ट्रम्पको विवादास्पद ‘सेटल्मेन्ट फन्ड’ हटाउँदै सिनेटमा अघि बढ्यो ७० अर्ब डलरको आप्रवासन विधेयक


प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार

तस्बिर: कोनर गान/अनस्प्ल्यास

अमेरिकी सिनेटमा रिपब्लिकन नेतृत्वले आप्रवासन प्रवर्तन एजेन्सीहरूलाई आर्थिक सहयोग गर्ने विधेयकलाई अगाडि बढाएको छ। ट्रम्प प्रशासनलाई आफ्ना राजनीतिक सहयोगीहरूका लागि लक्षित ‘सेटल्मेन्ट फन्ड’ खारेज गर्न बाध्य पारेपछि र ह्वाइट हाउसको सुरक्षाका लागि राखिएको छुट्टै प्रस्ताव विधेयकबाट हटाएपछि यो प्रक्रिया अघि बढेको हो।

आइस र बोर्डर पेट्रोललाई कोष उपलब्ध गराउने सम्बन्धी करिब ७० अर्ब डलरको विधेयकमाथि बहस सुरु गर्न सिनेटमा बुधबार ५३–४६ मतले मतदान भएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइट हाउसका कारण सिर्जना भएका विभिन्न अवरोधहरू पार गर्नुपरेकाले रिपब्लिकन सिनेटरहरूका लागि यो विधेयक हप्तौंसम्म रोकिएको थियो। तर, अहिले यसलाई मूल स्वरूपमा फर्काएर द्रुत गतिमा अघि बढाउन लागिएको छ।

सिनेटका बहुमत पक्षीय नेता जन थ्युनले भनेका छन,अहिलेको लक्ष्य मुख्य विधेयकलाई सफलतापूर्वक पारित गराउनु हो।

यद्यपि, ट्रम्पको १.७७६ अर्ब डलरको सेटल्मेन्ट फन्डलाई स्थायी रूपमा प्रतिबन्ध लगाउन डेमोक्र्याट र केही रिपब्लिकनहरूले ल्याउन लागेका बहुपक्षीय संशोधन प्रस्तावहरूलाई विफल पार्न रिपब्लिकनहरूले थप मत जुटाउनुपर्ने देखिन्छ।

तीव्र रिपब्लिकन दबाबपछि कार्यवाहक अटोर्नी जनरल टोड ब्लान्चले मंगलबार सदनको सुनुवाइमा “हामी यो कोषलाई अगाडि बढाइरहेका छैनौं” भन्दै स्पष्ट पारेका थिए। तर सिनेटले बुधबार विधेयक अघि बढाउने पक्षमा मतदान गरेलगत्तै ह्वाइट हाउसमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै ट्रम्पले सो सम्झौताको पटक-पटक बचाउ गरे।

यो फन्ड पूर्ण रूपमा खारेज भएको हो कि केही समयका लागि मात्र रोकिएको हो भनी सोधिएको सीधा प्रश्नमा ट्रम्पले भने,मैले वकिलहरूलाई सोध्नुपर्छ, मलाई थाहा छैन। मलाई यो सम्झौता मन परेको छ, मलाई लाग्छ यो धेरै महत्त्वपूर्ण छ।

रिपब्लिकनहरूले यो विधेयक पारित गर्न ‘बजेट रिकन्सिलिएसन’ (बजेट मिलान) प्रक्रिया प्रयोग गरिरहेका छन्, जसले गर्दा डेमोक्र्याटहरूको मतबिना नै विधेयक पारित हुन सक्छ। तर, त्यसअघि उनीहरूले संशोधन प्रस्तावहरूमाथि हुने लामो मतदान प्रक्रियाको सामना गर्नुपर्नेछ, जसले विधेयकका लागि समस्या खडा गर्न सक्छ। यो प्रक्रिया बिहीबारदेखि सुरु हुँदैछ।

ट्रम्पको कर विवरण चुहावट भएको विषयमा आईआरएस विरुद्ध ट्रम्पले दायर गरेको मुद्दाको सम्झौताको रूपमा यो फन्ड स्थापना गरिएको थियो। जस्टिस डिपार्टमेन्टले यो रकम ६ जनवरी २०२१ मा अमेरिकी क्यापिटल हिलमा भएको हिंसात्मक आक्रमणमा संलग्न व्यक्तिहरू र अन्य ट्रम्प सहयोगीहरूलाई जान सक्ने घोषणा गरेपछि रिपब्लिकन सिनेटरहरूले नै विरोध जनाएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डेमोक्र्याटहरू भने यस प्रतिबन्धलाई कानुनी रूपमै लेख्न चाहन्छन्। सिनेटका अल्पमत पक्षीय नेता चक शुमर ले भने “ब्लान्च र ट्रम्पले आफ्नो वाचा तोड्नु समयको कुरा मात्र हो।” ट्रम्पको पछिल्लो टिप्पणीपछि शुमरले एक्स (ट्विटर) मा लेखेका छन, “ठ्याक्कै यसैकारण डेमोक्र्याटहरूले यसलाई प्रतिबन्ध लगाउन मतदानको माग गर्नेछन्।”

केही रिपब्लिकनहरू पनि ब्लान्चको प्रतिवद्धतालाई लिखित रूपमा राख्न चाहन्छन्। रिपब्लिकन सिनेटर थम टिलिसले यो कोषलाई पुनः ब्युँताउने कुनै पनि प्रयासलाई रोक्न संशोधन प्रस्ताव दर्ता गर्ने बताएका छन्। ५३-४७ को विभाजन रहेको सिनेटमा साधारण बहुमत (५० मत) कायम राख्न नेता थ्युनले गृहकार्य गरिरहेका छन्।

विधेयक रोकिनुको अर्को कारण ह्वाइट हाउस र ट्रम्पको नयाँ बलरूमको सुरक्षाका लागि राखिएको १ अर्ब डलरको बजेट पनि थियो। आर्थिक मन्दीको समयमा जनताको करको पैसा यस्तो विलासी आयोजनामा खर्च गर्ने विषयमा डेमोक्र्याट र केही रिपब्लिकनले समेत प्रश्न उठाएका थिए।

पछिल्लो समय ह्वाइट हाउस र सिनेटबीचको बढ्दो चिसोपनले अन्य महत्त्वपूर्ण एजेन्डाहरूलाई पनि प्रभावित पारेको छ। ट्रम्पले राष्ट्रिय गुप्तचर निकायको कार्यवाहक निर्देशकमा राष्ट्रिय सुरक्षाको अनुभव नभएका बिल पुल्टेलाई नियुक्त गरेपछि दुवै दलका नेताहरू रुष्ट छन्, जसले गर्दा ‘फिसा’ कानुनको संशोधन प्रक्रिया जटिल बनेको छ। साथै, इरानमा अमेरिकी सैन्य कारबाही रोक्ने पक्षमा पनि रिपब्लिकन सिनेटरहरूले ट्रम्पको नीतिको विपक्षमा मतदान गरिरहेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com