२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अमेरिका

अदालतदेखि सडकसम्म अध्यागमन एजेन्ट सक्रिय, सिकागोमा आप्रवासीमाथि कडा निगरानी

फोटो: होमल्याण्ड सेक्युरिटी

सिकागोका विभिन्न क्षेत्र र आसपासका उपनगरहरूमा पछिल्लो समय अध्यागमन एजेन्टहरूले चलाउने पहिचान नखुलेका गाडीहरू आउन थालेपछि स्थानीय आप्रवासी समुदायमा फेरि त्रास फैलिएको छ । एजेन्टहरू आउँदा स्थानीय बासिन्दाहरूले एकअर्कालाई सचेत गराउन सिट्ठी फुक्ने गरेका छन् ।

सामाजिक सञ्जालहरूमा भाइरल भइरहेका भिडियोहरूमा आइसका एजेन्टहरूले ट्राफिक चेकिङका क्रममा र अदालत बाहिरैबाट मानिसहरूलाई हिरासतमा लिइरहेको देखेपछि स्थानीय जनप्रतिनिधि र आप्रवासीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

अध्यागमन विज्ञहरूका अनुसार डिपार्टमेन्ट अफ होमल्यान्ड सेकुरिटीले गत वर्षको ‘अपरेशन मिडवे ब्लिट्ज’ पछि आफ्नो रणनीति परिवर्तन गरेको छ । अध्यागमन अदालतको सुनुवाइ, नियमित हाजिरी र फौजदारी अदालत बाहिरबाटै मानिसहरू समातिने क्रम ह्वात्तै बढेको छ । सामान्य आरोप लागेका वा मुद्दाको किनारा नलागेका व्यक्तिहरूलाई समेत पक्राउ गरिएको छ । यसका साथै बाइडेन प्रशासनको समयमा विशेष ‘पेरोल प्रोग्राम’ मार्फत अमेरिका प्रवेश गरेका आप्रवासीहरू पनि यो धरपकडको निसानामा परेका छन् ।

हालै कुक काउन्टीको ब्रिजभ्यु अदालत बाहिर एक युवा भेनेजुएलाली नागरिक डेनी गेब्रियल पेरेज ओस्पिनोलाई खुद्रा चोरीको सामान्य आरोपमा अदालत पुगेर फर्किँदै गर्दा आइस एजेन्टहरूले भुइँमा पछारेर पक्राउ गरे । सोही दिन एक भेनेजुएलाली आमा र उनका बच्चालाई पनि अदालतबाटै हिरासतमा लिइयो । राज्यको कानुनले अदालत परिसरभित्र बिना वारेन्ट पक्राउ गर्न निषेध गरे तापनि एजेन्टहरूले वारेन्ट देखाउन अस्वीकार गरेका थिए ।

यस विषयमा होमल्यान्ड सेकुरिटीका प्रवक्ताले एजेन्टहरूले संघीय कानुनको पालना गराउँदै सार्वजनिक सुरक्षामा खतरा पुर्‍याउने ‘आपराधिक पृष्ठभूमि’ भएकाहरूलाई हटाउन केन्द्रित रहेको दाबी गरे ।

अदालत बाहिरको पक्राउ मात्र नभई आप्रवासी अदालतभित्र पनि नयाँ र कडा नियमहरू लागू गरिएका छन् । सिकागो र इन्डियानापोलिस जस्ता सहरहरूमा अचेल “मेगा मास्टर” भनिने आम सुनुवाइहरू भइरहेका छन् । यस अन्तर्गत एकै पटक ३० देखि १०० जनासम्म आप्रवासीहरूलाई एउटै न्यायाधीशका अगाडि उभ्याइन्छ, जसमा धेरैजसोको त वकिल समेत हुँदैनन् ।

कानुनी अधिवक्ताहरूका अनुसार अदालतले आप्रवासीहरूलाई ‘रेस्पोन्डेन्ट प्लीडिङ डिक्लेरेशन’ जस्ता फारमहरू भर्न लगाउने गरेको छ । भाषा र कानुनी जटिलताका कारण फारममा सानो गल्ती हुँदा वा नबुझी हस्ताक्षर गर्दा आप्रवासीहरूले आफ्ना कानुनी अधिकारहरू गुमाउने र देश निकालाको प्रक्रिया झन् छिटो हुने खतरा बढेको छ । कतिपय अवस्थामा त ढिलो सूचना पाएकै कारण अदालतमा उपस्थित हुन नसक्दा मानिसहरूलाई उनीहरूको अनुपस्थितिमै देश निकालाको आदेश सुनाउने गरिएको छ ।

अध्यागमन एजेन्टहरूको सक्रियता अदालतमा मात्र सीमित छैन । पछिल्लो महिना सिकागो क्षेत्रमा आप्रवासीहरूलाई लखेट्ने क्रममा दुईवटा ठूला गाडी दुर्घटनाहरू समेत भएका छन् । जुन ९ मा उत्तर-पश्चिम क्षेत्रको एक शान्त सडकमा पोल्याण्डका एक नागरिकलाई लखेट्ने क्रममा उनको गाडी रुखमा ठोक्किएको थियो । त्यस्तै, जुन २ मा अल्बानी पार्कमा एउटा नागरिकको गाडीसँग ठोक्काएर एक भेनेजुएलाली नागरिकलाई पक्राउ गर्दा स्थानीय बासिन्दाहरूले विरोध जनाएका थिए ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

अल्बानी पार्ककी काउन्सिलर  रोजाना रोड्रिगेजले भनिन्, पहिलेको अपरेसनमा एजेन्टहरूले नाम समेत नसोध्ती जो पायो त्यसलाई समात्थे । अहिले अदालतको रेकर्ड हेरेर निश्चित व्यक्तिहरूलाई मात्र पछ्याए जस्तो देखिन्छ । तर उनीहरूले आवासीय क्षेत्रमा जसरी तीव्र गतिमा गाडी कुदाउँछन्, त्यसले स्थानीयमा पुरानो डर फेरि ब्युँताइदिएको छ ।

ब्रोडभ्यूस्थित आइसको प्रोसेसिङ सेन्टरमा अचेल गाडीहरूको आवतजावत र थुनुवाहरूको स्थानान्तरण निकै बढेको छ । मेक्सिकन वाणिज्य दूतावासकी राजदूत रेयना टोरेस मेन्डिभिलका अनुसार जनवरी २०२५ देखि अप्रिल २०२६ सम्ममा करिब ३,३६० मेक्सिकन नागरिकहरूलाई हिरासतमा राखिएको पहिचान भएको छ । उनले भनिन्, हामीले अन्तर्वार्ता लिएका मानिसहरूमध्ये झन्डै आधा जतिको कुनै पनि आपराधिक इतिहास छैन ।

यसै वर्ष धार्मिक संस्थाहरूले अदालतमा मुद्दा जितेपछि पादरीहरूलाई ब्रोडभ्यू हिरासत केन्द्रमा दैनिक रूपमा प्रार्थना र काउन्सिलिङका लागि जान अनुमति दिइएको छ । त्यहाँ पुग्ने पादरीहरूका अनुसार हिरासत केन्द्र व्यवस्थित र सफा भए तापनि त्यहाँ थुनिएकाहरू कोही पनि ‘घोर अपराधी’ नभएर सामान्य मानिसहरू हुन्, जो आफ्नो भविष्य सुरक्षित गर्न कानुनी लडाइँ लडिरहेका छन् ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →