एक महिनाभित्रै एउटा सुरक्षित सहर बनाउन सक्छु, एक वर्षभित्र त यो संसारकै सबैभन्दा सुरक्षित सहरहरूमध्ये एक बन्नेछ!

ट्रम्पको सैन्य हस्तक्षेपको प्रस्तावलाई पटक-पटक अस्वीकार गर्दै आएका इलियोनिसका गभर्नर जे.बी. प्रिट्जकरको कार्यालयले यसबारे तत्काल कुनै प्रतिक्रिया जनाएको छैन। प्रिट्जकरलाई सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा डमोक्रेटिक पार्टीका सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ। यसअघि ट्रम्प प्रशासनको पालामा न्यु अर्लिन्स, वासिङ्टन डीसी र मेम्फिस जस्ता डेमोक्र्याटहरूको नेतृत्व रहेका सहरहरूमा अपराध नियन्त्रणका लागि नेसनल गार्ड परिचालन गरिएको थियो।

सिकागो प्रहरीको तथ्याङ्कअनुसार गत वर्षको पहिलो ६ महिनाको तुलनामा यस वर्ष गोलीकाण्डका घटनामा केही वृद्धि भएको देखिए पनि समग्रमा राष्ट्रिय प्रवृत्ति जस्तै विगत केही वर्षयता सिकागोमा हिंसात्मक अपराधको दरमा कमि आएको छ।

प्रहरीको प्रारम्भिक प्रतिवेदनअनुसार शुक्रबार बेलुकी ५ बजेदेखि यता कम्तीमा दुई दर्जन गोलीकाण्डका घटनाहरू भएका छन्। गोली लागेर ज्यान गुमाउनेहरूमा आइतबार छातीमा गोली लागेका एक २१ वर्षीय युवक, शनिबार काखीमा गोली लागेका एक १८ वर्षीय किशोर र शुक्रबार छातीमा गोली लागेका एक ५० वर्षीय पुरुष रहेका छन्।

प्रहरीका अनुसार शुक्रबार साँझ सिकागोको एउटा सडकमा जम्मा भएको भीडमा एक्कासि एउटा एसयूभी गाडी आएर भित्र रहेका दुई जनाले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १२ जना घाइते भएका थिए। घाइते हुनेहरूमा १७ देखि ४७ वर्ष उमेर समूहका आठ पुरुष र चार महिला छन्। उनीहरूको चारवटा फरक-फरक अस्पतालमा उपचार भइरहेको छ।

यो गोलीकाण्ड अमेरिकामा दासप्रथा उन्मूलनको सम्झनामा मनाइने राष्ट्रिय बिदा ‘जुनटिन्थ’ को अवसरमा भएको हो। सोही दिन अघिल्लो समय पूर्व राष्ट्रपति बराक ओबामा र पूर्व प्रथम महिला मिसेल ओबामाले सिकागोको साउथ साइडमा आफ्नो ‘प्रेसिडेन्शियल सेन्टर’ मा पहिलो पटक आगन्तुकहरूलाई स्वागत गरेका थिए।

सिकागोका मेयर ब्रान्डन जोन्सनले शनिबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, जुनटिन्थको अवसरमा उत्सव र सामाजिक सद्भाव हुनुपर्ने रातलाई एउटा भयानक हिंसात्मक घटनाले उजाड बनाइदियो। मेरो प्रार्थना र सहानुभूति पीडित तथा उनीहरूका परिवारका साथमा छ।उनले अगाडि थपे, हाम्रो सहरमा हिंसाको कुनै स्थान छैन र यसका लागि जिम्मेवार व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइनेछ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

यस साताअन्त अमेरिकाका अन्य ठूला सहरहरूमा पनि गोलीकाण्डका घटनाहरू भएका छन्। फिलाडेल्फियामा आइतबार बिहान भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। सिनसिनाटीमा शनिबार साँझ भएको गोलीबारीमा तीन जनाको ज्यान गएको छ। त्यस्तै, कान्सास सहरमा शुक्रबार साँझ भएको गोलीकाण्डमा एक जनाको मृत्यु र पाँच जना घाइते भएको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →