न्यूयोर्क र न्यू जर्सीमा आप्रवासीमाथि अमेरिकी प्रशासनको गुप्त अपरेसन,मुख्यतः ल्याटिन अमेरिकी समुदाय निशानामा
तस्वीर : आइस
हालैका महिनाहरूमा न्यूयोर्क र न्यू जर्सीका सडकहरूबाट सयौँ आप्रवासीहरूलाई एक गुप्त अभियान अन्तर्गत पक्राउ गरिएको छ । ‘सिटी रिपोर्टर’ ले १,२०० भन्दा बढी कानुनी मुद्दाहरूको समीक्षा गरी गरेको अनुसन्धानले यो खुलासा गरेको हो ।
अनुसन्धानका अनुसार यस अभियानले समानुपातिक रूपमा ल्याटिन अमेरिकी देशका मानिसहरूलाई बढी निशाना बनाएको छ । सडकबाट समातिएर अदालतमा मुद्दा हाल्नेहरूमध्ये ९३% भन्दा बढी ल्याटिनो समुदायका छन्, जबकि यस क्षेत्रमा कानुनी हैसियत नभएका कुल आप्रवासीमा उनीहरूको हिस्सा ६६% मात्र छ ।
यस धरपकडले ल्याटिनो बाहुल्य रहेका छिमेकीहरूमा ठूलो त्रास फैलाएको छ । दूध किन्न निस्कँदा, कुकुर डुलाउँदा, फोहोर फाल्न जाँदा वा छोराछोरीलाई फुटबल अभ्यासबाट फर्काउन जाँदा जस्ता सामान्य दैनिक कामकै बीचमा मानिसहरू एकाएक बेपत्ता भइरहेका छन् ।
सडकमा गरिने यी पक्राउहरू अन्य अध्यागमन कारबाहीभन्दा फरक र द्रुत हुन्छन् । धेरैजसो अवस्थामा आइसका एजेन्टहरूले केवल अनुहार वा रूपरंग मिलेको आधारमा मानिसहरूलाई बाटोमै रोकेर नियन्त्रणमा लिने गरेका छन् ।
अदालतका कागजातहरूका अनुसार, वारेन्ट जारी भएको व्यक्ति अर्कै भएको थाहा पाउँदापाउँदै पनि फेला परेका व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । कतिपय ठाउँमा एजेन्टहरूले लाठी, टेजर गन प्रयोग गरेको र वर्णभेदी गालीगलौज गरेको आरोप समेत लागेको छ ।
कोलम्बिया विश्वविद्यालयकी कानुन प्राध्यापक एलोरा मुखर्जीका अनुसार, यो तथ्याङ्कले आइसले सडकमा पक्राउ गर्दा ‘नश्लीय प्रोफाइलिङ’ गरिरहेको कुरालाई स्पष्ट पुष्टि गर्छ ।
यद्यपि, डिपार्टमेन्ट अफ होमल्यान्ड सेकुरिटीले यी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । होमल्यान्ड सेकुरिटीले कोही पनि व्यक्ति उसको छालाको रङ्ग वा जातिको आधारमा नभई, अमेरिकामा अवैध रूपमा बसेको आधारमा मात्र कानुन कार्यान्वयनको दायरामा आउने दाबी गरेको छ ।
पक्राउ परेकामध्ये करिब १० प्रतिशतले मात्र अदालतमा चुनौती दिने हुनाले वास्तविक पक्राउ पर्नेहरूको संख्या योभन्दा निकै बढी हुनसक्छ । त्रासका कारण कतिपय आप्रवासीहरूले आफ्नो हातमा आपत्कालीन सम्पर्क नम्बरहरू लेख्न थालेका छन् भने मजदुरहरू काममा निस्कन डराइरहेका छन् ।





