अमेरिकाको जनसङ्ख्या वृद्धि महामारीयताकै सुस्त, १ बर्षमा जम्मा १८ लाख


प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार

कोरोना महामारीपछि फेरि लयमा फर्कन थालेका अमेरिकाका ठूला सहरहरूको जनसङ्ख्या वृद्धि सन् २०२५ मा आइपुग्दा पुनः सुस्ताएको छ। अमेरिकी जनगणना ब्युरोको पछिल्लो तथ्याङ्कअनुसार महामारीका बेला गुमेको जनसङ्ख्या सन् २०२४ सम्म आइपुग्दा दुई तिहाइ सहरहरूमा पुनः बढ्न थालेको थियो।

तर, सन् २०२५ मा त्यो गति रोकियो र धेरैजसो ठूला सहरहरूले फेरि बासिन्दाहरू गुमाउन थालेका छन्। जनसङ्ख्याविद्हरूका अनुसार अन्तर्राष्ट्रिय आप्रवासनमा आएको तीव्र गिरावट नै यसको प्रमुख कारण हो।

अमेरिकाकै सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर न्यूयोर्कले सन् २०२४ देखि २०२५ को बीचमा सबैभन्दा ठूलो संख्यात्मक गिरावट बेहोरेको छ, जहाँ झन्डै १२,००० बासिन्दा घटेका छन्। यस्तै लस एन्जलस र बोस्टन जस्ता सहरहरूमा पनि जनसङ्ख्या थोरै घटेको छ, जसलाई विज्ञहरू स्थिर तर ओरालो लाग्दो प्रवृत्तिका रूपमा हेर्छन्।

अर्कातर्फ, मेम्फिस, अल्बुकर्की र सेन्ट लुइस जस्ता सहरहरूले महामारीको समयदेखि नै लगातार जनसङ्ख्या गुमाइरहेका छन् र उनीहरू अहिलेसँम तङ्ग्रिन सकेका छैनन्।

जनगणना ब्युरोको का अनुसार सन् २०२४ जुलाईदेखि २०२५ जुलाईको अवधिमा समग्र अमेरिकाको जनसङ्ख्या जम्मा १.८ मिलियन (१८ लाख) अर्थात् ०.५ प्रतिशतले मात्र बढेको छ, जुन महामारी यताकै सबैभन्दा सुस्त वृद्धिदर हो।

वर्तमान सरकारको कडा आप्रवासन नीतिका कारण आप्रवासीहरूको आगमनमा उल्लेख्य कमी आएको छ, जसले गर्दा देशभित्रै हुने बसाइँसराइ र वृद्ध हुँदै गएको जनसङ्ख्यालाई सन्तुलनमा राख्न ठूला सहरहरूलाई गाह्रो परिरहेको छ।१० लाख भन्दा बढी जनसङ्ख्या भएका ५६ वटै ठूला महानगरीय क्षेत्रमा आप्रवासन घटेको तथ्याङ्कले देखाउँछ।

आप्रवासनमा आएको कमीका साथै ठूला सहरहरूको अत्यधिक महँगो जीवनशैलीका कारण मानिसहरू आसपासका मध्यम खालका सहर वा उपनगरहरू तर्फ आकर्षित भइरहेका छन्।  न्यूयोर्क सहरको जनसङ्ख्या ०.१ प्रतिशतले घट्दा त्यसकै नजिकै रहेको पोर्ट चेस्टर गाउँको जनसङ्ख्या ४.१ प्रतिशतले बढेको छ।

त्यस्तै, डालस सहरको जनसङ्ख्या घट्दा त्यसबाट ४० माइल टाढा रहेको मध्यमस्रोतको सहर सेलिनाको जनसङ्ख्या २५ प्रतिशतले बढेको छ। यी मध्यम सहरहरूले उपयुक्त आवास र रोजगारीको सन्तुलन मिलाएर राम्रो वृद्धि हासिल गरिरहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विज्ञहरूका अनुसार यो जनसङ्ख्या घट्ने क्रमको सुरुवात मात्र हुन सक्छ।राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चालेका कडा आप्रवासी नीतिहरूको पूर्ण प्रभाव आगामी वर्षको तथ्याङ्क जुलाई २०२५ देखि जुलाई २०२६ सम्मको अवधिमा अझ स्पष्ट रूपमा देखिने र जनसङ्ख्यामा अझ ठूलो गिरावट आउन सक्ने अनुमान गरिएको छ।

आप्रवासीहरूले सहरको जनसङ्ख्या बढाउने मात्र नभई श्रम बजार र युवा जनशक्तिलाई पनि सन्तुलनमा राख्ने हुनाले, आप्रवासन लामो समयसम्म ठप्प भएमा यसले भविष्यमा जन्मदर र आर्थिक संरचनामा समेत गम्भीर असर पार्ने देखिन्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com