२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अमेरिका

फिफा फ्यान फेस्टिभलको प्रतिबन्धित क्षेत्रमा ड्रोन उडाउने एक आप्रवासी पक्राउ

Photo:Ahmed Fahmi/ Unsplash

अमेरिकाको एटलान्टामा आयोजित फिफा फ्यान फेस्टिभलको प्रतिबन्धित हवाई क्षेत्रमा ड्रोन उडाएको आरोपमा लामो आपराधिक पृष्ठभूमि भएका र दुई पटक देश निकाला गरिएका एक कागजातबिहीन आप्रवासी पक्राउ परेका छन् ।

संघीय सरकारी वकिलहरूका अनुसार, ३७ वर्षीय मेक्सिकन नागरिक लोरेन्जो रोजास-मार्टिनेजले जुन १२ मा सेन्टेनियल ओलम्पिक पार्क नजिकैको प्रतिबन्धित क्षेत्रमा ड्रोन उडाइरहेका थिए । उनी नजिकैको पार्किङ स्थलमा उभिएर उक्त फिफा कार्यक्रमको भिडियो रेकर्ड गरिरहेको अवस्थामा फेला परेका हुन् ।

एफबीआई एजेन्टहरूले उनको परिचयपत्र माग्ने क्रममा उनी गैरकानूनी रूपमा अमेरिकामा बसिरहेको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको थियो । त्यसको भोलिपल्टै उनलाई आइसको जिम्मा लगाइएको थियो ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेकुरिटीका कार्यवाहक सहायक सचिव लरेन बिसले भनिन्, “यी आपराधिक पृष्ठभूमि भएका अवैध विदेशीले एटलान्टाको फिफा कार्यक्रम नजिकै खतरनाक तरिकाले प्रतिबन्धित क्षेत्रमा ड्रोन उडाए । उनको लामो आपराधिक इतिहासमा लागुऔषध ओसारपसार, चोरीका सामान राखेको, नाबालिगलाई अपराधमा उक्साएको र मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको जस्ता गम्भीर अपराधहरू सामेल छन् ।

रोजास-मार्टिनेजमाथि अस्थायी उडान प्रतिबन्धित क्षेत्रमा ड्रोन चलाएको र देश निकाला गरिएपछि पनि अवैध रूपमा पुन: प्रवेश गरेको आरोप लगाइएको छ । उनले अनुसन्धानकर्ताहरूलाई बताए अनुसार, उनी सन् १९९९ मा पहिलो पटक टेक्ससबाट अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए र सन् २०१३ मा उनलाई देश निकाला गरिएको थियो ।

त्यसपछि सन् २०१९ मा फेरि अवैध रूपमा प्रवेश गरेपछि उनलाई दोस्रो पटक देश निकाला गरियो । तर, उनी तेस्रो पटक कहिले दक्षिणी सिमाना पार गरेर अमेरिका छिरे भन्ने कुरा अधिकारीहरूलाई अझै थाहा हुन सकेको छैन ।

संघीय उड्डयन प्रशासनले अमेरिकाभर फिफा विश्वकप २०२६ का खेलहरू र सम्बन्धित फ्यान कार्यक्रमहरू आयोजना हुने रंगशालाहरू माथि ड्रोन निषेधित क्षेत्र घोषणा गरेको छ । खेल हुने दिनहरूमा रंगशाला वरपर ३ नटिकल माइलको दायरा र जमिनको सतहबाट ३,००० फिट माथिसम्म ड्रोन लगायतका सबै उडानहरूमा प्रतिबन्ध लगाइएको छ । अनुमति बिना प्रतिबन्धित क्षेत्रमा ड्रोन उडाउने अपरेटरहरूलाई १,००,००० डलरसम्म जरिवाना, ड्रोन जफत र संघीय आपराधिक मुद्दा लाग्न सक्ने एफएएले जनाएको छ ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →